तरुण खबर
१३ भाद्र २०७८, आईतवार ०९:०५
काठमाडौं । भारतका केही राज्यहरुमा कोभिड–१९ बढ्न सक्ने आशंकामा केन्द्रीय गृह मन्त्रालयले हिजो शनिवार कोरोना भाइरस महामारीको लागि मौजुदा निर्देशिका ३० सेप्टेम्बरसम्मका लागि जारी गरेको छ । भारतमा मनाइने महत्वपूर्ण चाँड तिहारमा मन्छेहरुको भीडभाड देखिने भएकाले स्वास्थ्य निर्देशिकाको म्याद थप गरिएको हो । भारतले पाँच वटा रणनीति अपनाउँदै आएको छ । कोभिड–१९ नियन्त्रणका लागि अपनाइएका पाँच रणनीतिमा टेस्ट–ट्रेस–ट्रिट–भ्याक्सिन (खोप) र कोभिड–१९ का लागि स्वास्थ्य आचरणको पालना गर्ने र अरुलाई पनि पालना गराउँने नीति लिर्दै आएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भनेको छ ।
संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२८, अगष्ट) मा १९ लाख ३३ हजार २९३ जनाको नमुना परीक्षण गर्दा ४५ हजार ५८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २७, अगष्टमा १८ लाख २४ हजार ९३१ जनाको नमुना परीक्षण गर्दा ४६ हजार ८०५ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२८, अगष्ट) मा कोरोना भाइरसको संक्रमणबाट ४५७ जनाको निधन भएको छ । २७, अगष्टमा कोरोना भाइरसको संक्रमणबाट ५१४ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार भदौ १३ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड २६ लाख ९४ हजार १८८ जना छन् । २०७८, भदौ १३ गतेसम्ममा भारतले ५१ करोड ६८ लाख ८७ हजार ६०२ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, भदौ १३ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड १८ लाख ८१ हजार १२८ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ७५ हजार २ सय जना छन् । पछिल्लो २४ घण्टा (शनिबार) मा ३५ हजार ८१५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, भदौ १३ गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ३७ हजार ८६० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


