तरुण खबर
१ भाद्र २०७८, मंगलवार ०९:३८
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी बहिर्गमनको निर्णयमा आफू “पूर्ण रूपमा“ कटिबद्ध रहेको बताएका छन् । युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि चौतर्फी आलोचना खेपिरहेका बेला उनले आफ्नो निर्णयको बचाउ गरेका हुन् । कति थप अमेरिकी जीवन त्यसको लागि अर्पण गर्नुपर्थ्यो ? राष्ट्रपति बाइडनले भनेको भनी बीबीसीले उनलाई उदुत गरेको छ । उनले काबुलका “अत्यन्त विदारक“ दृश्यका बावजूद अमेरिकी फौज हटाउने उपयुक्त समय कहिल्यै पनि हुने थिएन भनेका छन् । अफगान राष्ट्रपति अशरफ घानीले देश छाडेर उनको सरकार ढलेपछि आइतवार तालिबानले लडाइँ जितेको घोषणा गरेको थियो । सशस्त्र विद्रोहीहरू पुनः सत्तामा आउने अवस्थासँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थिति अन्त्य भएको छ ।
तालिबानको नियन्त्रणमा जाने काबुल अन्तिम प्रमुख सहर बनेको छ । तालिबानले महिनौँअघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेका थिए । पछिल्ला दिनहरूमा त्यो गति तीव्र बन्यो र उनीहरूले केही दिनभित्रै अफगानिस्तानभरि आफ्नो नियन्त्रण कायम गरे । तालिबानको यस्तो तीव्र विस्तारले धेरै विश्लेषकलाई पनि झड्का लगाइदिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडन क्याम्प डेभिडबाट सोमवार ह्वाइट हाउस फर्केर करिब एक सातापछि अफगानिस्तानबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले भने– जे होस्, गत साताका विकासक्रमले अफगानिस्तानमा अमेरिकी सैन्य संलग्नता अहिले अन्त्य गर्नु उचित निर्णय थियो भन्ने पुष्टि गर्छ । अफगान फौजले उनीहरूकै लागि लड्न नचाहेको लडाइँ अमेरिकी सैनिकहरू लड्न सक्दैनन् न त लड्नु नै हुन्छ । अमेरिकी सैन्य फिर्तीको उनको निर्णयपछि काबुलमा देखिएको उथलपुथललाई लिएर राष्ट्रपति जो बाइडनले चर्को राजनीतिक आलोचनाको सामना गर्नु परिरहेको छ ।
उनले सोमवार अफगानिस्तानमा अमेरिकी मिसन कहिल्यै पनि राष्ट्र निर्माणका लागि ठानिएको थिएन भनेका छन् । उनले आफू उप–राष्ट्रपति हुँदा सन् २००९ मा त्यसबेलाका राष्ट्रपति बराक ओबामाले अफगानिस्तानमा थप हजारौँ सैनिकहरू पठाउने निर्णय गर्दा त्यसको विपक्षमा उभिएको स्मरण गरे । उनले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका बेला तालिबानसँग भएको सम्झौता अनुसार आफूले अमेरिकी सैन्य फिर्तीको निर्णयलाई अघि बढाएको पनि उल्लेख गरे ।


