तरुण खबर
७ भाद्र २०७८, सोमबार ०९:३४
काठमाडौं । नेपालमा मनाइने विभिन्न किसिमका जात्रा, चाड पर्व गएको वर्षदेखि नै आम नेपाली कोरोना भाइरसको संक्रमणका कारण दिल खोलेर मनाउँन पाएका छैनन् । यस वर्ष पनि संक्रमण बढेका कारण विधिमा मात्र सीमित हुने भएको छ । सापारु काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ सापारु पर्व मनाइन्थ्यो । सापारु नेपाली समाजको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ । तर एक संस्कृतिविद्ले प्रताप मल्लको शासनकालभन्दा ३०० वर्षअघिबाटै उक्त पर्व मनाउन थालिएको बताएका छन् । यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन् । संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगः पछिल्ला वर्षहरूमा गाईजात्रालाई हास्यव्यङ्ग्यसँग बढी जोडिए पनि यो पर्व त्योभन्दा बृहत् रहेको बताएका छन् ।
उनले भने– हिन्दू धर्ममा गाईलाई पवित्र जनावर मानिन्छ । हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ । मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो । नेवारी भाषामा यो पर्वलाई सापारू भनिन्छ । ’सा’ को अर्थ गाई र ’पारू’ को अर्थ प्रतिपदा तिथि हो, जुन दिन यो चाड मनाइन्छ ।
नेपाली समाजमा सापारु व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । सापारुमा नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुमाइने चलन छ । यस दिन भजन कीर्तन पनि गरिन्छ । सापारु नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सापारु पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ । तर कोरोना संक्रमणका कारण विधि मात्रका लागि गाई जात्रा पर्व मनाइने छ ।
ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएका थिए । यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ । यसै बेलादेखि प्रचलनमा आएको सापारु हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ ।
कसरी मनाइन्छ गाई जात्रा ?
सापारु भनेर मनाउने यस पर्व नेवारहरूको मौलिक पर्व हो । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन् । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि सापारु पर्व मनाउने गरिन्छ । हिन्दुधर्म अनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा सापारु निकालेपछि यमलोकको ढोका खुल्ने छ भनिएको छ । मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
दिवङ्गत भएका आफन्तको सम्झनामा सापारुका सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन पनि रहिआएको छ । यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाईने चलन छ । सापारुका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोराजनात्मक तथा व्यङग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङक प्रकाशित गर्ने चलन पनि बढेको पाइन्छ । सापारु पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा पनि मनाइन्छ ।
भक्तपुरको घिन्ताङघिसि
हरेक ठाउँका सापारुमा केही न केही विशेषता रहेका छन् । भक्तपुरमा पनि सापारुका छुट्टै रौनक र आकर्षण रहने गरेको छ । प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्व भक्तपुरमा आठदिनसम्म चल्दछ । गाईलाई विधिवत रूपमा नगर परिक्रमा गराएमा दिवंगतआत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ । भक्तपुरमा सापारुका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात डोकोलाई गाईको रूपमा सिंगारेर नगर परिक्रममा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरूको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।
ताहामच्चालाई मृतकका घरको मुल ठोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधि बमोजिम पूजा गराइ नगर परिक्रमा गर्ने गरिन्छ । ताहामचा र साँचा बनाउने यस पर्वको एउटा विषेशता हो भने घिन्ताङघिसि र माकः प्याखङ सापारुको प्रमुख आकर्षण रहेको छ । विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुस्याः बाजाका साथ ताहामच्चासगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ । दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई घिन्ताङघिसि भनिन्छ भने एक जनाले दुई वटा लठ्ठी जुधाई नाच्नेलाई बाँदर नाच भनिन्छ ।
भक्तपुरमा सापारुको दिन र त्यस पछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङगात्मक नाटक साँस्कृतीक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ । । तलेजु भवानीको तहामच्चाको नगर परिक्रमाबाट सापारु शुरु हुन्छ भने बेलुका पख भैरव र भद्रकालीको तहामच्चा ल्याएपछि समाप्त हुन्छ । गाइजात्राको भोलिपल्ट ललितपुरका बौद्ध धर्मावलम्बी नेवार समुदाय मत्या जात्रा मनाउँने प्रचलन छ ।


