बाँकेको खजुरा गाउँपालिका–६ को सिँचाइ नै पहिलो आवश्यकता हो

बाँकेको खजुरा गाउँपालिका–६ को सिँचाइ नै पहिलो आवश्यकता हो तरुण खबर ५ भाद्र २०७८, शनिबार ०९:१८
बाँकेको खजुरा गाउँपालिका–६ को सिँचाइ नै पहिलो आवश्यकता हो

साविर जोलाह
बाँके जिल्लाको खजुरा गाउँपालिकाको वडा नम्बर ६ साविकको उढरापुर गाविसका वडा नम्बर २, ६ र ७ मिलाएर बनाइएको हो । मंगलपुर, गिजरा, पुरेना, पुरेना ऐलानी, शान्तिनगर, चौधरी टोल यहाँका प्रमुख बस्ती हुन् । करिब पाँच हजार ४८५ जनसंख्या रहेको यो वडामा पुनर्वास क्षेत्रमा जस्तो विकसित बस्ती नभएकाले चौडा र समानान्तर बाटोको समस्या छ । बाटो प्रायः कच्ची नै छ, भएका बाटो पनि २ मिटरदेखि ८ मिटरसम्मका मात्र छन् । हामीले टोल भेला बोलाउँदा सबैको एउटै माग हुन्छ– भएका सडक सुधार गर्नुप¥यो, नयाँ सडक बनाउनुप¥यो । त्यसैले गाउँपालिकाबाट आएको बजेटमध्ये धेरैजसो सडक मर्मतमै खर्च हुन्छ । पहिलो वर्ष एक करोड २३ लाख आएको थियो ।

यो वर्ष ७० लाख मात्र आएको थियो । हामीले बजेट वितरण गर्दा वडा सदस्यहरूको सामूहिक भेला गरी आवस्यकता पहिचान सहित बजेट वितरण गर्छौं । टोलको भेलाबाट आएको सुझावलाई महत्वका साथ राखी प्राथमिकता निर्धारण गर्छौं । यो वडामा दुईवटा माध्यमिक स्कुल, एक आधारभूत विद्यालय र तीनवटा मदरसा छन् । उढरापुरमा ६ वटा मदरसा चलिरहेका छन् । अहिले मदरसाहरूले पनि सामुदायिक स्कुलमा जस्तै कोर्सका किताब पढाउनुपर्छ । बिजरा टोलको भानु मावि र चमारन टोलको जनसेवा मावि जिल्लामै नाम चलेका स्कुल हुन् । खजुरा गाउँपालिकाका प्रायः सबै वडामा अहेवको दरबन्दीसहित स्वस्थ्य चौकी छन् । गाउँपालिकाकै सबैभन्दा ठूलो सामुदायिक वन गिजरा यही वडामा पर्छ । श्री गिजरा सामुदायिक वनले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार पाएको छ । दलितहरूको बाहुल्यता रहेको यो वडामा ५० प्रतिशत जनसंख्या दलितकै छ ।

करिब २७ प्रतिशत मुस्लिम रहेको यो वडामा मगर, थारु, गुरुङ र बाहुन क्षेत्री पनि छन् । जातीय सहिष्णुता यहाँको सुन्दर पक्ष हो । खानेपानीका लागि ह्यान्ड पम्प प्रचलनमा छ, तर यसको विकल्प सोच्नुपर्ने अवस्था छ । किनभने सय फिटसम्मको पानी पिउनका लागि सुरक्षित मानिँदैन । सय फिटभन्दा तलको पानी निकाल्ने क्षमता सर्वसाधारणको नहुने भएकाले गाउँपालिका र प्रदेश सरकारले समयमै योजना बनाउनुपर्छ भन्ने लाग्छ । अहिले गिजरामा ठूलो पानीट्यांकी बनाइएको छ । त्यसबाट साविक २ नम्बर वडामा पानी वितरण गर्ने योजना छ । त्यसपछि घरघरमा धारा पु-याउन सकिएला कि (?) भन्ने लाग्छ ।

यहाँका किसानहरूको आयआर्जनको मुख्य स्रोत धान र तरकारी खेती नै हो । तर सिँचाइको अभावमा किसानले प्रशस्त उत्पादन गर्नसकेका छैनन् । जीवन निर्वाह मात्र गरिरहेका छन् । जग्गा–जमिनमा ठूलो असमानता छ । कसैको धेरै जग्गा छ, कसैको घरघडेरी मात्रै पनि छ । यो असमानताले धेरै कुरामा प्रभाव पारिरहेको हुन्छ । वडाका अठार बीस प्रतिशत युवाहरू वैदेशिक रोजगारीमा गएका छन् । वडा नम्बर ६ को मंगलपुर र कुरैनाको बीच भागको २२ बिघा जग्गामा औद्योगिक ग्राम राख्ने कुरा अन्तिम चरणमा चलिरहेको छ । औद्योगिक ग्राम स्थापना हुँदा स्थानीयले रोजगारी पाउने अवस्था सिर्जना हुन्छ ।
(खजुरा गाउँपालिका–६ का वडाअध्यक्ष साविर जोलाहसँग भएको कुराकानी)