इतिहासमा बाँके, अहिले संक्षिप्त अबस्था

इतिहासमा बाँके, अहिले संक्षिप्त अबस्था तरुण खबर १ भाद्र २०७८, मंगलवार ०९:३२
इतिहासमा बाँके, अहिले संक्षिप्त अबस्था

परशु घिमिरे

बाँके जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका निर्धारण गरिएको छ । पछिल्लो जनगणनाअनुसार बाँकेमा चार लाख ९१ हजार ३१३ जनसंख्या छ । नयाँ मुलुकका रूपमा चिनिने बाँके जिल्ला कुनै समय खसिया मल्ल राजाहरूको अधीनमा थियो । पूर्व–मध्यकालमा खसिया मल्लहरूले पूर्वमा त्रिशूली गण्डकीदेखि पश्चिम गढवालसम्म, उत्तर तावलाकोटदेखि दक्षिण तराई भागसम्म शासन गरेका थिए । उनीहरूको अधीनमा रूपन्देही, कपिलवस्तु, दाङ, कैलाली आदि जिल्लाहरू रहेकाले बाँके पनि थियो भन्ने अनुमान लगाउन सकिन्छ ।

१४औं शताब्दीपछि उनीहरूको राज्य समाप्त भयो र स–साना राज्यमा विभाजित भयो । कर्णाली प्रश्रवण क्षेत्रमा दैलेखले शासन गथ्र्यो, त्यसै राज्यअन्तर्गत बाँके, बर्दिया थियो भनी अनुमान गर्न सकिन्छ, तर शोध तथा अनुसन्धानको खाँचो अझै देखिएको छ । ई.सं. १८१४ देखि १८१६ सम्म नेपाल र इस्ट इन्डिया कम्पनीबीच लडाइँ हुनुअघि बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाल अधिराज्यभित्रै थिए । बाँके र बर्दिया दैलेख राज्यअन्तर्गत थिए भने कैलालीको केही भाग अछाम र पश्चिम भाग डोटी राज्यअन्तर्गत थियो ।

बहादुर शाहको नायवीकालमा नेपाली फौजले अछाम र डोटी सर (विजय) गर्दा तराईका सबै क्षेत्र नेपाल अधिराज्यको अभिन्न अंग भएका हुन् । १८१६ मा भएको सुगौली सन्धिअनुसार महाकाली नदीको पश्चिम इलाका, मेची नदीको पूर्वी भाग र महकालीदेखि राप्ती नदीसम्मको समथर भाग इस्ट इन्डिया कम्पनीलाई छोड्नुपर्ने सम्झौता भएको थियो । कम्पनी सरकारले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर अबधका नवाव बजीरलाई सुम्पेका थिए । बाँके जिल्ला केही समय अवधकै अधीनमा रहन बाध्य भयो । १८४० ताका इस्ट इन्डिया कम्पनी भारतको गभर्नर जनरलमा लर्ड डलहौजी थिए ।

त्यसपछि उनले अवध राज्यको अधीनमा रहेका यी जिल्लालाई अंग्रेज सरकारको मातहत ल्याए । ई.सं. १८५६ मे १० तारिखका दिन भारतमा अंग्रेज सरकारविरुद्ध ठूलो विद्रोह भयो । यो विद्रोह दमन गर्न लर्ड क्यानिङले सैनिक मद्दतका लागि नेपाल सरकारसँग अनुरोध गरे । कम्पनी सरकारको मद्दतका लागि जंगबहादुर आफैं लखनउतर्फ लागे । र, १८५८ अप्रिल १ तारिखमा उनको लर्ड क्यानिङसँग भेट भयो । नेपाल सरकारले अंग्रेज सरकारलाई आवश्यक पर्दा दिएको सहयोगस्वरूप १८६० अर्थात् १८१६ मा गुमेको भू–भागमध्ये केही भाग नेपालले ४४ वर्षपछि फिर्ता पायो । फिर्ता पाएको भू–भागमध्ये केही भाग राजा सुरेन्द्रविक्रम शाहबाट लालमोहर गराई १९१७ मा ताम्रपत्रसमेत बनाई जंगबहादुरका सन्तानले पाउने गरी लिएको देखिन्छ ।

के छ ताम्रपत्रमा ?
ड्ड विसं १९१७ मा आफ्नो नयाँ मुलुकमध्ये नानपारादेखि पश्चिम कर्णालीदेखि पूर्व नयाँ सिवानाका लठ्ठादेखि उत्तर हाम्रा पुराना मुलुकका सिवाना पहाडका डाँडाको पानी ढलोदेखि दक्षिण यति ससिम सिवानाभित्रको जो आएको आम्दानीमा आधी आम्दानी तिमी जंगबहादुरका श्री ३ गंगा महारानी रनिजको दाइजो षान्या छोरा श्री मद्राजकुमार कुमारात्मज दक्षिणतर्फका कम्यान्डिङ जनरल जगतजंगबहादुर कुँवर राणाबाहेक अरु विवाहित र ल्याइतेमा छोरा पाउन्या छोरा पालन्या रानीहरूलाई ऐनबमोजिम अंश गरी दाइजो दिनु, आधी आम्दानी छ भाइले बरोबर अंश खानु………लेखिएको छ । वीरशम्शेरको प्रधानमन्त्रीत्वकालसम्म आउँदा धेरै सुधार भएकाले बाँके जिल्लाको महत्व बढ्दै गएको हो ।
स्रोत: योगी नरहरीनाथद्वारा लिखित सन्धिपत्र संग्रहको पृष्ठ १७७–७९,
एसिया पब्लिसिङ हाउस न्युयोर्कद्वारा प्रकाशित राना पोलिटी इन नेपाल–१९६७ पृष्ठ १०८)