७.५ मेगावाटको तेह्रथुम पावरको आइपीओ आजैदेखि वितरण हुने

७.५ मेगावाटको तेह्रथुम पावरको आइपीओ आजैदेखि वितरण हुने तरुण खबर ९ भाद्र २०७८, बुधबार ०९:२४
७.५ मेगावाटको तेह्रथुम पावरको आइपीओ आजैदेखि वितरण हुने

काठमाडौं । तेह्रथुम पावर कम्पनीले आज भदौ ९ गते, बुधबारदेखि सर्वसाधारण लगानीकर्ताका लागी प्राथमिक सेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । ७.५ मेगावाट उत्पादन क्षेमता भएको कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हाल उक्त तेह्रथुम पावर कम्पनीको अधिकृत पुँजी ४० करोड, जारी पुँजी ४० करोड र चुक्ता पूँजी २८ करोड रुपैयाँ छ । स्थानीय बासिन्दा र सर्वसाधारणमा सेयर बिक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी ४० करोड पुग्ने कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिएका छन् । आयोजनामा माछापुछ्रे बैंकको अगुवाइमा नेपाल बंगलादेश बैंक, जनता बैंकले क्रमशः ४० करोड, ३० र ३० करोड लगानी रहेको छ । शेयर निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोष र बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा भदौ २३ गतेसम्म आवेदन दिन मिति लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्मका लागी आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ रेटिङ्गमा इक्रा नेपालले इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ । यसअघि कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।