न्हुपुखु अर्थात् रानीपोखरी

न्हुपुखु अर्थात् रानीपोखरी संजीव अधिकारी ११ भाद्र २०७८, शुक्रबार ०९:१०
न्हुपुखु अर्थात् रानीपोखरी

संजीव अधिकारी

न्हुपुखु अर्थात् रानीपोखरी सयौं वर्षअघिदेखि सुन्दर काठमाडौंको पर्यायका रूपमा परिचित छ । साढे तीन सय वर्षभन्दाअघि आफ्नो सन्तान चक्रवर्तिन्द्र मल्लको मृत्युलाई बिर्सन नसकेकी आफ्नी रानीको वेदना कम गर्ने प्रयासस्वरूप तत्कालीन मल्ल राजा प्रताप मल्लले तत्कालका लागि नयाँ मानिएको न्हु (नयाँ) पुखु (पोखरी) निर्माण गराएका हुन् ।

ग्रन्थकुट शैलीमा निर्माण गरिएको रानीपोखरीमा रहेको बालगोपालेश्वरको मन्दिर र रानीपोखरी क्षेत्र विभिन्न समयमा राज्यबाट नै अतिक्रमित भएको इतिहास पाइन्छ । राणा प्रधानमन्त्री जंगबहादुर राणाले यो मन्दिर पुनर्निर्माण गर्दा गुम्बज शैलीमा गराएका थिए भने वि.सं १९९० को महाभूकम्पपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले फरक प्रकारको गुम्बज शैलीमा नै पुनर्निर्माण गराएका थिए । साथै, रानीपोखरी वरपरको तारबार पनि जुद्धशमशेरले नै बनाएका हुन् । २०७२ सालको महाभूकम्पपछि पनि यसलाई कंक्रिटको स्वरूपमा ढाल्ने प्रयास भएको थियो । तर सम्पदा प्रेमीहरू र स्थानीय बासिन्दाहरूको अथक प्रयासबाट हाल रानीपोखरी पूर्ववत् जस्तै स्वरूपमा फर्किएको छ

इतिहासमा रानीपोखरी
– ई.सं. १६६७ जनवरी (७८७ पोहेलागा ४) अर्थात् वि.सं. १७२३ पौष कृष्ण ४ (अमान्तमान) का दिन पोखरीको शिलान्यास
– ई.सं. १६६९ फेब्रुअरी (ने.सं. ७८९ सिलाथ्व १३) अर्थात् वि.सं. १७२५ माघ शुक्ल १३ का दिन पोखरीको बीचको देवलको अग्निहोत्र प्रतिष्ठा
– प्रतिष्ठाका दिनमा ललितपुरका राजा श्रीनिवास मल्लको पनि उपस्थिति
– देवल प्रतिष्ठा गरिसकेपछि मन्दिरको मूलगर्भ गृहमा देवी हरिशंकरी (झंकेश्वरी पनि भनिन्छ) को प्रतिमा प्रतिष्ठा
– प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तिन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । यो पोखरीको निर्माण कार्य करिब पाँच वर्षभित्र सम्पन्न भएको थियो
– ई.सं. १८५० मा ब्रिटिस रेसिडेन्सीमा सर्जन भएर खटिएका एच.ए. ओल्डफिल्ड (जन्मः ई.सं. १८२२— मृत्युः ई.सं. १८७१) नेपाल आएका थिए । उनले रानीपोखरीको बीचमा भएको, मन्दिरलाई जंगबहादुरले ई.सं. १८५१ मा भत्काई ‘इँटा र प्लास्टरको कुरूप संरचना’ बनाएको कुरा लेखेका छन्
– जंगबहादुरले निर्माण गर्न लगाएको मन्दिर ई.सं. १९३४ (वि.सं. १९९०) को महाभूकम्पले क्षति पु¥याएकाले जुद्धशमशेरले गुम्बजाकार शैलीको शिखर मन्दिर निर्माण गर्न लगाएका थिए

रानीपोखरीको पूर्वमा श्री ३ वीरशमशेर राणाले बनाएको घन्टाघर र श्री ३ चन्द्रशमशेरले बनाएको त्रिचन्द्र कलेज, पश्चिममा ऐतिहासिक दरबार हाईस्कूल, उत्तरमा विश्वज्योति चलचित्र भवन र दक्षिणमा रत्नपार्क पर्दछन् । यसको बीचमा रहेको मन्दिर वर्षमा एकदिन भाइटीकाका दिन मात्र सर्वसाधारणका लागि खुला हुन्छ । रानीपोखरीको बीचमा रहेको यो मन्दिर भाइटीकामा दिदी–बहिनी र दाजुभाइ नहुनेहरूले गएर टीका लगाउने स्थानका रूपमा विकास भएको छ ।

इतिहासमा रानीपोखरीको महिमा र गरिमाबारे प्रशस्त चर्चा गरिएको छ । तान्त्रिक विधिमा विशेष रुचि राख्ने राजा प्रताप मल्लले निर्माण गराएको रानीपोखरी पानीका कारणले मात्र नभएर साढे तीन सय वर्षअघि नेपालमा विद्यमान उत्कृष्ट वास्तु तथा शिल्पका लागि पनि घुम्नयोग्य स्थानका रूपमा स्थापित भएको छ । रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वरको मन्दिर, मूलगर्भ गृहमा देवी हरिशंकरी (लक्ष्मी र पार्वतीसहितको अर्धनारीश्वर) को मूर्ति विशेष छन् । काठमाडौँ सहरको मुख्य स्थानमा रहेको रानीपोखरी उपत्यकाको जुनसुकै स्थानबाट पनि सहजै पुग्न सकिन्छ ।

यो मानवनिर्मित ऐतिहासिक पोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर रहेको छ । यो पोखरीले ६२ रोपनी १३ आना जग्गा समेटेको छ । रानीपोखरी निर्माण गर्दा कालिमाटीे विशेष रूपमा प्रयोग गरिएको छ । कालिमाटी आफैंमा चिसो हुने, पानी जम्मा पारेर राख्ने, पोखरीलाई चर्कन नदिने, पानी चुहिनबाट रोक्ने र अतिकम मात्र क्षयीकरणीय हुने जस्ता कालीमाटीमा विद्यमान गुणको पहिचानले पनि नेपालको परम्परागत ज्ञान र सीपको उत्कृष्टतालाई बुझ्न पनि रानीपोखरीको निर्माण विधिबाट स्पष्ट हुन्छ ।

पोखरी निर्माण गर्दा पिंधको सतहमा विभिन्न तह र पोखरीको गाह्रोको बाह्यतर्फ कालिमाटीको प्रयोग गर्ने गरेको मध्यकालीन पोखरीहरूमा पाइन्छ । त्यसैअनुरूप यो पोखरीको पानी जम्ने सतहभन्दामुनि विभिन्न तहमा २ इन्च देखि ४ इन्चसम्म मोटाइको कालिमाटीको सतह र पोखरीको गाह्रोको बाह्यतर्फ २ फिट मोटाइसम्मको कालीमाटीको सतह निर्माण गरिएको उत्खननबाट देखिएको छ ।

रानीपोखरीमा जम्ने पानीलाई स्थायित्व दिन पोखरीका चारै कुनामा ढुंगेधारा बनाइएको थियो । ती ढुंगेधाराहरूबाट निस्किएका पानी र वर्षात्को पानी पोखरीमा प्रवेश गराउन अपनाइएका परम्परागत ज्ञान एवं पोखरीको पानीको निकास व्यवस्थापनले नेपालको साढे तीन सय वर्षअघिको क्षमतालाई उजागर गर्दछ । साथै जमिनको पिंधमा रहेको जरुवा पानीभन्दा माथि बालुवा र कालोमाटोको विभिन्न सतहहरू बनाई पानी सञ्चय व्यवस्थापनमा पाइने परम्परागत प्रविधिको प्रयोगले रानीपोखरीको महत्वलाई प्रस्ट पार्छ । प्रताप मल्लले पोखरीको निर्माण गर्दा चारैतिर चारवटा मन्दिरसमेत स्थापना गरेका थिए ।

जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्र हाते गणेश स्थापना गरिएको छ । रानीपोखरीलाई पवित्र र महत्वपूर्ण धार्मिक स्थलको रूपमा विकास गर्र्न राजा प्रताप मल्लले विभिन्न तीर्थस्थलको जल ल्याई राख्न लगाएका थिए । धार्मिक पवित्रताको कारण दोषी र निर्दोष छुट्याउन यो पोखरीमा डुबाएर दिव्यजल परीक्षा गरिन्थ्यो । भक्तपुरमा रहेको ऐतिहासिक चाँगुनारायणको कलश यात्रा ल्याउँदा रानीपोखरीको उत्तरतर्फ रहेको पाटीमा विश्राम गराई हनुमानढोकाबाट विशेष स्वागत टोली गई कलश आह्वान गरी हनुमानढोका दरबारभित्र भित्र्याउने चलनसमेत रहेको छ ।

रानीपोखरीसँग जोडिएका केही रोचक तथ्यहरू

– पोखरीभित्र बहुमुल्य सम्पत्ति लुकाएर राखिएको हुनसक्ने आशंकापछि जंगबहादुर राणाले रानीपोखरीमा र टौदहमा केही दौलत होला भनी शंकाले पल्टनका सिपाही लगाई कुलो खनाई सुकाई हेर्दा केही पाएनन् । —काठमाडौ उपत्यकाको एक राजवंशावली, बालचन्द्र शर्मा, २०२५ श्रावण ।
– रानीपोखरीको सफा गराउन भनी प्राइमिनिस्टर जंगबहादुरले पटके कर उठाउन लगाएको— नेपाल खाल्डाभित्रका दुनियाँदार जागिरे गैरहलाई रानीपोखरी सफा गराउन र धान राख्ने गोदामघर बनाउनलाई काठहरू बोक्नु भन्या भै घरही एक सुका पैसा उठाइलिया । यस प्रसंगबाट समय समयमा रानीपोखरी सरसफाइमा पटके कर लगाएको देखिन्छ ।
— काठमाडौ उपत्यकाको एक राजवंशावली, बालचन्द्र शर्मा, २०२५ श्रावण ।
– रानीपोखरीमा हात्तीमाथि राजाको मूर्ति बनाएर राख्नुमा एउटा किंवदन्ति रहेको पाइन्छ । यो पोखरी बनेपछि राजा प्रताप मल्ल सधैं नुहाउन आउने गर्दथे, यसरी पोखरीमा नुहाउन आउने क्रममा राजाको एक किचकन्यासँग भेट भएर मायाप्रेम बसेछ । यसैक्रममा राजा र किचकन्याको संसर्गबाट किचकन्या गर्भवतीसमेत भइछ । यता, राजा पनि दुब्लाउँदै गएको देखेर भाइभारदारहरू चिन्तित भएर के कारणले यसरी राजा दुब्लाउँदै गएको भनेर खोजी भएछ र राजा र किचकन्याको प्रेम प्रसंग पत्ता लागेछ ।

त्यस्तै, किचकन्या गर्भवती भएको कुरा पनि थाहा भएछ । यो कुरा पत्ता लागेपछि अचम्म हुन लाग्यो यसो हुनुहुँदैन भनेर भाइभारदार तथा गुरुपुरोहितहरू मिलेर किचकन्यालाई वशमा पारेछन् । गर्भवती किचकन्याको भ्रुणसहित पोको परेर रानीपोखरीको छेउमा विशाल हात्ती त्यसमा राजा, रानी र युवराजसहित चढेको मूर्ति बनाएर त्यस हात्तीको अघिल्लो खुट्टाले किचकन्या र भ्रुणसहितको पोकोलाई कुल्चेर राखेमा पछि फेरि दुःख दिदँैन भनेर त्यसरी उक्त मूर्ति स्थापना गरिएको भन्ने किंवदन्ति रहेको छ । स्रोत विकिपिडिया