गौरा पर्वमा कोरोना संक्रमणका कारण परम्परा मात्र धानिने

गौरा पर्वमा कोरोना संक्रमणका कारण परम्परा मात्र धानिने तरुण खबर १३ भाद्र २०७८, आईतवार ०९:१७
गौरा पर्वमा कोरोना संक्रमणका कारण परम्परा मात्र धानिने

काठमाडौं । भदौ १२, १३ र १४ गते अर्थात तीन दिन गौरा पर्व मनाइन्छ । गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । सुदूरपश्चिमको विशेष मौलिकता बोकेको गौरा पर्व त्यहाँका नौं वटा जिल्लामा नै मनाउँने परम्परा छ । ब्रतका पारम्परिक कठिन नियमप्रतिको विशेष आस्था र श्रद्दाले यो पर्वप्रति ब्रतालुहरुको अमिट भक्तिभाव देख्न सकिन्छ ।

गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो । गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्व भविष्योत्तर पुराणको हेमद्रीगत खण्डमा उल्लेख भए अनुसार कहिले भाद्र शुक्ल पक्षमा पर्छ भने कहिले भाद्र कृष्ण पक्षमा पर्छ । यसै आधारमा भाद्र शुक्ल पक्षमा पर्ने गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा पर्ने गौरालाई अँधेरी (अन्यारी गोरा) गौरा भनिन्छ । उजेली गौरालाई धार्मिक महत्वको दृष्टिले शुभ, फलदायी र राम्रो भनिन्छ ।

पछिल्लो समय काठमाडौं उपत्यका लगायत देश मनाउँन थालिएको छ । तर कोरोना भइरस संक्रमणका कारण यस वर्ष परम्परा धान्ने काम मात्र हुनेछ । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ । महिलाहरूले गौरा पर्व सुरु भएको दोस्रो दिन भोलि पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।

पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा विशेषगरी गौरी अथार्त पार्वतीको पूजाअर्चना गरिन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्यार पुजा–अर्चना गरी महिलाहरूले दुबधागो चढाउने गर्छन् । अष्टमीका दिन त्यही दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको छ । सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको पुरुषले लगाउने जनैको जस्तै महत्व रहेको विश्वास गरिन्छ ।

गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ ।

बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँने परम्परा छ । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ । गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु-याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ । साथै, यस पर्वमा सरकारले देशभर गौरा पर्व मनाउने समुदायलाई सार्वजनिक विदा दिने गरेको छ ।