तरुण खबर
३ भाद्र २०७८, बिहीबार ०९:१२
काभ्रे जिल्लाको रोशी गाउँपालिका–५ को साबिकको सिसाखानी गाविसलाई रोशी गाउँपालिकाको वडा नम्बर ५ का रूपमा संरचना गरिएको हो । करिब दुई हजार जनसंख्या रहेको यो वडाका गाउँहरू बीपी राजमार्गबाट २ देखि ७ किलोमिटरसम्मको दूरीमा रहेका छन् । रोशी नदीसँग जोडिए पनि धानखेती हुने फाँटहरू छैनन् । मकै, फापर मुख्य खाद्यबाली हुन् । नगदे बालीका रूपमा भटमासको खेती हुन्छ । तरकारीहरू भने सबै जातको उत्पादन हुन्छ । ९० प्रतिशत जनता कृषिमा निर्भर छन् । आफ्नो उब्जनीले सरदर नौ महिना पनि खान पुग्दैन । जीविकोपार्जनका लागि वैकिल्पिक उपाय भने दूध र तरकारी बिक्री नै हो । दिनको एक गाडी तरकारी निर्यात हुन्छ । दूध दैनिक पाँच सय लिटर जति निर्यात हुन्छ ।
मेरो वडाका करिब ५०–६० जनाले स्थानीय क्षेत्रका क्रसर उद्योगमा रोजगारी पाएका छन् । अनुमानित आँकडाअनुसार करिब दुई–तीन सयले काठमाडौंमा गएर गाडी चलाउने रोजगारी गर्छन् । वैदेशिक रोजगारीमा खासै धेरै छैनन् ।
गाउँपालिकाको स्थान रहेको कटुञ्जेबेसीबाट केही उत्तरतिर पोटेखोला दोभान हुँदै सिसाखानी जाने कच्ची सडक छ । वर्षायाममा गाडी चल्दैन । बीपी राजमार्गबाट हिँडेर जाँदा वडा कार्यालय पुग्न दुई घण्टा लाग्छ, अन्तिम गाउँ चापडाँडा पुग्न चार घण्टा लाग्छ । चापडाँडासम्म कच्ची सडक पु¥याउन अझै दुई किलोमिटर जति बाँकी छ । साबिकका चार–पाँचवटा वडामा अझै सडक पुग्न बाँकी छ ।
साबिकको वडा नम्बर ३ बाहेक सबैमा बिजुलीको सुविधा पुगेको छ । मेरो वडामा यतिबेला मुख्य समस्या खानेपानीको देखिएको छ । भूकम्पपछि पानीका मुहान सुकेका कारण खानेपानीको समस्या छ । पुराना पँधेराहरू मासिए । १५ वर्षअघि १० लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको थम्बोट खानेपानी आयोजनासमेत मुहान सुकेका कारण समस्याग्रस्त भएको छ । भकुण्डे खोलाको खानेपानी आयोजना पनि राम्रोसँग सञ्चालन हुन सकेको छैन ।
पानीघाटबाट साबिकका वडा नम्बर ४ र ५ लाई खानेपानीको व्यवस्था गरिएको थियो, तर त्यसले अहिले पुगिरहेको छैन । त्यो योजनामा पानी थप्नका लागि यसपालि सात लाख रुपैयाँ बजेट पारिएको छ । साबिकका चारवटा वडालाई लक्षित गरी लिफ्टबाट तानेर खानेपानी पु¥याउने योजना अघि बढाउन लागिएको छ । यो योजनाका लागि करिब डेढ करोड रुपैयाँ लाग्ने देखिएको छ । यो योजना सफल भयो भने खानेपानीको समस्या धेरै हदसम्म समाधान हुन्छ । साबिकको वडा नम्बर २ बाहेक सबैलाई पुग्छ ।
सिसाखानीमा २०३५ सालमै हाइस्कुल खोलिएको हो । तर अहिलेसम्म पनि शैक्षिक प्रगति उत्साहजनक छैन । यसबाहेक अर्को निमावि र अरू दुईवटा प्रावि छन् । विद्यालय भवनहरू राम्रा छन्, तर विद्यार्थी कम छन् । शिक्षक अभाव छ । स्वास्थ्य चौकी छ, तर सुत्केरी गराउन धेरै टाढा मंगलटार या सिपाली जानुपर्ने बाध्यता छ ।
संविधानतः गाउँगाउँमा सिंहदरबार पुगेको भनिन्छ, तर व्यवहारमा भने अझै पनि विकास बजेटका लागि केन्द्रको मुख ताक्नु परेको छ । गाउँगाउँमा सुविधा आइपुगेको छैन । परम्परागत कृषिबाहेक जीवनयापनका वैकल्पिक बाटाहरू गाउँघरमा आउन सकेनन् । हाम्रो वडाको सन्दर्भमा भन्नुपर्दा कृषिबाहेकको अर्को सम्भावना पर्यटन नै हो । त्यसमा पनि धार्मिकस्थलहरू निकै धेरै छन् । तर उचित प्रचारप्रसार गर्न सकेका छैनौ । संरक्षण गर्नसमेत सकेका छैनौं ।
उदाहरणका लागि भ्युटावर रहेको घ्याङ डाँडामा ठूलो गुुम्बा थियो रे । हामीले देखेनौं । तीन पुस्ताअघि नै नष्ट भइसकेछ । लार्पुङ भन्ने ठाउँको गुम्बा यथावत् छ । चार–पाँचजना लामाले संरक्षण गरेर राखेका छन् । खेम्पु छोको लामाले उक्त गुम्बा संरक्षणका लागि ठूलो योगदान पु¥याउनु भएको छ । लार्पुङमा सातवटा छोर्तेन छन् । तल थाम मनिडाँडामा १०–१२ वटा माने छन् । साबिकको वडा नम्बर १ मा रहेको गुम्बाको संरक्षण खेम्पो हीराकाजी लामाले गर्दै आउनु भएको छ । तर गुम्बामा विद्यार्थीलाई पढाउने व्यवस्था गर्न सकिएन भने पछि लामा पाउनसमेत संकट पर्ने स्थिति छ । सिसाखानी क्षेत्रका निगाले, चोडाँडा, घ्याङडाँडा, घुम्बो डाँडालगायतका स्थलहरूले पर्यटक तान्ने सम्भावना छ ।
( रोशी गाउँपालिका–५ का वडाध्यक्ष तीर्थबहादुर लामासँग भएको कुराकानी)


