रकनुद्दीन तोलाको दरगाह र मसकटिया बाबाको मिजार

रकनुद्दीन तोलाको दरगाह र मसकटिया बाबाको मिजार तरुण खबर ४ भाद्र २०७८, शुक्रबार १०:१६
रकनुद्दीन तोलाको दरगाह र मसकटिया बाबाको मिजार

संजिव अधिकारी

काठमाडौं । बाँके जिल्लोको खजुरा गाउँपालिकामा दुई कट्टर धर्मबीचको अनुपम सहिष्णुताका लागि प्रसिद्ध छ । दुई कट्टर धर्मबीचको अनुपम सहिष्णुताका लागि प्रसिद्धी धेरै मानिसहरुका लागि आश्चर्यको विषय पनि हुन सक्छ । हुन त यो अलि अनौठो तुलना हो । रकनुद्दीन तोलाको दरगाह र मुसबेटवा (मसकटिया) बाबाको मिजारबीचको सडक दूरी १७ सय किलोमिटर भन्दा बढी छ । रकनुद्दीन तोलाको दरगाह भारतलगायत विश्वभरि नै दुई कट्टर धर्मबीचको अनुपम सहिष्णुताका लागि प्रसिद्ध छ । मुसबेटवा बाबा प्रचारहीन छन्, अनि मौन रहेर एउटा सानो परिधिभित्र मात्र बस्न बाध्य छन् । यी दुवैबीचको कथामा समानता छ । अर्थात् दुवैको कथा धेरै मिल्दाजुल्दा छन् ।

रकनुद्दीन तोला आफ्नो दरगाहमा आएका कसैलाई पनि खाली हात फर्काउँदैन थिए । मुसबेटवा वा मसकटिया बाबा पनि कसैलाई खाली हात फर्काउँदैन थिए । वरपरका जुन धर्मका मानिस आए पनि तिनीहरूको समस्या निवारण गर्ने विचित्र क्षमता रकनुद्दीन तोला र मुसबेटवा बाबा दुवैमा थियो । रकनुद्दीन तोलाले आफ्नो जीवन एक हिन्दु सन्तको सामीप्यमा र मसकिटया बाबाले पनि आफ्नो जीवन एक हिन्दु सन्तको सामीप्यमा बिताए । रकनुद्दीन तोलाका एक अनुयायी थिए, जो कट्टर हिन्दु ब्राह्मण थिए । रकनुद्दीन तोलाले साकाहारी हिन्दुकै कारण मासु खान परित्याग गरे ।

रकनुद्दीन तोलाको दरगाह
भारतस्थित कर्नाटकको कालबुर्गी जिल्लामा अवस्थित हजरत शाह रुकनुद्दीन तोलाको दरगाह १४ औं शताब्दीका मुस्लिम सन्तलाई समर्पित छ । जसले करिब ४० वर्ष, उनको दरगाहको माथि रहेको पहाडमा प्रार्थना गरे । हजरत ख्वाजा बन्दे नवाज गेशु एक समकालीन थिए, जसले हजरत शाह रुकनुद्दीन तोलाको बारेमा प्रचारप्रसार गरेका थिए । हजरत शाह रुकनुद्दीनले आसपासका क्षेत्रका मानिसहरूले ल्याउने प्रायः सबै समस्या समाधान गरिदिने विश्वास गरिन्छ । उनको दरगाहको छेउमा शाह कादरीको मन्दिर छ, जो मूल रूपमा रामा राव नामक हिन्दू ब्राह्मण थिए । उनी आफ्नो आध्यात्मिक उपलब्धिका लागि परिचित थिए र हजरत रुकनुद्दीन तोलाका चेला थिए ।

रामा राव ब्राह्मणकै कारणले सन्त तोलाले मांंशहारी खाना छोड्ने निर्णय गरे, र यो आदेश दिए कि, उनको मृत्युपछि, मांशहारी खाना खाएपछि कोही पनि उनको मन्दिरको भ्रमण गर्ने छैनन् । तीर्थस्थल अत्यधिक कालो ढुंगाले बनेको छ र माथि खुला छ । हजरत रुकनुद्दीनको चिहानको लम्बाइ गुम्बा आकारको छ र धेरै अन्य चिहानहरू पनि मन्दिरको अगाडि अवस्थित छन् । भारतलगायत विभिन्न राज्यका मानिसहरू, आफ्नो धर्म जस्तोसुकै भए पनि दरगाहको भ्रमण गर्न आउँछन् । उनीहरूको चलनअनुसार प्रसाद बनाउँछन् र आफ्नो इच्छापूर्तिका लागि यहाँ पुग्छन् । यहाँ आराधना गर्न आउने विभिन्न मतका र समुदायका मानिसहरूसंँग, यो दरगाहले भारतको धर्मनिरपेक्षतालाई बलियो पार्न ठूलो भूमिका खेल्दै आएको विश्वास गर्छन् ।

खजुराको शान, मुसबेटवा-मसकटिया बाबाको मिजार
– हिन्दु र मुस्लिम सन्तको चिहान सँगसँगै रहेको संसारकै एकमात्र स्थान
– हिन्दु र मुस्लिमहरूको वर्षौंदेखिको साझा प्रार्थना स्थल

 

रकनुद्दीन तोला र मुसबेटवा बाबा दुवैमा समानता देखिए पनि दरगाह र मुसबेटवा बाबाको मिजारमा केही भिन्नता छ । भारतको यो विश्व प्रसिद्ध दरगाहमा पनि खजुरामा जस्तो दुवै सन्तको शव स्थलसँगै जोडिएका छैनन् । सोझो भाषामा खजुरामा रहेको यो मिजारले विश्वमै नदेखिएको अनुपम धरोहरलाइ संरक्षण गरेको छ । फकिर मुसबेटवा बाबा कतैबाट घुम्दैफिर्दै हालको वर्तमान खजुरामा आइपुगे । त्यसबेला खजुराको त्यो क्षेत्र चोरडाँकाहरूको बिगबिगीका कारण मानिसहरू ओहोरदोहोर गर्नसमेत डराउँथे । यदि यो कथा सही हो भने पनि बाबाको आगमनकाल विक्रम संवत् १८९० को हाराहारी वा त्यो भन्दा कैयन् अघि पुग्नुपर्ने हुन्छ । बाबाको आगमनपछि चोरडाँकाहरूलाई बाबाले तह लगाए । यिनी बाघमा बसेर जंगल डुल्थे भन्ने किंवदन्ती समेत यो क्षेत्रमा व्याप्त छ ।

यी बाबा के पकाएर खान्थे भन्ने थाहा छैन, छेउमा भिक्षा दिने वा माग्ने परिवेश र प्रचलन पनि थिएन । तर पनि बाबाको बसाइँ सम्भव भयो कालान्तरमा यिनले एक हिन्दु अनुयायी फेला पारे यादव थरका सन्त । अनुयायीका बारेमा धेरै थाहा हुन सकेको छैन । उनीहरू दुवै सँगै बस्न थाले, दुवै सन्त थिए । सोझो भाषामा दुवै फकिर । यिनीहरूको प्रतापले यो क्षेत्रमा विकृतिहरू हराउँदै गए । यिनीहरूको ख्याति भूगोलको सीमा नाघेर लखनउसम्म पुग्यो । यिनीहरूलाई भेट्न टाढा–टाढाबाट पनि मानिसहरू आउन थाले । कालान्तरमा दुवैको चिहान, मिजारसँगै रहेको भेटियो । यो स्थान अहिले पनि हिन्दु र मुस्लिमका दुई सन्तसँगै चिहान रहेको दुर्लभ क्षेत्र हो । लामो इतिहास बोकेका हिन्दु र मुस्लिमको संघर्ष, तिक्तता र परस्परविरोधी शैलीका बाबजुद पनि यी दुई सन्तले धर्मले जात विशेष भन्दैन भनेर मौलिक छाप छाडेका छन् । विश्वमा अन्यत्र हालसम्म थाहा भएअनुसार दुई नितान्त फरक पृष्ठभूमिका हिन्दु र मुस्लिम फकिरको संयुक्त मिजार खजुराबाहेक संसारमा अन्यत्र कतै छैन ।

साथै यो मिजारको सबैभन्दा रोचक पक्ष यसको निर्माण हो । यो मिजारमा रहेका दुई चिहानको प्रसिद्धि फैलिएपछि आफूले थाहा पाएदेखि नै श्रद्धालुहरू मन्नत माग्न यहाँ पुग्ने गरेको र धेरैको मन्नत पूरा भएको महसुस गरेर नेपालगञ्जका एक हिन्दुले यहाँ पक्की मिजार निर्माण गराएका हुन् । नेपालगञ्ज धम्बोझीका तत्कालीन वडा नम्बर १ का बासिन्दा ठाकुरप्रसाद वैश्यले २०३९ सालमा यहाँ पक्की मजार निर्माण गराएको इतिहास मिजारकै भित्तामा अंकित छ । परापूर्वकालदेखि नै यकिन समय थाहा हुन नसकेको हिन्दु र मुस्लिम धर्मावलम्बीहरूले यो स्थानमा प्रार्थना र पूजा गर्दै आएका छन्, यहाँ दियो पनि बालिन्छ । सरस्वती पूजाको दिन यो मिजारको रौनक नै अलग्गै हुन्छ । टाढाटाढाबाट श्रद्धालुहरूको ओइरो लाग्छ, ठूलो मेला लाग्छ र संसारमा कतै नदेखिने हिन्दु मुस्लिमबीचको वास्तविक भाइचारा र सद्भाव यहाँ यत्रतत्र फैलन्छ ।

मसकटिया बाबाको मिजारमा पुजारीको काम गर्दै आएका रोजन साइ आफूहरूले धेरै अघिदेखि नै यहाँको रेखदेख गर्दै आइरहेको बताउनुहुन्छ । आफ्नो बाजेले यी दुवै हिन्दु र मुस्लिम सन्तलाई भेटेको दाबी रोजन साइको छ । तर यो भनाइमा सजिलै विश्वास गर्न सकिने आधार भने फेला पर्दैन । खजुरा क्षेत्रका सबैभन्दा वृद्ध सम्भवतः विश्वकै सबैभन्दा जेठा १२६ वर्षका वडाबांधु थारु आफूले बाल्यकालदेखि नै मिजारको अस्तित्व रहेको देखेको र यहाँ सरस्वती पूजाका दिन मेला लाग्ने गरेको सम्झना गर्नुहुन्छ । यसैगरी, १०२ वर्षीय वृद्ध अब्दुल हाफिक मियाँ खजुरा रनियापुर निवासीले समेत आफ्नो बाल्यकालमै यो क्षेत्रमा मेला लाग्ने गरेको स्मरण गर्नुभयो ।

मुसबेटवा बाबाको चिहानसँगै जोडिएको चिहान, मुसबेटवाका चेला भनिएका एक यादव थरका सन्त भएको विश्वास धेरैको छ । श्रद्धालुहरू यी दुवै सन्तको सँगसँगै स्तुति गर्छन्, सँगसँगै चादर चढाउँछन्, सँगसँगै मन्नत माग्छन् । स्तुति गर्दा चादर चढाउँदा र मन्नत माग्दा दुईमध्ये एक मात्र बाबाको नाम लिने चलन नै छैन । दुवैको नाम संयुक्त रूपमा लिइन्छ वा भनौं दुवैलाई सम्झना गरिन्छ । हिन्दु र मुस्लिमका लागि समान आस्थाको केन्द्र बनेको मुसबेटवा बाबाको मिजारमा चादर चढाउन बहराइज, लखनउदेखिका श्रद्धालुहरूसमेत आउँछन् र कुनै भेदभावबिनै हिन्दु र मुस्लिम दुवैको मजारमा चादर ओढाउँछन् । यी दुवै सन्त बाबाहरूले आफ्नो कुरा नसुन्लान् वा बिर्सलान् भनेर बाबालाई पत्र नै लेखेर आफ्नो समस्याबारे अवगत गराउने चलन पनि यहाँ छ । कुनै समय यहाँ जंगल रहेको बताइन्छ जंगलको बीचमा एउटा तलाउ । तलाउको छेउमा खुला चौर र चौरको छेउमा हिन्दु र मुस्लिम बाबाहरूको संयुक्त मिजार यहाको अर्काे विशेषता हो ।

मुसबेटवा बाबा कि मसकटिया बाबा ?
हाल विश्वमै नरहेको एकै स्थानमा हिन्दु मुस्लिम सन्तको संयुक्त मिजार धेरैका लागि मुसबेटवा बाबा र केहीका लागि मसकटिया बाबाका नामले प्रसिद्ध छ । मुसबेटवा बाबा कि मसकटिया बाबा ? यो विषयमा चर्चा गर्नु अत्यन्तै सान्दर्भिक हुने देखिन्छ । मुसबेटवा बाबा वा मसकटिया बाबाको आगमनलाई ७५ वर्षअघिको मात्र घटना मान्ने हो भने यी बाबा भारत, पाकिस्तान वा बंगलादेशी नागरिक थिएनन् भन्ने कुरा स्वतःसिद्ध हुन्छ । भारत सन् १९४७ मा स्वतन्त्र भएको हो । त्यसअघि भारत विभिन्न राज्य रजौटाहरूमा विभाजित थियो । स्वतन्त्र रूपमा भारत पाकिस्तान र बंगलादेशसमेत थिएनन् ।

हालको सिन्ध क्षेत्र (पाकिस्तानको कराँचीसहित सिन्ध प्रान्तका र भारतको पञ्जाव प्रान्तका केही इलाकासहित) राजा रजौटाहरूबाट इस्ट इन्डिया कम्पनीले आफ्नो नियन्त्रणमा लिएको थियो । यो सिन्ध क्षेत्रमा मुसलमानहरूको एक थर छ, मसकटिया । यी बाबालाई मसकटिया थर भएको मान्ने हो भने बाबाको उद्गम सिन्ध प्रान्तमा रहेको स्पष्ट हुन्छ र इतिहासको नजिक पुगिन्छ । यी सन्त फकिर सिन्ध प्रान्तबाट घुम्दैफिर्दै र ज्ञानको खोजीमा हालको खजुरामा आएको हुन सक्ने सम्भावना प्रबल छ । केही व्यवसायी मसकटिया यही प्रान्तबाट अंग्रेजकालमा कोलकाता भित्रिएको र भारत विभाजनपछि कराँची गएका थिए । अन्यत्र नभित्रिएर सिन्ध प्रान्तमै रहेका मसकटियाहरू मुस्लिम हुन् । भारतका कुनै पनि स्थानमा वा पाकिस्तानका कुनै पनि ठाउँमा रहेका मसकटिया सिन्धी हुन । धेरै सिन्धी हिन्दु पनि छन्, तर मसकटिया हिन्दु छैनन् । सिन्ध प्रान्त संसारको सबैभन्दा पुराना र समृद्ध मानवीय बसोबास भएको स्थानमध्येको एक हो । यो प्रान्त आफ्नो विशेष भक्ति भजन सुफी संगीतका लागि समेत प्रसिद्ध छ । इतिहास हेर्ने हो भने सुफी र फकिर फरक ढंगका, तर समान उद्देश्यका लागि प्रेरित देखिन्छन् । जुन तत्कालीन समयमा समृद्धिका कारण सिन्धमा सम्भव थियो । यसैगरी, सुफीको परम्परागत घार काफी संगीत हो । यो पनि सिन्धकै उपज हो । सिन्ध क्षेत्र धेरै फकिर, सन्त, कवीर र संगीतज्ञहरूको भूमि मानिन्छ ।

फकीर अरबी शब्द फकरबाट आएको हो, जसको शाब्दिक अर्थ गरिब हो । यसैले इस्लाममा सुफी सन्तहरूलाई फकिर भनियो किनकि उनीहरूमध्ये पूर्व र दक्षिण एसियामा गरिब र पीडादायी जीवन बिताउने आमजनताको भलाइका लागि प्रयास र प्रार्थना गर्थे ।

पछि, यो शब्द उर्दू, बंगाली र हिन्दी भाषाहरूमा पनि प्रचलित भयो र यसको शाब्दिक अर्थ भीख मागेर वा भीक्षा ग्रहण गरेर जीवन चलाउने व्यक्ति भयो । जसरी हिन्दुहरूमाझ बौद्ध भिक्षुले तथा स्वामी र योगीहरूले सामाजिक ओहोदा पाउँथे, त्यस्तै मुस्लिमहरूमा पनि फकिरहरूलाई समान दर्जा दिइन्थ्यो । यति मात्र होइन, इतिहासकारहरूले युनानी सभ्यताको आधारमा इशापछिको चौथो शताब्दीताकाका नागा र मुगलकालका फकिरहरूलाई समान सम्मान दिएका छन् ।

सम्भवतः यी बाबा मसकटिया एक फकिर र सन्त थिए । ज्ञानको खोजीमा यी सन्त, सिन्धबाट बाबा मसकटिया भएर नेपाल आइपुगे । यहाँ आएपछि अपभ्रंश हुँदै गएर यिनको नाम मुसबेटवा रहन गएको सम्भावना प्रबल देखिन्छ, किनकि नजिकैको नेपालगन्ज र लखनउमा समेत मसकटिया भेटिँदैनन् । नेपालका र भारतका धेरै मुस्लिमलाई मसकटिया थरबारे जानकारी छैन । तर यो यथार्थ हो । मसकटिया बाबासँगै चिहान रहेको यादव थरका हिन्दुको नाम कसैलाई थाहा छैन । अनुमान मात्र गर्ने हो भने यी हिन्दु सन्त बटोही, बेटवा वा बिदुवा यादव जस्ता नामका हुन सक्छन् । प्रकारान्तरमा यी दुवै बाबालाई संयुक्त सम्बोधन गर्दा मसकटियामा बटोही,बेटवा वा बिदुवा जोडेर मुसबेटवा नाम रहन गएको सम्भावना छ । तर यीबाहेक बाबाको नाम मुसबेटवा हुनाका वैज्ञानिक र तथ्यगत मौखिक प्रमाणसमेत फेला परेको छैन । मसकटिया, इतिहास बोकेको सिन्धी हो । मुसबेटवाको इतिहास भेटिँदैन । अनुमान गर्ने हो भने मजारमा रहेका मुस्लिम सन्त मसकटिया नै हुन् । यदि मुसबेटवा हो भने दुवै सन्तको नाम जोडेर बनाइएको नाम हो भन्ने बुझ्नु पर्दछ ।

संसारकै अत्यन्तै दुर्लभ र उदाहरणीय यो ठाउँको विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाउने तयारी गरिरहेको छ । यो स्थानको व्यापक प्रचारप्रसार गर्न सकिए यहाँ आउने पर्यटक र श्रद्धालुले समग्र खजुराको भविष्य नै उज्ज्वल र बन्न सक्ने निश्चित छ । यसका लागि तत्काल मसकटिया ताल र चौरको संरक्षण, मसकटिया क्षेत्रको बृहत्तर विकास र मसकटिया बाबाको मजारको भव्य पुनर्निर्माण लागि अघि बढ्नुपर्ने आवश्यकता गाउँपालिकाले महसुस गरेको छ । हिन्दु र मुस्लिमबीच देखिने अतुलनीय सौहार्दता र भाइचाराको अनुपम उदाहरण प्रस्तुत गरिरहेको मिजार क्षेत्रलाई सभ्य र भव्य बनाउन गाउँपालिकाले अध्ययन अनुसन्धान सुरु गरिसकेको छ ।
शेक्सपियरको विश्व प्रसिद्ध नाटक रोमियो एन्ड जुलियटमा, जुलियटको एउटा भनाइ छ, नाममा के छ ? जसलाई हामी गुलाब भन्छौं, कुनै पनि अन्य नामले पुकारौ मिठो सुवास नै मिल्नेछ ।