तरुण खबर
१ भाद्र २०७८, मंगलवार ०९:२८
हाम्रो परिवार सुकुम्बासीका रूपमा यहाँ आएको हो । २०१६ सालमा गुल्मीको इस्मामा म जन्में । आसामबाट नेपाली धपाइएछन् । धपाइएका नेपालीलाई सरकारले बाँकेमा जग्गा बाँड्दैछ भन्ने सुनेपछि बुबा पनि उनीहरूसँगै मिसिएर आउनु भएछ । चार बिघा जग्गाको बन्दोबस्त गरेपछि २०२३ सालमा आमाले हामीलाई यहाँ ल्याउनुभयो । त्यतिबेला कहालीलाग्दो अनकन्टार जंगल थियो । सालका ठूल्ठूला रुख थिए, तर काँडैकाँडाको झाडी थियो । झाडीमा हिँस्रक जंगली जनावर तथा विषालु सर्पहरू नांगो आँखाले देखिन्थ्यो । एक सय हात गहिरो इनार खन्दा पनि पानी भेटिँदैनथ्यो ।
सालका रुख तथा जरा हटाएर पुनर्वास कम्पनीले अहिले कपास विकास समितिको कार्यालय रहेको ठाउँमा एउटा इनार बनाइदिएको थियो । त्यो इनारमा पानी लिन जाँदा झन्डै पौने घन्टा लाग्थ्यो । करिब एक घन्टा पालो कुरेर पानी भरिन्थ्यो । फेरि पौने घन्टा हिँडेर घर फर्कनुपथ्र्यो । यसरी एक खेप पानी ल्याउँदा दिन बित्थ्यो । दिसा गर्न जाँदासमेत फर्केर आउने हो कि होइन भन्ने डर थियो । एकजना मान्छे त दिसा गर्न जाँदा सात दिनसम्म हराएको छ । सर्पले टोकेर कति मान्छे मरे ? त्यसको लेखाजोखा छैन । झाडापखला लागेर पनि त्यतिकै मान्छे मर्थे । औषधि उपचार गर्ने ठाउँ थिएन । अलि पर वडरापुर भन्ने ठाउँमा कविर डाक्टर भन्ने एकजना मुसलमानको घर थियो । सामान्य औषधि उपचार उसले गथ्र्यो । एक घर मात्रै मुसलमान भएकाले ऊ नबस्ने पो हो कि भन्ने चिन्ता थियो । तर पछि त त्यहाँ मुसलमानहरूको गाविस नै भयो ।
खजुरा गाउँपालिकाका क्षेत्र केही छिटफुटबाहेक पूरै नयाँ बस्ती हो । गाउँपालिकाका आठमध्ये चारवटा वडामा पहाडी समुदायको बसोबास छ । चारवटा वडामा मुस्लिम तथा मधेसी समुदायको बसोवास छ । पूर्वीया थारुहरू फाट्टफुट्ट छन् । पहाडी समुदायको बसोबास क्षेत्र प्लानिङ गरिएकाले व्यवस्थित छ । मुस्लिम तथा मधेसी समुदायको बसोबास क्षेत्र प्लानिङ नगरिएकाले अव्यवस्थित छ । मुस्लिम तथा मधेसी समुदायको बसोबास क्षेत्रमा किन प्लानिङ गरिएन ? मैले पनि बुझ्न सकेको छैन । प्लानिङ हुँदा र नहुँदाको फरक धेरै हुँदो रहेछ । मुस्लिम तथा मधेसी समुदायको बसोबास क्षेत्रमा कतिपय व्यक्तिको सय बिघाभन्दा बढी जग्गा छ, कतिपय व्यक्तिको घडेरीबाहेक केही पनि छैन । तर पहाडी समुदायको बस्तीमा प्रायः सबै परिवारको बराबर जस्तै जग्गा जमिन छ । आर्थिक हैसियत पनि सबैको उस्तै उस्तै छ । न त धेरै धनाढ्यहरू छन्, न त जीविकोपार्जन गर्नै गाह्रो हुने गरिब छन् ।
खजुरा बजारको विकास तथा चहलपहलले ठूलो उतारचढाव बेहोरेको छ । २०३९ सालसम्म खजुरामा विमानस्थल थियो । ठूल्ठूला कृषि फर्महरू थिए । कतिपयको रोजाइमा नेपालगन्जभन्दा खजुरा नै पथ्र्यो ।
पहाडी समुदायको बसोबास भएको क्षेत्रमा यति धेरै विकास मुस्लिम तथा मधेसी समुदायको बसोबास क्षेत्र किन पछाडि ? भन्दै भड्काउने कोसिस पनि पछिल्लो समयमा भएका छन् । सामाजिक सद्भाव बिथोल्ने प्रयास भएका छन् । त्यसैले मुस्लिम तथा मधेसी समुदायको बसोबास क्षेत्रलाई पनि पहाडी समुदायको बसोबास क्षेत्र जस्तै विकास गर्नु खजुरा गाउँपालिकाको मुख्य चुनौती हो । आर्थिक असमानता नै मुस्लिम तथा मधेसी समुदायको बसोबास क्षेत्रको मुख्य चुनौती हो । त्यतिबेला सरकारले जग्गा दिँदा पहाडी समुदायका हरेक परिवारलाई बराबर बाँडेर दियो, तर मुस्लिम तथा मधेसी समुदायमा भने निश्चित व्यक्तिहरूलाई मात्रै दियो । समस्या त्यहीँबाट सुरु भएको हो जस्तो लाग्छ मलाई ।
खजुराको मुख्य बजार वडा नम्बर ३ मै पर्छ । वास्तवमा वडा नम्बर ३ को कुरा गर्नुपर्दा गाउँ हो या सहर ? छुट्याउन सक्ने अवस्था रहेन । गाउँ हो भनौं भने सहरका सम्पूर्ण सुविधा छन् । नेपालगन्जसरह जग्गा जमिनको मूल्य छ । सहर हो भनांै भने जनसंख्या थोरै छ । खजुरा बजारको विकास तथा चहलपहलले ठूलो उतारचढाव बेहोरेको छ । २०३९ सालसम्म खजुरामा विमानस्थल थियो । ठूल्ठूला कृषि फर्महरू थिए । कतिपयको रोजाइमा नेपालगन्जभन्दा खजुरा पथ्र्यो । कोहलपुर र बाँसगढीमा बजार नै थिएन । जब पूर्वपश्चिम राजमार्गको निर्माण सम्पन्न भयो, तब मान्छेहरूको रोजाइ खजुराभन्दा कोहलपुर र बाँसगढी भयो । २०३९ सालमा विमानस्थल राँझा सरेपछि भने खजुरा पूरै सुक्यो । कतिपय मान्छेहरू खजुराबाट बसाइँ पनि सरे । नेपालगन्जबाट बर्दिया जिल्ला सदरमुकाम गुलरिया जोड्ने सडक खजुरा हुँदै निर्माण भयो ।
यो सडकको निर्माणपछि फेरि चहलपहल बढ्यो । तर २०५४ सालसम्म पनि खजुरा बजारमा मुख्य सडकसँगै जोडिएको घडेरी प्रतिकठटठा ५० हजार रुपैयाँमा किनबेच सुरु हुन्थ्यो । जब माओवादी ‘जनयुद्ध’ उत्कर्षमा पुग्न थाल्यो, तब पहाडबाट खजुरा बसाइँ सराई गर्नेहरूको ओइरो लाग्न थाल्यो । जग्गाको भाउ ह्वात्तै बढ्यो । २०५४ सालताका ५० हजारमा पाइने घडेरीलाई अहिले डेढ करोड रुपैयाँभन्दा माथि पर्छ । तर जग्गाको मूल्यवृद्धिले पनि खजुरामा बसाइँ सरेर आउने क्रम रोकिएको छ । पूर्वपश्चिम राजमार्गको आसपासमा भन्दा बढी मूल्य खजुरामा किन तिर्ने ? भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । मधेसी आन्दोलनका कारण पनि पहाडबाट खजुरा आउन मान्छेहरू डराए । मधेस आन्दोलनका क्रममा केही घटना पनि भए । त्यसैले खजुराको आकर्षण बढाउन अझै धेरै प्रयास गर्न बाँकी छ ।
वडाध्यक्षका रूपमा आधाभन्दा बढी कार्यकाल बिताएँ । जुन टोलमा गयो, सडक पक्की बनाउनुपर्ने माग हुन्छ । पहिले सडक पिच होस्, त्यसपछि अरु कुरा भन्छन् जनताहरू । यो पाँच वर्षमा सडक पिच गर्ने काम सम्पन्न हुन्छ कि जस्तो लाग्छ । बजेट कम छ । पहिलो वर्ष हरेक वडालाई एक करोड ३० लाख रुपैयाँका दरले बजेट विनियोजन गरियो । दोस्रो वर्ष ८० लाख रुपैयाँका दरले विनियोजन गरियो । तेस्रो वर्ष ७० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ । अब दुईवटा बजेट आउन बाँकी छ । यसरी नै हरेक वर्ष वजेट घट्दै जाने हो भने हामी वडाध्यक्षहरूले जनताको अपेक्षाअनुसार विकास गर्न सक्दैनौ कि ? भन्ने लाग्छ ।
मेरो वडाको सम्भावना भनेको सहरीकरण नै हो । सहरीकरणले व्यापार व्यवसाय फस्टाउँछ । कृषिका लागि खासै जमिन बाँकी छैन । आजभन्दा ५५ वर्षअघि पाएको चार बिघा जमिन अहिले नाति पुस्तामा समेत अंश लागिसकेको छ । त्यसैले मेरो वडामा एक बिघाभन्दा बढी जग्गा हुने पाँच प्रतिशत मात्रै छन् । ९५ प्रतिशत परिवार कट्ठामा झरिसकेका छन् । अधिकांशको घडेरी मात्रै छ । यहाँका कृषि अनुसन्धान केन्द्रहरू, अस्पतालहरू, विद्यालय तथा क्याम्पसहरू बाँके जिल्लाकै नमुना बन्दै छन् । खेलकुद मैदान, रंगशाला तथा सभागृह पनि नमुना बन्दैछन् । जसका कारण थप चहलपहल बढ्ने अपेक्षा गरेका छौं ।
(बाँके जिल्लाको खजुरा गाउँपालिका–३ का वडाअध्यक्ष कान्तुराम गौतमसँग परशु घिमिरेले गरेको कुराकानीका आधारमा)


