तरुण खबर
२ भाद्र २०७८, बुधबार ११:१०
काभ्रे जिल्लाको रोशी गाउँपालिका–४ अर्थात साबिकको महादेवटार गाविसलाई रोशी गाउँपालिकाको वडा नम्बर ४ का रूपमा संरचना गरिएको छ । अरू वडाको तुलनामा यो वडाको भूगोल मिलेको छ । कृषियोग्य भूमि धेरै छ, तर बीपी राजमार्गले मात्रै होइन, रोशी नदीले समेत नछोएको यो वडा अभैm दुर्गम नै छ । बीपी राजमार्गबाट पाँचदेखि १७ किलोमिटरसम्मको दूरीमा पर्छ यो वडा । करिब ६ सय घरधुरी रहेको यो वडामा तामाङ, मगर, नेवार, दलितलगायतको बसोबास छ । मकै र तोरी यहाँको प्रमुख बाली हो । धानखेती हुने क्षेत्र अत्यन्त थोरै छ । आफ्नो उब्जनीले वर्षभरि खान पुग्ने परिवारको संख्या नगन्य छ । सरदरमा हेर्ने हो भने यहाँको उब्जनीले ६ महिना मात्रै खान पुग्छ ।
अलि दुर्गम भएकाले तरकारी खेतीले व्यावसायिक रूप लिन सकेको छैन । परम्परागत रूपमा पशुपालन व्यवसाय अघि बढिरहेको छ । दैनिक एक हजार लिटर दूध बिक्री हुन्छ । बाह्रै महिना चल्ने सडक नहुँदा दूध ढुवानीमा समस्या भएकाले किसानहरूले खुवा बनाएर बेच्ने गरेका छन् । खुवा बनाउने कारखाना ६ वटा छन् । दैनिक तीन सय किलो खुवा निर्यात हुन्छ । यहाँको खुवा प्रतिकिलो ३५० रुपैयाँमा बिक्री हुने गरेको छ । कृषि सहकारी तथा महिला समूहहरूको सक्रियता राम्रै छ ।
अनुकूल हावापानी, घाँसपात र चरिचरनको सुविधा भएकाले बाख्रापालनले व्यावसायिक रूप लिने लक्षण देखिएको छ । एउटा बाख्रा फर्म खुलिसकेको छ । यहाँका अधिकांश युवा इँटाभट्टामा तथा घर निर्माणमा काम गर्न काठमाडौं जान्छन् । वैदेशिक रोजगारीमा जानेहरू खासै धेरै छैनन् । राजधानी काठमाडौंमा गएर सवारीसाधन चलाउने सीप सिकेका युवाहरू पछिल्लो समयमा वैदेशिक रोजगारीमा जान थालेका छन् । राजधानी काठमाडौंमा ड्राइभिङ पेसा अँगाल्ने युवाहरू मेरो वडाबाट करिब तीन सय जति होलान् ।
साक्षरता दर ९० प्रतिशत छ । रोशीको ४ नम्बर वडामा दुईवटा मावि र दुईवटा प्रावि छन् । जसमध्ये जोगेश्वर माविमा ३ सय ३२ विद्यार्थी छन् । नागदेवी माविमा एक सय ५० जना विद्यार्थी छन् । थानापति प्राविमा ५२ र ज्वालादेवी प्राविमा १५ जना विद्यार्थी छन्, भूगोलका कारण यी विद्यालय मर्ज गर्न सकिएको छैन । पढ्ने उमेर पुगेका कुनै पनि बालबालिका विद्यालय जाने अवसरबाट वञ्चित नहोऊन् भन्ने अवधारणा हामीले अघि सारेका छौं । यो अवधारणा सफल भएको छ । वडाभरिमा अहिलेसम्म एकजना मात्रै डाक्टर बनेका छन् । इन्जिनियर दुईजना छन् । भर्खरभर्खर शैक्षिक चेतना जागृत भएका कारण हाम्रो उन्नति पनि अलि ढिलै हुने लक्षण देखिएको छ ।
स्वास्थ्य चौकी छ, तर बर्थिङ सेन्टर छैन । सुत्केरी गराउन धुलिखेल नै पुग्नुपर्ने बाध्यता छ । अस्पताल वा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । अधिकांश महिला सुत्केरी हुन अस्पताल या बर्थिङ सेन्टरमा जान थालेका छन् । पालिका अध्यक्ष डीबी लामाजीले विकास–निर्माणमा कुनै विभेद गर्नु भएको छैन । सबै वडाहरुलाई समान व्यवहार गर्नु भएको छ ।
सबै घरमा बिजुली पुगेको छ । करिबकरिब सबै बस्तीमा सडक पुगेको छ, तर बर्खायाममा चल्दैन । मुख्य बजार भनेको सीधै बनेपा या धुलिखेल हो । मेरो वडामा विकास बजेट वार्षिक सरदर ३२ लाख रुपैयाँ जति विनियोजन हुने गरेको छ । हामीले खानेपानीलाई विशेष प्राथमिकतामा राख्दै एक घर एक धारा अभियान सुरु गरेका छौं । साबिकको वडा नम्बर ५ मा यो अभियान सफल हुँदैछ । साबिकका अरू वडामा भने खानेपानीको समस्या नै छ । त्यसमध्ये तीनवटा वडामा धेरै नै समस्या छ । पानीको स्रोत पनि कम छ । बसाइँसराइको समस्या अहिलेसम्म खासै छैन । तर बीपी राजमार्ग आसपासमा तीव्र आर्थिक विकास तथा रोजगारीका सम्भावना बढ्दै गएका कारण निकट भविष्यमा बसाइँसराइको समस्या हुने देखिएको छ । त्यो समस्या रोक्न पनि हाम्रो वडालाई प्राथमिकतामा जतिसक्दो छिटो विकासका पूर्वाधार पु¥याउनुपर्नेछ । यसका लागि गाउँपालिकाका बैठकहरूमा मैले पटकपटक कुरा राख्दै आएको छु । साथीहरू सकारात्मक हुनुहुन्छ ।
मेरो वडामा कृषिबाहेकको अर्को सम्भावनाको क्षेत्र भनेको पर्यटन हो । ताराखसे लेक, थानापति स्थानलगायतका पर्यटकीयस्थल छन्, तर प्रचारप्रसार गर्न सकिएको छैन । वडा नम्बर ४ कै महाभारत लेकसँग जोडिएको निगालेका बासिन्दाले स्कुल पढ्न अहिले पनि एक घण्टा जान, एक घण्टा आउन समय खर्च गरेका छन् । निगालेका १८–१९ घरधुरीका बालबालिका सिग्देल गाउँको थानापति प्रावि पढ्न जान्छन् ।
(रोशी गाउँपालिका–४ का वडाअध्यक्ष तेजबहादु रानामगर भएको कुराकानी)


