शिक्षा क्षेत्रमा मात्रै ५ अर्ब ६३ करोडको बेरुजु औंल्यायो महालेखाले

शिक्षा क्षेत्रमा मात्रै ५ अर्ब ६३ करोडको बेरुजु औंल्यायो महालेखाले तरुण खबर ६ भाद्र २०७८, आईतवार ०९:४०
शिक्षा क्षेत्रमा मात्रै ५ अर्ब ६३ करोडको बेरुजु औंल्यायो महालेखाले

जनपुधामबाट राम भरत साह

जनकपुरधाम । प्रदेश नम्बर २ का अधिकांश स्थानीय निकायद्वारा दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता गरेको पाइएको छ । २ नम्बर प्रदेशका प्रायःजसो स्थानीय निकायले सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि सञ्चालित दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता गरेको पाइएको हो । कोभिड–१९ को लकडाउन अवधि २०७६ चैत ११ गतेबाट विद्यालय बन्द रहेको अवस्थामा समेत देशभरका ४१ वटा स्थानीय निकायहरूले विद्यालयलाई रकम निकासा गरेको छन्, जसमा अधिकांश प्रदेश दुईका स्थानीय निकाय रहेको पाइएको छ ।

शिक्षा क्षेत्रमा मात्रै ५ अर्ब ६३ करोड बेरुजु रहेकामा मन्त्रालय मातहतका त्यस्ता संस्थामा ५ अर्ब ४३ करोड बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । मन्त्रालय मातहतका निकायमा भने २० करोड मात्र बेरुजु देखिएको छ । त्यस्तै, धनुषा, सिरहा र रौतहटका २८ वटा नगरपालिकाले मात्रै विद्यालय बन्द भएका बेला विद्यार्थीको दिवा खाजा कार्यक्रमका लागि १४ करोड २१ लाख ६८ हजार ५ सय ८२ रुपैयाँ निकासा गरेको महालेखाले औंल्याएको छ । प्रदेश २ का गाउँपालिका सहित ४१ वटा स्थानिय तहले विद्यालय खाजा कार्यक्रममा अनियमितता गरेका हुन् शिक्षा स्रोतले बतायो ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार धनुषा जिल्लाका सबैला नगरपालिकाले १ करोड १३ लाख, गणेशमान चारनाथ नगरपालिकाले ८१ लाख, सिरहाको सिरहा नगरपालिकाले १ करोड ३८ लाख, रौतहटको फतुहा विजयपुर नगरपालिकाले ९७ लाख, गरूडा नगरपालिकाले ७७ लाख गरि देशभरका २८ नगरपालिकाहरूले २०७७ बैशाख, जेष्ठ र असार महिनामा वास्तविकता यकिन नगरी दोस्रो तेस्रो चौमासिकको सबै दिवा खाजा १४ करोड २१ लाख ६८ हजार ५ सय ८२ रूपैयाँ विद्यालयहरूलाई निकासा गरेको देखिन्छ ।

सबैभन्दा बढी २ नम्बर प्रदेश सरकारको खाजा कार्यक्रममा व्यपक अनियमितता

त्यस्तै, विधि दुर्गा भवानी गाउँपालिका रौतहटले १ करोड २१ लाख ७१ हजार, यमुनामाई गाउँपालिका, रौतहटले ७४ लाख ९९ हजार, छिन्नमस्ता गाउँपालिका, सप्तरीले ५९ लाख ६८ हजार, जनकनन्दनी गाउँपालिका, धनुषाले ५५ लाख ९६ हजार, कोडैना गाउँपालिका, सर्लाहीले ५४ लाख ७२ हजार समेत गरि कूल १३ वटा गाउँपालिकाहरूले १ सय ६६ वटा विद्यालयहरूलाई २०७७ सालको बैशाख ,जेष्ठ र असारमा मात्र दोस्रो र तेस्रो चौमासिकको दिवा खाजा बापत ६ करोड ३ लाख ५६ हजार रकम निकासा गरेको प्रतिवेदनमा उल्लेख छ । दिवा खाजा वापतको रकम विद्यालयलाई भुक्तानी दिंदा अभिभावकहरूलाई नगद वितरण गर्ने व्यवस्था नभएता पनि रौतहट जिल्लाको परोहा नगरपालिकाले अभिभावकहरूलाई १ करोड १७ हजार नगदै उपलब्ध गराएको समेत प्रतिवेदनमा उल्लेख भएको छ ।

त्यस्तै, विधि प्रदेश २ सरकारले भित्ते पत्रिका सम्बन्धि चारवटा गोष्ठीमा मात्र ४८ लाख रूपैयाँ खर्च गरेको छ, जुन रकम नै खर्च नगरि विल मात्र बनाइएको बुझिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रदेशका विभिन्न होटलमा विद्यार्थी, पत्रकार तथा राजनीति दलका कार्यकर्तालाई दिएको तालिममा आब २०७७-०७८ मा ८० लाख रूपैयाँ बिनियोजन गरेको थियोे, जसमध्ये ४७ लाख ७८ हजार ३ सय ६१ रूपैयाँ खर्च भएको मन्त्रायको प्रतिवेदनमा उल्लेख भएको छ । मन्त्रालयका उपसचिव अवध किशोर कुशवाहाका अनुसार दुई वटा गोष्ठीमा दुई जिल्लाबाट २५÷२५ जनालाई सहभागी गराइएको थियो ।

बाराको निजगढको गोष्ठीमा पर्सा र रौतहट, रौतहटको चन्द्रनिगाहपुरको गोष्ठीमा बारा र सर्लाही, महोत्तरीको बर्दिवासको गोष्ठीमा धनुषा, सप्तरी र धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थित पूर्व आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादवको रिसोर्टमा आयोजित गोष्ठीमा सिरहा र महोत्तरीका विद्यार्थी, पत्रकार र राजनीति दलका कार्यकर्ता सहभागी गराइएका थिए । विशेष गरेर सामाजबादी पार्टीका युवाहरूलाई खोजिएको, पत्रकार तथा प्रशिक्षकहरूले प्रशिक्षण दिएको प्रत्येक गोष्ठी ५ दिने हुने गरेको थियो । आवास तथा भत्तामा अधिक रकम खर्चिने गरेको उपसचिव कुशवाहाले जानकारी दिएका छन् । ५० जना भनिए पनि ३०÷३५ जनाको संख्या भन्दा बढी कुनै पनि गोष्ठीमा सहभागी नदेखिएको उक्त कार्यक्रममा एक सहभागीले जानकारी दिएका छन् । सहभागीलाई आवास, खाना र दैनिक एक हजार भत्ता उपलब्ध गराइएको थियो ।