आजबाट काँग्रेस सभापतिका उम्मेदवार निधिको सम्पर्क कार्यालय

आजबाट काँग्रेस सभापतिका उम्मेदवार निधिको सम्पर्क कार्यालय तरुण खबर ११ भाद्र २०७८, शुक्रबार ०९:१९
आजबाट काँग्रेस सभापतिका उम्मेदवार निधिको सम्पर्क कार्यालय

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनमा केन्द्रीय सभापति पदका लागि उम्मेदवारी दिने भएका छन् । त्यही प्रयोजनका लागि नयाँ बानेश्वरमा आजैबाट सम्पर्क कार्यालय खुल्ने भएको छ । करिब एक वर्ष अगाडी नै उनले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषण गरेका थिए । निधिले आसन्न महाधिवेशनमा सभापतिको दाबी प्रस्तुत गरेपछि काँग्रेसमा नयाँ तरंग आएको छ । कांग्रेसको १४औँ महाधिवेशन राष्ट्रलाई नयाँ युगमा प्रवेश गराउने अवसर पनि हो र चुनौती पनि भन्ने भन्ने धारणा भएका कांग्रेसजनले उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन् । र, निधि आफैंले समेत सोहीअनुसार गृहकार्य गरिरहेको बुझिएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा रहने सम्पर्क कार्यालयको निधिले भदौ ११ गते १२ बजे उद्घाटन गर्ने भएका छन् । नेपालमा अहिंसावादी आन्दोलनका प्रणेता महेन्द्रनारायण निधि र प्रेमसागरी देवी निधिका कान्छा सुपुत्र विमलेन्द्र निधिको जन्म २०१२ साल आश्विन १२ गते धनुषा जिल्लाको नगराइनमा भएको हो । उनी २०२५ सालदेखि नै नेविसंघको राजनीतिमा आवद्ध भई २०३६ सालदेखि २०३९ सालसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए । पटक पटक गरि करिब ६ वर्ष जेलमा विताएका निधि वैचारिक नेताका रुपमा नेपाली राजनीतिमा स्थापित छन् । निधिको लेखकीय पक्ष पनि उत्तिकै सशक्त मानिन्छ ।

अहिलेसम्म करिब आधा दर्जन नेताहरुले भावी सभापतिमा दाबी प्रस्तुत गरिरहँदा निधिको उम्मेदवारी ‘लजिकल’ देखिएको वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले बताएका छन् । सञ्चारकर्मीसँग दाहालले भनेका थिए– नेपाली काँग्रेसमा धेरै वटा गुट छन् । ती सिद्धान्तमा भन्दा महत्वकांक्षाले निर्माण भएका हुन् । तर अहिलेको अवस्थामा केही लजिकल पनि छन् । निधिले के कारणले म सभापतिमा उठ्नुपर्छ वा नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने केही आधारसहित उम्मेदवारी दिन खोजेको देखिएको छ । विमलजी (विमलेन्द्र निधि) को उम्मेदवारी प्रस्ताव मलाई स्वभाविक लागेको छ वरिष्ठ पत्रकार दाहालले भनेका छन् ।