टुंगियो क्रियाशील सदस्यको विवाद, निधारित मितिमै महाधिवेशन हुने सम्भवना

टुंगियो क्रियाशील सदस्यको विवाद, निधारित मितिमै महाधिवेशन हुने सम्भवना तरुण खबर ९ भाद्र २०७८, बुधबार ०९:२५
टुंगियो क्रियाशील सदस्यको विवाद, निधारित मितिमै महाधिवेशन हुने सम्भवना

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको तयारी स्वरुप क्रियाशील सदस्यको डेढ वर्षपछि टुंगो लगाइएको छ । रमेश लेखक नेतृत्वले टुंग्याउँन नसकेपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मीनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले क्रियाशील सदस्यताका विषयमा देखिएका बाँकी विवादलाई सोमबार टुंगो लगाएका थिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सो समितिले सोमबार नै प्रतिवेदन बुझाएका थिए ।

यससँगै कांग्रेसको क्रियाशील सदस्यताको विवाद किनारा लागेको दावी गरिएको छ । यसअघि नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । रमेश लेखक नेतृत्वको समितिले साउन १२ गते पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो । पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा जारी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो ।

पदाधिकारी बैठकमा पेश भएको विवरण अनुसार काँग्रेसका क्रियाशील सदस्यको संख्या ८ लाख ५० हजार पुगेको छ । ४ लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिएका छन् भने ४ लाख ९ हजारको नवीकरण भएको छ । सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना छन् ।

पदाधिकारी बैठकमा पेश भएको विवरण अनुसार काँग्रेसका क्रियाशील सदस्यको संख्या ८ लाख ५० हजार पुगेको छ । ४ लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिएका छन् भने ४ लाख ९ हजारको नवीकरण भएको छ । सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना छन् ।

यसैबीच, काँग्रेसले १३ माघ, ०७६ मा पहिलो पटक महाधिवेशनको कार्यतालिका ल्याउँदा चार महिनाभित्र अर्थात् ०७७ जेठ मसान्तभित्र क्रियाशील सदस्यताको टुंगो लगाउने मिति तोकेको थियो । तर, त्यसको १५ महिना ढिला गरी सदस्यताको टुंगो लगाएको छ । यसबीचमा सदस्यताकै कारण तीनपटकसम्म तोकिएको मितिमा महाधिवेशन हुन सकेन भने नेताहरूले त्यस्तो कार्यतालिकामा दर्जनौँ पटक हेरफेर गरेका थिए ।

१३औँ महाधिवेशनमा पनि नरहरि आचार्य नेतृत्वको समितिले छ महिना लगाएर छानबिन गर्दा समेत ५० हजार सदस्यको सदस्यता विवाद टुंगो लाग्न सकेको थिएन । अहिले पनि दुई सयभन्दा धेरै वडामा विवादकै कारण नयाँ सदस्यता वितरण रोकिएको थियो । क्रियाशील सदस्य नै काँग्रेस महाधिवेशनका मतदाता हुन् । त्यसैले, अधिवेशन हुने सातवटै तहमा मताधिकार प्रयोग गर्न र उम्मेदवार बन्न आवश्यक पर्ने पहिलो सर्त नै क्रियाशील सदस्यता हो । विधानअनुसार ती सदस्यको नवीकरण र वितरण हरेक वर्ष हुनुपर्ने हो ।

तर, काँग्रेसले विधानको त्यस्तो व्यवस्थालाई हरेक पटक निलम्बन गर्दै महाधिवेशनको मुखमा मात्रै सदस्यता नवीकरण र वितरण गर्ने गरेको छ । सदस्यताको विवाद टुंगिएपछि काँग्रेसलाई अब महाधिवेशनका अन्य प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । नेताहरूले सदस्यताको टुंगो लाग्नुलाई ६० प्रतिशत महाधिवेशनको प्रक्रिया पूरा भएको रूपमा व्याख्या गर्ने गरेका छन् ।