संयुक्त राष्ट्रसंघले भन्यो– तालिवानविरुद्ध प्रदर्शन गर्नेमाथि गोली ?

संयुक्त राष्ट्रसंघले भन्यो– तालिवानविरुद्ध प्रदर्शन गर्नेमाथि गोली ? तरुण खबर ४ भाद्र २०७८, शुक्रबार १०:१९
संयुक्त राष्ट्रसंघले भन्यो– तालिवानविरुद्ध प्रदर्शन गर्नेमाथि गोली ?

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको एउटा दस्तावेजमा तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको बताएको छ । उक्त दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको खोजतलास गरेको र उनीहरूका परिवारका सदस्यहरूलाई धम्क्याएको उल्लेख छ अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । उक्त कट्टरपन्थी इस्लामवादी समूहले शक्ति हातमा लिएपछि अफगानहरूलाई कुनै पनि बदला नलिने भन्दै आश्वस्त पार्ने कोसिस गरेको थियो । तर अहिले पनि सन् १९९० ताकाको तालिबानमा सामान्य मात्र परिवर्तन आएको जस्तो देखिएकाले त्रास पैदा भएको छ ।

तालिबानले विदेशी फौज र पूर्ववर्ती सरकारका “सहयोगीहरू“लाई तारो बनाएको भन्ने चेतावनी राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ (रिप्टो) नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य दस्तावेजमा दिइएको हो । “तालिबानद्वारा तारो बनाइएका व्यक्तिहरू अहिले उच्च संख्यामा रहेका छन् । तिनलाई धम्की दिइएको कुरा स्पष्ट छ– उक्त प्रतिवेदन बनाउने समूहको नेतृत्व गर्ने क्रिश्चियन नेलेमेनले विभिन्न सञ्चार माध्यमसँग भनेका थिए । उनले तालिबानको सूचीमा रहेकाहरू एकदमै धेरै खतरामा रहेको र अफगानिस्तानमा आमहत्या हुनसक्ने चेतावनी पनि दिएका छन् भनी बीबीसीले अनलाइन संस्करणमा समाचार बनाएको छ ।

अहिले अफगानिस्तानमा के भइरहेका छ ?
अफगानिस्तानका कतिपय शहरहरूमा तालिबानविरोधी प्रदर्शन भएका छन् । राजधानी काबुलमा प्रदर्शनकारीले अफगानिस्तानको राष्ट्रिय ध्वजा लिएर प्रदर्शन गरेका छन् । असादाबादमा चाहिँ प्रदर्शनकारीहरूमध्ये केही मारिएको खबर छ । अमेरिकी जहाजमा झुण्डिएर जान खोज्ने र खसेर निधन हुनेमध्ये एकजनाको पहिचान भएको छ । उनी १९ वर्षीय जाकी अन्वारी रहेका छन् । उनले अफगानिस्तानको राष्ट्रिय युवा फुटबल टीमबाट खेलेका थिए । विदेशी शक्तिहरूले अफगानिस्तानबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यलाई निरन्तरता दिएका छन् । अमेरिकाले अगस्त १४ यता ७ हजार जनालाई उद्धार गरेको जनाएको छ । काबुल विमानस्थल बाहिर अवस्था अस्तव्यस्त नै रहेको छ । तालिबानले भाग्न खोज्ने अफगानहरूलाई रोकिरहेको छ । एउटा भिडिओमा एउटा बालकलाई अमेरिकी सैनिकलाई सुम्पिदैँ गरेको देखिएको छ ।

तालिबानले अमेरिकामा निर्मित हजारौँ बख्तरबन्द गाडीहरू नियन्त्रणमा लिएको छ । त्यस्तै उसले ३० देखि ४० वटासम्म जहाज र ठूलो मात्रामा साना हतियारहरू पनि नियन्त्रणमा लिएको अमेरिकी अधिकारीहरूले रोयटर्सलाई बताएका छन् । तालिबानले गत आइतवार काबुल कब्जा गरेको थियो । उसले विदेशी सेनाले देश छाडेपछि अफगानिस्तानभरि नियन्त्रण कायम गर्न थालेको थियो ।

उक्त विजयले उनीहरूलाई २० वर्षपछि पुनः अफगान शक्तिको केन्द्रमा ल्याइदिएको छ । २० वर्षअघि अमेरिकी नेतृत्वको फौजले उक्त समूहलाई सत्ताच्यूत गराइदिएको थियो । पहिले शक्तिमा रहँदा तालिबानले सार्वजनिक स्थलमा मृत्युदण्ड दिने र महिलाहरूलाई पढ्न तथा काम गर्न नदिनेजस्ता गतिविधि गरेको थियो । तर यसपटक काबुलमा नियन्त्रणपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले इस्लामिक कानुन अन्तर्गत नै महिलाको अधिकारलाई सम्मान गर्ने बताएका थिए । तालिबानले आन्तरिक र बाह्य कुनै पनि शत्रु नचाहेको बताएको छ ।
त्यस्तै उसले विदेशी शक्ति र पूर्ववर्ती सरकारमा रहेर काम गरेका सबैलाई आममाफी दिने बताइसकेको छ । तर अन्तर्राष्ट्रिय शक्ति र कैयौँ अफगानहरू अहिले पनि तालिबानमाथि शङ्का गरिरहेका छन् ।