नेपालकै भूस्वर्ग खप्तड

नेपालकै भूस्वर्ग खप्तड परशु घिमिरे १० भाद्र २०७८, बिहीबार ०९:०५
नेपालकै भूस्वर्ग खप्तड

परशु घिमिरे

१४० वर्षअघि जन्मिएर भारत प्रशासित कश्मीरमा हुर्किएका एक इन्जिनियर युवालाई जीवन र जगतको सूक्ष्म खोजले लोभ्यायो । संसारमा देखिएका वा देखिने चीज–वस्तु मात्र जीवन हो वा जीवनको गहिराइ देखिने भन्दा भोगिने वा अनुभूत गरिने तत्वमा निर्धारित हुन्छ त ? यिनै प्रश्नको जवाफमा भौंतारिएका ती युवाले आत्मज्ञानको खोजीमा देश–विदेशको चक्कर लगाउन थाले ।

प्राकृतिक सुन्दरताका हिसाबले संसारकै उत्कृष्टमध्येको एक कश्मीर क्षेत्रमा हुर्केबढेका ती युवाले त्यति नै उत्कृष्ट वा त्योभन्दा पनि सुन्दर र आध्यात्मिक स्थान कतै फेला पार्न सकेनन् । अन्तत भौतारिदै भौंतारिदै सुदूरपश्चिमको फराकिलो फाँट नै फाँट पाटन भएको स्थानमा पुगे । त्यहाँ पुगेपछि यिनले यो स्थान नै प्राकृतिक सुन्दरता र आध्यात्मिक चिन्तनका लागि विश्वमै सर्वोत्कृष्ट रहेको ठहर गरे र त्यही स्थानमा ध्यानमा बसे ।

तिनै कश्मीरका सन्तानका कारण त्यो स्थान खप्तड रूपमा र ती व्यक्ति खप्तड स्वामीका रूपमा चर्चित भए । यी विदेशीलाई विदेशले बिर्सियो, तर नेपालले नेपाल पुत्रकै रूपमा खप्तड स्वामीको दर्जा दिएर सधैंका लागि अपनायो । खप्तड पुग्ने जोकोहीले प्राकृतिक सुन्दरताको पराकाष्टा के हो त ? सहजै अनुभव गर्न सक्छन् ।

खप्तड राष्ट्रिय निकुञ्ज
– ४६ प्रजातिका जीवजन्तु, २८७ प्रजातिका चरा र ५६७ प्रजातिका वनस्पति
– बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थल
– २२५ वर्गकिलोमिटर क्षेत्रफल
– २०४२ सालमा स्थापना
– समुद्र सतहबाट २४०० मिटरदेखि ३७०० मिटरको उचाइमा

नेपालको सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, डोटी र अछाम चार जिल्लाको संगमस्थल हो खप्तड । हिउँदमा हिउँले सेताम्मे हुने यो ठाउँ यतिबेला हरियालीले छपक्कै हुन्छ । वैशाखदेखि असारसम्म यहाँका फाँटहरू रंगीचंगी फूलहरूले ढाकिन्छन् । खप्तड क्षेत्रको मुख्य विशेषता भनेकै विशाल फाँटहरूमा फुल्ने फूलहरू हुन् । ठूला–साना गरी २२ वटा फाँट पनि यहाँको अर्को आकर्षण हो, यी फाँटहरूमा मौसमी रंगिविरंगी पूmलहरू फुल्छन् । निकुञ्जमा ४६ प्रजातिका जीवजन्तु, २८७ प्रजातिका चरा र ५६७ प्रजातिका वनस्पति पाइन्छन् । अर्थात् प्राकृतिक सुन्दरताको अनुपम उपहार हो खप्तड । खप्तडबाबाको आश्रम, नजिकै देखिने हिमाली दृश्यले खप्तडको यात्रालाई यादगार र रोमाञ्चक बनाउँछ । यस अर्थमा खप्तड राष्ट्रिय निकुञ्ज र सोक्षेत्र आध्यात्मिक, धार्मिक, जैविक र प्राकृतिक सम्पदाको बेजोड थलो हो भन्न सकिन्छ ।

सुदूरपश्चिमको भूस्वर्ग खप्तड
सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड आजभन्दा ९१ वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ हो । त्यसैले तालतलैया, मन्दिर र ठाउँको नामसमेत खप्तड राखिएको छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन् । खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, सहस्रलिंग गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिकस्थल निकै प्रख्यात छन् । खप्तड बाबाको कुटी भने खप्तड राष्ट्रिय निकुञ्जभित्रै छ । सदीयौंदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन् । त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन् ।

खप्तड बाबा नामबाट खप्तड राष्ट्रिय निकुञ्ज नामाकरण गरिएको छ, जसको क्षेत्रफल २२५ वर्गकिलोमिटर छ । यो निकुञ्ज २०४२ सालमा स्थापना गरिएको हो । यो निकुञ्ज भूगोलको बनावट, प्राकृतिक सुन्दरताको हिसाबले संसारकै राम्रो स्थानमा पर्दछ । समुद्र सतहबाट २४०० मिटरदेखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ, १२ हजार फिट अग्लो खप्तड लेक । खप्तड लेकमात्र थियो, पहाडमात्र थियो, जंगलमात्र थियो, तर आज सौभाग्यले खप्तड बाबा बनेको छ । खप्तडसँग बाबा गाँसिएका छन्, बाबासँग खप्तड गाँसिएको छ । खप्तडमा चेतना पलाएको छ ।

कश्मीरमा बसोवास गर्ने नेहरू परिवारमा जन्मिएर कोलकात्ताको ट्रपिकल मेडिकल कलेजबाट एमबीबीएस गरेका खप्तड बाबा सन्न्यास लिनुपूर्व प्रसिद्ध चिकित्सक थिए । बेलायतबाट सर्जनको अध्ययन गरेका थिए भने काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन–अध्यापनपश्चात् गहन साधनाका लागि उनले नेपालको खप्तड लेक रोजेका थिए । वि.सं १९३७ मा जन्मिएका स्वामीलाई श्री १००८ स्वामी परमहंस परिव्राजकाचार्य योगीराज श्रोत्रिय ब्रह्मनिष्ठ पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका ज्ञाता एवं जीवनमुक्त महात्मा सच्चिदानन्द सरस्वतीका नामले समेत चिनिन्छ । जनताले जानेको नाम हो, श्री खप्तड बाबा ।

निकुञ्जमा ४६ प्रजातिका जीवजन्तु, २८७ प्रजातिका चरा र ५६७ प्रजातिका वनस्पति पाइन्छन् । अर्थात् प्राकृतिक सुन्दरताको अनुपम उपहार हो खप्तड । खप्तडबाबाको आश्रम, नजिकै देखिने हिमाली दृश्यले खप्तडको यात्रालाई यादगार र रोमाञ्चक बनाउँछ ।

सुदूरपश्चिम डोटी, बैतडी, बझाङ, अछामतिरका जनता डाक्टर स्वामी, स्वामीबाबा, खप्तडस्वामी भनेर प्रेमले, श्रद्धाले, भक्तिले, आत्मीयताले पुकार्दथे र आफ्नो हृदयदेखि नै श्रद्धासुमन चढाउँथे । खप्तडको ख्याति, सम्मान, इज्जत र लोकप्रियता संसारभर बढेको छ । त्यसैले बाबा खप्तडका भूषण बने । खप्तडलाई हामीले चिनेको पनि बाबाकै कारणले हो । नत्र खप्तडको निगालोमात्र प्रसिद्ध थियो, नलीमात्र प्रसिद्ध थियो । आज खप्तड धार्मिक, भौगोलिक, प्राकृतिक, दार्शनिक हर दृष्टिकोणले पर्यटकीय प्रसिद्ध स्थल बनेर विश्वलाई आकषिर्त गर्दैछ । २०५३ जेष्ठ कृष्ण सप्तमीका दिन खप्तड बाबाको निधन भएको थियो ।

त्यस्तै, खप्तड बाबाका विचार विज्ञान, स्वास्थ्य विज्ञान, धर्म विज्ञान खण्ड १,२,३,४ र धर्म विज्ञान सार–संक्षेप, म र मेरो कर्तव्य, नारी धर्म र पुरूष धर्म, योगविज्ञान, आत्मज्ञान, आरोग्य विज्ञान, वेदान्त विज्ञान र तीनवटा अंग्रेजी पुस्तकसहित जम्मा १६ वटा पुस्तक प्रकाशित भइसकेका छन् । पुस्तकका रूपमा प्रकाशित हुन नसकेका उनकै हस्तलिखित अरु थुपै कृतिहरू पनि खप्तड बाबाका विभिन्न ठाउँमा बनाइएका मन्दिरहरूमा रहेका छन् । यी ग्रन्थहरूले पनि बाबाका विचार, सिद्धान्त, दर्शन र अनुभवलाई उजागर गरेका छन् । वैदिक सिद्धान्त र दर्शनअनुरूपको कर्म, उपासना र ज्ञानलाई नै प्रतिपादन गर्ने यी ग्रन्थहरूमा प्रवेश गरेपछि बाबाको अध्ययन, अनुसन्धान र अनुभव कति महान्, कति गम्भीर, कति स्वाभाविक, कति उपकारी अनि कति अनुकरणीय रहेछन् भन्ने स्पष्ट जानकारी हुन्छ ।

यस युगकै एक असाधारण तपस्वी, अविस्मरणीय समाजसेवी, अपार शास्त्रज्ञ, अकाट्यतर्क प्रवीण एवं अत्यन्त मीठो मधुर वाणी र उज्यालो ओजस्वी मुहार भएका महान् व्यक्तित्व थिए खप्तड बाबा । खप्तड़ बाबा आश्रम खप्तड़ राष्ट्रिय निकुञ्जभित्र पर्छ । खप्तड़ बाबा यही राष्ट्रिय निकुञ्जभित्र पर्ने त्रिवेणीमा बस्दथे ।

कसरी जाने खप्तड ?
नेपालको राजधानी काठमाडौंबाट हवाईमार्गबाट सजिलै कैलालीको धनगढी पनि पुग्न सकिन्छ । तर घुम्न जाने हो सार्वजनिक बसबाट करिब सात सय किलोमिटरको दूरी पार गरेपछि धनगढी पुगिन्छ । खप्तड पुग्ने धेरै बाटो भए पनि डोटीको सिलगढीबाट जाँदा सहज हुन सक्छ । सिलगढी पुग्नका लागि पूर्व–पश्चिम राजमार्गको कैलालीको अत्तरियाबाट नौ घन्टाको बसयात्रा गर्नुपर्छ अथवा नेपालगन्जबाट हवाईजहाजबाट डोटी उत्रिन पनि सकिन्छ ।

सडकमार्ग राम्रो भएकाले काठमाडौंबाट बिहान हिँडेको गाडी साँझ धनगढी सजिलै पुग्छ । सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ । यहाँ २० मैदान मात्र छैनन्, वरिपरि ५३ वटा थुम्काहरू पनि छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ । स्थानीयको किंवदन्तीअनुसार दोस्रो नम्बरका पाण्डव, भीमहरूले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन् ।

०४३ देखि ०६४ सालसम्ममा खप्तड पुग्ने विदेशी पर्यटकको संख्या २५२ थियो । यसैबाट खप्तड मेहनती र जाँगरिलाको गन्तव्य हो भन्ने थाहा हुन्छ । खप्तड जानुभन्दाअघि पाल, स्लिपिङ व्याग, खाना पकाउने सामानसँगै लिएर जानु वेश हुन्छ । साथै, ड्राइफुड पनि बोक्नु राम्रो हुन्छ । यहाँ बास बस्नका चार धर्मशाला भए पनि तिनको उचित व्यवस्थापन अभाव छ । दुई साना होटल मेलामा मात्रै खुल्छन् । सिलगढीबाट बग्लेक हँुदै झिगराना चेकपोस्ट पुग्ने र त्यसपछि सिधा उकालो गएपछि बीचपानी त्यसपछि तीन घन्टाको सीधा बाटो हुँदै खप्तड पुगिन्छ ।