मातृभूमिका लागि केही गर्न चाहन्छन् तर नागरिकताको समस्या आउँछ

मातृभूमिका लागि केही गर्न चाहन्छन् तर नागरिकताको समस्या आउँछ तरुण खबर ३ भाद्र २०७८, बिहीबार ०९:१०
मातृभूमिका लागि केही गर्न चाहन्छन् तर नागरिकताको समस्या आउँछ

वेदनिधि प्याकुरेल

राजा महेन्द्र २०२६ सालमा बर्मा भ्रमणमा जाँदा त्यहाँ रहेका नेपाली समुदायको उन्नति प्रगति देखेर निकै भावुक भएछन् । उनले भनेछन्– ‘तपाईहरूको यो सीप, क्षमता र जाँगर स्वदेशमै उपयोग होस् भन्ने म चाहन्छु, यदि तपाँइहरू स्वदेश फर्कनु हुन्छ भने व्यवस्थित बसोबासको व्यवस्था मिलाउन म तयार छु ।’ आफ्नो मातृभूमिका राजाले यस्तो आग्रह गरेपछि सुखसुविधाका साथ म्यानमार (बर्मा) मा बसेका नेपालीहरूको मन छोएछ । केही नेपालीहरूले आफ्नो मातृभूमि फर्कने निधो गरेछन् । यसरी फर्केका नेपालीलाई तराईका विभिन्न ठाउँमा पुनर्वास गराइएको छ । त्यसमध्ये एउटा ठाउँ हो– ‘खजुरा गाउँपालिकाको वडा नं २ अर्थात् तत्कालीन सीतापुर गाविसको गौघाट ।’ यो गाउँलाई अहिले पनि बर्मेली टोल नै भनिन्छ । तर त्यतिबेला नेपाल आउने पुर्खाहरू अब यहाँ छैनन् । कोही बितिसके, कोही अन्यत्रै बसाइँ सरिसके ।

म अलिकति म्यानमार (बर्मा) को बारे संक्षिप्त जानकारी गराउँन चाहन्छु । नेपालभन्दा ठूलो म्यानमारको कुल क्षेत्रफल ६,७६,५७८ वर्ग किलोमिटर रहेको छ भने क्षेत्रफलका आधारमा म्यानमार मुख्यभूमि दक्षिणपूर्वी एसियाली राज्यहरूमध्ये सबैभन्दा ठूलो देश हो । ५ करोड ४८ लाख २० हजार ४९४ जनसंख्या भएको म्यानमार (बर्मा) अल्पविकशित देशमध्यमै पर्छ ।

२ करोड ९७ लाख २५ हजार ५५३ जनसंख्या भएको ‘नेपालको भू–भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको छ । पुस्तक लेखक मध्येका एक कोमलचन्द्र बरालका अनुसार पुस्तकमा नेपालको पश्चिमोत्तर क्षेत्रको लिपुलेक र कालापानी बीचमा रहेको लिपु भञ्ज्याङलाई समेटेर लिम्पियाधुरा लिपुलेक क्षेत्रको करिब ४६०.२८ वर्ग किलोमिटर भू–भाग समावेश गरिएको छ । यसअघि भन्दै आएको १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर क्षेत्रफलमा लिम्पियाधुरा क्षेत्र समेटिएको थिएन । १९औँ शताब्दीमा बेलायत–बर्मी युद्धपछि ब्रिटिश इष्ट इन्डिया कम्पनीले म्यानमारको प्रशासन कब्जा गरेको थियो । यो देश बेलायती उपनिवेश बनेको थियोे ।

प्रजातान्त्रिक राष्ट्रको रूपमा सन् १९४८ मा म्यानमारलाई स्वतन्त्रता दिइएको थियो । सन् १९६२ मा भएको राज्य विप्लव पछि यो बर्मा समाजवादी दल अन्तर्गत एक सैन्य तानाशाही बनेको थियो, अहिले पनि म्यानमारमा सैनिक शासन नै छ । धेरै जसो स्वतन्त्र वर्षहरूमा यो देश व्यापक जातीय कलहमा अल्झिएको छ । यसका असंख्या जातीय समूहहरू विश्वको सबैभन्दा लामो चलिरहेको गृहयुद्धहरूमध्ये एकमा संलग्न भएका छन् । यस समयमा, संयुक्त राष्ट्र सङ्घ र अन्य धेरै सङ्गठनहरूले देशमा लगातार र व्यवस्थित मानव अधिकारको उल्लङ्घन भएको जनाएका छन् । सन् २०११ मा, २०१० को आम चुनाव पछि सैन्य सरकार औपचारिक रूपले विघटन भएको थियो । कामचलाउ नागरिक सरकारको स्थापना गरिएको थियो । केही वर्षअघि सैनिक कु गरेर बर्मेली सैनिकले शासन अप्mनो हातमा लिएका छन् ।

मेरो विचारमा पूर्वी तराईमै प्रशस्त ठाउँ हुँदाहुँदै केही बर्मेली परिवारलाई यहाँ ल्याएर पुनर्वास गराउनुको मुख्य कारण संस्कार तथा संस्कृति आदानप्रदान गराउँनु हो । बर्मा गएका नेपालीहरूले पशुपालन व्यवसाय कसरी गर्ने ? थोरै मिहेनतबाट धेरै उब्जनी कसरी गर्ने ? घरको सरसफाइ तथा सजावट कस्तो बनाउने ? घर वरिपरि कस्तो खालको फुलबगंैचा बनाउने ? लगायतका ज्ञान, सीप र अनुभव हासिल गरेका थिए । यो अनुभव नयाँ बस्ती पुनर्वासमा छर्ने उद्देश्यका साथ बर्मेलीहरूलाई यहाँ ल्याइएको हुनसक्छ ।

जुन उत्साहका साथ बर्मेली यहाँ आएका थिए, त्यो उत्साह धेरै वर्ष कायम रहन पाएन । केही वर्षपछि नै बर्मेलीहरू यही समाजमा विलिन जस्तै भए । बिहेबारीलगायतका सबै सामाजिक व्यवहार यही समाजमा हुने भएकोले बर्मेलीहरूको मौलिकता अब रहेन । यतिबेला त सबै एकनास भइसके । मान्छेको बानीव्यहोरा तथा चरित्र हेरेर, घरको सजावट हेरेर बर्मेली हो या स्थानीय हो ? भन्ने छुट्याउन सकिने अवस्था अब रहेन ।

हाम्रो पुख्र्याैली थलो तेह्रथुम जिल्ला हो । मेरो बुबा सानै हुँदा हजुरबुबाले बर्मा लिएर जानु भएछ । म उतै जन्मे । बर्माबाट अरु परिवारको यस क्षेत्र आगमन र हाम्रो परिवारको आगमनमा अलि फरक छ । अरु परिवार पहिले नै पानीजहाज चढेर भारतको बाटो हुँदै यहाँ आए । हाम्रो परिवार हवाईजहाज चढेर २०३६ सालमा यहाँ आएको हो । त्यतिबेला म २५ वर्षको थिएँ, अहिले ६७ वर्षको भएँ । उतै विवाह भइसकेको थियो । मेरा ससुरालीहरू अहिले पनि बर्मामै छन् । नियमिति आवत–जावत भइरहन्छ । आफ्नो देशप्रति यहाँ रहेका नेपालीलाई जति माया छ, त्यो भन्दा बढी बर्मामा रहेका नोपलीले माया गर्छन् । उनीहरूको जीवनस्तर राम्रो छ । नेपाली भाषा तथा धर्मसंस्कृतिलाई बचाएर राखेका छन् । नेपाली मौलिक धर्म संस्कृति त यहाँभन्दा धेरै बर्मामै जोगिएको छ जस्तो लाग्छ मलाई ।

जीवनस्तर पनि स्वदेशका नेपालीको भन्दा बर्मामा रहेका नेपालीको धेरै नै माथि छ । उद्योग तथा बन्द–व्यापार, व्यवसायमा जमेर बसेका छन् । उनीहरू नेपालमै आएर योगदान दिन चाहन्छन् । म बर्मा जाँदा यस बारेमा जिज्ञासा राख्छन् । ‘नेपाली नागरिकता नभएकाले हामी नेपाल जाँदा दैनिक रूपमा कर तिरेर बस्नुपर्छ रे नि हो ?’ भनेर सोध्छन् । हो भन्नै प-यो । उतै राम्रोसँग जीवनस्तर बितिरहेकाले नागरिकता त्यागेर यता आउने कुरा भएन । दोहोरो बसोबास तथा व्यवसाय गर्न सजिलो भएन । उनीहरू भन्छन्– ‘हाम्रो मातृभूमि हो, घुम्नेगरी आउँछौं, बस्ने गरी आउन सम्भव छैन ।’ मेरा एकजाना साथी हुनुहुन्छ युवराज दाहाल, उहाँ बर्मामा रहेर वैदेसिक व्यापार गर्नु हुन्छ । चीनबाट सामान आयात–निर्यात गर्ने व्यवसायबाट उहाँले निकै नै ठूलो प्रगति गर्नुभएको छ । वास्तवमा उहाँ केही योगदानका लागि नेपालमा आउन चाहनु हुन्छ । तर समस्या नागरिकताकै भयो । यो समस्य प्रबृतिको रुपमा झांगिएको छ ।
( म्यानमार (बर्मा) बाट नेपाल आएका वेदनिधि प्याकुरेल अहिले ६७ वर्षका भएका छन् । उनीसँग म्यानमारका नेपालीको समस्य, सामाजिक जनजीवनलगायत विषयमा हाम्रा पाठकहरुका लागि गरिएको कुराकानी)