‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’द्वारा तीनलाई पुरस्कृत गरिने

‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’द्वारा तीनलाई पुरस्कृत गरिने तरुण खबर ३२ श्रावण २०७८, सोमबार ०८:५७
‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’द्वारा तीनलाई पुरस्कृत गरिने

काठमाडौं । नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न १२खरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ (तेस्रो संस्करण) घोषणा गरेको छ । प्रतियोगितामा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षमा जस्तै प्रथम हुनेलाई एक लाख रुपैयाँ, द्वितीय हुनेलाई ६० हजार र तृतीय हुनेलाई ४० हजार रुपैयाँ राशिको पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । कथा लेखनमा प्रदान गरिने यो पुरस्कार नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।

बाह्रखरी कथा प्रतियोगिता २०७८ को प्रमुख निर्णायकको जिम्मेवारी समाल्न प्रख्यात आख्यानकार तथा साहित्यकारको नारायण ढकालले स्वीकार गर्नु भएकोेछ । त्यस्तै निर्णायक समूहका अन्य दुई सदस्यमा स्थापित कथाकार विवश पोखरेल तथा विख्यात समालोचक कुमारी लामा रहनु भएको छ । निर्णायक समूहले आफूलाई प्राप्त कथामध्येबाट उत्कृष्ट २५ र तिनै कथामध्येबाट प्रथम, द्वितीय तथा तृतीय कथाको छनोट गर्नेछ । निर्णायक समूहलाई छनोटका क्रममा आवश्यक सबै निर्णय लिने पूर्ण स्वतन्त्रता रहनेछ ।

कथा प्रतियोगिताको सर्त उल्लङ्घन नहुने गरी पठाइएका सम्पूर्ण कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० वटा कथा छनोट गर्नेछ । ती ५० वटा कथा निर्णायक समूहलाई उपलब्ध गराइनेछ । आन्तरिक निर्णायक मण्डलले चुनेका ५० कथामध्येबाट निर्णायक समूहले ‘उत्कृष्ट कथा २०७८’ का लागि २५ वटा कथा छान्नेछन् र तिनैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ ।

बाह्रखरी कथाका उत्कृष्ट २५ कथाको सँगालो २०७६ सालमा पुस्तकाकार रूपमा आएको थियो भने २०७७ सालमा कोरोना महामारीका कारण ‘डिजिटल भर्सन’मा ल्याइएको थियो जुन बाह्रखरी डट कमबाट पनि प्रकाशित गरिएको थियो । यो वर्ष अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन र विक्री वितरण गरिनेछ । पहिलो संस्करण अर्थात् २०७६ वैशाखमा बजारमा आएको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी अनुवाद पनि प्रकाशित भइसकेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौँ । दोस्रो कथा संग्रहको ‘अडियो भर्सन’ पनि प्रकाशित गरिएको थियो भने तेस्रो कथा संग्रह पनि ‘अडियो भर्सन’मा समेत उपलब्ध हुनेछ ।
उत्कृष्ट २५ मध्येमा पर्ने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरिनेछ । आन्तरिक निर्णायक मण्डलले छनोट गरेका ५० कथामध्ये २५ भित्र नपरेका बाँकी कथालाई बाह्रखरी डट कममा प्रकाशित गरिनेछ ।