राणाकालमा वैद्यहरुको चमत्कारिक योगदान

राणाकालमा वैद्यहरुको चमत्कारिक योगदान तरुण खबर १५ भाद्र २०७८, मंगलवार ०८:४३
राणाकालमा वैद्यहरुको चमत्कारिक योगदान

प्रा.डा. केशब श्रेष्ठ

नलेखिएको इतिहास : केही नयाँ कुरा आउँदा र नलेखिएका कुरा बुभ्न पाउँदा वा इतिहासतर्फ एक पल्ट फर्केर हेर्ने जिज्ञाषा हुनु मानवीय गुण नै हो । सिम्रौनगढबारे मैले लेखेको लेखको आशय पनि त्यही थियो । सिम्रौनगढबारे मान्छेहरुमा जिज्ञाषा जागोस् भन्ने थियो, जुन जनमानसमा देखिएको छ । आज मैले त्यस्तै रोचक विषय लिएर आएको छु । राणा कालमा वैद्य परिवारले विभिन्न अवसरमा पुरुषार्थ गरि राष्ट्र र समाजको सेवा गरेको तथ्य डा. दिक्पाल वैद्यबाट मैले जानकारी पाएको हुँ । उहाँकै सल्लाहबाट छोटो तरिकाले क्रमशः पस्कदै जाऊ भन्ने मनशायले लेखेको यो लेख यहाँहरुको हात–हातमा पुगेको छ ।

१९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्य पूर्वसम्म चलेको लडाईंलाई पहिलो विश्वयुद्ध भनेर बुझिन्छ । यो युद्धमा करिब ३० हजार नेपाली मारिएको अनुमान गरिन्छ । ६० हजार नेपाली मारिएको गोसोको अनुमान छ । पहिलो विश्व युद्धको समयमा १६ हजार नेपाली सेना प्रत्यक्ष अप्रत्यक्ष युद्धमा भाग लिएका थिए । बेलायती गोरखा सैनिकमा भर्ना भएको नेपाली सेनाको कथा अलग छ । विश्वयुद्धका बेला भारतमा रहेको बेलायत सरकारको सेवामा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले १६ हजार नेपाली सेना भारत पठाएका थिए ।

पहिलो विश्व युद्ध समाप्त भएपछि उनीहरूलाई खेतालालाई जसरी युद्ध अवधिभरको ज्याला दिएर फिर्ता गरिएको थियो । सरदार भीमबहादुर पाँडेको अनुमानअनुसार तिनले १३ करोड कम्पनी रुपैयाँ नेपाल ल्याएका थिए । युद्धको सिलसिलामा नेपाली सेनाको एक बटालियन अफगानिस्तानको खण्डहर क्षेत्रमा पुगेको थियो । सेनाहरु टेन्टभित्र पलङमा अस्त ब्यस्त अवस्थामा सुतिरहेका बेला यत्र तत्र रगतका फाल्चा देखियो । र, सैनिकहरु आइया.. आइया.. भनि कराई रहेको सुनियो ।

वास्तवमा तिनीहरु युद्धमा लडेर घाइते भएका होइनन् । खण्डहरको पश्चिम सीमानामा युद्ध भैरहेको र युद्धमा के कस्तो योजना परियोजना गर्ने बारे छलफल भैरहेको समयमा सैनिकहरु बिरामी भएको अवस्था थियो त्यो । बिरामी भएका सैनिकहरु टेन्टभित्र आराम गर्नु पर्ने अवस्था आएको थियो । त्यहाँ सैनिकहरु रगत मासी परेर रगत नै छेर्दै बिरामी भई ओछ्यान परेका थिए । त्यहाँ युद्ध चलेको थिएन तर प्रायः सबै सैनिकहरु बिरामी परेका थिए ।

नेपाली सेना बिरामी हुनुको कारण
अफगानिस्तानको काँठे फलमध्ये दन्ते ओखर अत्यन्त प्रख्यात छ । खानमा पनि मिठो र सस्तो पनि थियो त्यस बखत । नेपाली सेनाहरु भातको बदलामा त्यही फलबाट आफ्नो पेट भर्न लागेका थिए । तर धेरै खाएको हुनाले पेट भर्नुको साटो रगत मासीले ग्रस्त भएका थिए सैनिकहरु । गोला बारुदले होइन कि रगत मासी परेका कारण सैनिकहरु बिरामी पर्न लागेका थिए ।

नेपाली सेनाका प्रमुख आयुर्वेदिक अधिकृत जगतमान रातो दिन सिपाहीहरुको सेवामा लागि रहेका हुन्थे । नेपालबाट आफुसँगै ल्याएको रगत मासी (आऊँ) को औषधी सिपाहीहरुको उपचार गर्दा गर्दै सकिन आटेको थियो । धेरै जना सिपाहीहरु आऊँ परेर बिरामी भएकाले अरु थप औषधीको आबश्यक्ता भैरहेको थियो । अरु रोगको औषधी बाँकी थियो तर धेरैलाई चाहिने रगत मासीको दबाई सकिन लागेकाले पनि औषधीको माग बढेको हो कि ? टेन्टभित्र बिरामी परेका सैनिकहरुमा औषधीको माग बढिरहेको थियो । नेपालबाट सेनालाई चाहिने औषधि ल्याउन सक्ने अवस्था थिएन । यही कुरा सोची टोलाई रहेका जगतमान दाहिने हात निधारमा राखी घोत्लिरहेका थिए । यसैबेला खण्डहरको टेन्टबाटै उनी अगाडी पट्टिको पहाड हेर्न पुगे ।

हुन त अरुबेला पनि त्यो पहाडलाई हेरिरहन्थे उनी, नेपाली सेना खण्डहरको त्यस पहाडी भूमिमा पुग्दा नेपालकै पहाडजस्तो लागेको हुँदो हो उनलाई । उनी आयुर्वेदका विद्यार्थी थिए, त्यसैले बिद्यार्थी जमानामा नगरकोट र धुलिखेलको जंगलमा खोज्न गएको जडिबुटी यहाँ पनि होला भन्ने मनमा सम्झेर खुशी थिए । त्यसको अनुभूति गरिरहेका थिए । अचानक यस परिस्थितिमा आशाको अनुभूति महशुस गर्दै यही पहाडमा नेपालको जस्तै जडिबुटी खोजी ल्याउन उनी आतुर भए । त्यसबेला कमाण्डर इन चिफ बबरशंशेर थिए । त्यसै कारण उनी कमान्डर इन चिफ बबर शमशेरसँग बिन्ति गर्न पुगे । सबै विवरण सुनिसकेपछि बबर शमशेरबाट हुकुम भयो “जानु तर काम सकी चाँडै फर्कनु “ ।

जडिबुटीको खोज र उपचार
कमान्डर इन चिफसँग जगतमानले केही सैनिक साथ लाने माग गरेकाले उनीसँग केही सैनिक साथी पनि पठाई दिए । खण्डहरको उत्तर पट्टिको त्यो पहाडमा धेरै बिरुवाहरु जगतमानले देखे तर रगतमासीमा चाहिने बुटी उनले पाउन सकेनन् र निकै परेसानमा थिए उनी । बाल्यकालमा आयुर्वेदको बिद्यार्थी भएको बेला नगरकोट र धुलिखेलको जंगलमा जडिबुटी खोजेको अनुभव उनमा थियो नै । फेरि जगतमान हरेस मान्ने खालका व्यक्ति थिएनन्, किनकी नगरकोट, धुलिखेलको जंगलमा देखेको र संकलन गरेको अरु बिरुवा त्यहाँ देखिएको थियो । ती बिरुवाहरुसँगै आउँ निको पार्ने बुटी पनि त्यहीँ कतै हुनु पर्छ भन्ने विश्वास उनमा बढिरहेको थियो । त्यसैले रातदिन लगाएर खोजि गरिरहे । नभन्दै उनको परिश्रम खेर गएन रÞ रगत मासीको लागि चाहिने बुटी जम्मा गरि उनी आर्मी टेन्टमा फर्किए । सोहि जडिबुटीले बिरामी सिपाहीहरुको उपचार गर्न लागेका थिए उनी । जगतमानको लगातारको मेहनत, लगनसिलता, गुरुले सिकाएको विद्याका कारण अफगानिस्तानको खण्डहरमा बिरामी परेका प्रयः सबै सैनिकमा राम्रो असर परेकाले सबै निको भए र विश्व युद्ध सकिएपछि सकुसल स्वदेश फर्कन पाएका थिए ।

प्रमुख आयुर्वेदिक अधिकृत जगतमान को थिए ?
सिम्रौनगढबाट आएका बैद्य परिवार नेवारहरुको पहिलो बस्ति काभ्रेको दाप्चामा थियो । ८०० वर्ष पहिलाको सिम्रौनगढबाट नेपाल भागी आएका वैद्य परिवारमा को को थिए नाम भने अझै पत्ता लगाउन सकिएको छैन । तर जगतमानका पुस्ताहरु सुकुसिंह वैद्यबाट सुरु गर्दा सुकुसिंह वैद्यका छोरा थाकु सिंह वैद्य, थाकुसिंह वैद्यका छोरा धनमान वैद्य, धनमानका छोरा कुलमान वैद्य र कुलमानका एक्ला छोरा जगतमान वैद्य थिए भन्ने जानकारी हुन आयो । काभ्रेको दाप्चाबाट उनीहरु भक्तपुरमा आई बस्न थाले भनिन्छ । र, त्यहाँबाट पछि अन्य ठाउमा छरिएर रहन थालेका हुन् । यी वैद्यका सन्तानहरुमा एक परिवार पशुपति नजिक गोले भन्ने ठाउमा आइ बसे र गोले वैद्यका नामले प्रख्यात भए, अर्का परिवार टंगाल, भेडासिंह आई बसेकाले येमी वैद्यका (यें भन्नाले नेवा भाषामा काठमाडौंलाई जनाउँछ ) नामले प्रख्यात भए ।

यिनै येमिका वैद्यहरु कालान्तरमा अन्य विभिन्न ठाउमा छरिएर बसेका हुन् । कोही रानीपोखरी कर्नरमा, कोही ठमेलमा, कोही त्रिपुरेश्वरमा त कोही उपत्यका बाहिर पोखरामा बसेका थिए । कुलमान बैद्यका छोरा जगतमान बैद्य, पहिले भक्तपुरको इनाचो भन्ने ठाउमा बस्दथे । यो टोल दत्रातय आउनु भन्दा अगाडी पर्दछ । कुलमान बैद्य एक साधारण परिवारका वैद्य थिए । भक्तपुरका मानिसहरु बिरामी हुँदा नारी समाउदै जडिबुटी खुवाउदै निको पार्दथे उनी । उनीहरुले उपचार गरेबापत मकै, भटमास, गुन्द्रुक, मुलाको चना, आलु, साग, फक (कर्कलो), लैसुप (मुला), फसी आदि दिने गर्थे । गुजारा यसरी नै चल्दथ्यो बैद्य परिवारको । साधारण वैद्य भएता पनि आफ्नो छोरा जगतमानलाई वैद्य पेशामा नै लगाउने रहर पालेका थिए कुलमान बैद्यले । छोरा जगतमानलाई पनि आयुर्बेद पढाएका थिए ।

जगतमानको बिद्यार्थी जीवन
झन्डै १०० बर्ष अगाडिको कुरो हो यो । भक्तपुरमा त्यसबेला एक आयुर्बेदका पण्डित बस्थे, जसले युवाहरुलाई आयुर्वेद पढाउँने गरेका थिए । उनका ८ जना बिद्यार्थीमा एक जना मात्र नेवार बिद्यार्थी थिए जगतमान । अरु सातैजना सबै ब्राह्मण परिबारका थिए । ती ब्राह्मण पण्डितले आठै जना बिद्यार्थीहरुलाई बिहानै कुखुराको डाकमा कहिले नगरकोट, कहिले धुलिखेलको जंगलमा एक एक मुठी मकै, भटमास पटुकामा बाध्न लगाई जडिबुटी खोज्न पठाउदथे र त्यहाँबाट ल्याएका जडिबुटी कागज माथि राखि घाममा सुकाएर, बिरुवा पट्याएर पोको पारी दलिनमा लहरै झुन्ड्याएर राख्ने गरेका थिए । आप्mना विद्यार्थीलाई जडिबुटीको नाम, संकलन स्थान, मिति, उपयोगिता आदि लेखि विवरण पनि राख्न लगाउदथे । यसरी आफ्ना विद्यार्थीहरुलाई जडिबुटीको ज्ञान दिने गरेका थिए आयुर्वेका पण्डितले । जगतमानको बिद्यार्थी जीवनको यस शिक्षाले उनलाई पछि ठूलो मार्ग दर्शनको काम गरेको थियो ।

प्रथम बिश्व युद्ध सकिएपछि
प्रथम विश्व युद्ध सकी फर्के पछि दरबारमा बबर शमशेर, प्रमुख आयुर्वेदिक अधिकृत जगतमानलगायतका अरु भाई भारदारहरु एवं जनरलहरु समेतलाई बोलाई भेटघाट गर्दा मेडिकल अफिसर जगतमानले नेपाली सैनिकको ज्यान जोगाएको थाहा पाई चन्द्र शमशेरले तैले गर्दा मेरा रैती (सैनिक) लाई जोगाइस्, म धेरै खुशी भए– भनेका थिए । त्यस पछि मेचबाट बबर शमशेर जुरुक्क उठी शिर झुकाई “सरकार ! सैनिक मात्र होइन रगत मासी परेकाले जगतेले मलाई पनि बचाएको थियो भनी श्री ३ महाराज चन्द्र शमशेरमा बिन्ति जाहेरी गरेका थिए ।
यो सुनेर चन्द्र शंमशेर जुरुक्क उठदा अरु पनि सबै उठेका थिए ।
उठ्दै चन्द्र शमशेर ले भने “दोसल्ला लिएर आउ’
त्यस पछि जगतेतर्फ हेर्दै “जगते यता आएस्’ हुकुम भयो ।

भारदारले आदेश बमोजिम तुरुन्त दोसल्ला ल्याइपु¥याए । चन्द्र शमशेर सरकारबाट सोही राजसभामा जगतमानलाई दोशल्ला लगाई सकेपछि “तैले वैद्यको गरिमा राखिस्“ अब तँ आजदेखि राज वैद्य भइस्– भन्ने हुकुम सुनाए ।

साधारण वैद्य पेशामा लागि जनताको सेवा गर्दै हिडेका जगतमानले यसरि श्री ३ चन्द्र शमशेरबाट उर्दी बक्स भइ राजवैद्य जस्तो सम्माननीय पदपाई आएका थिए । यिनै जगतमानका कान्छा छोरा ईश्वरी मान वैद्यले दोश्रो विश्व युद्धमा भाग लिएका थिए । तर प्रथम विश्व युद्धमा जगतमान प्रमुख आयुर्वेदिक चिकित्सक भएको दस्ताबेद कतै पाइएको छैन । तर प्रथम र दोस्रो विश्व युद्धमा बबर शमशेर जबरा नेपाली सेनाको प्रथम कमान्डर इन चिफ भएको कुरा गुगलमा खोजी गरे थाहा पाउन सकिन्छ । जगतमानका कान्छा छोरा ईश्वरीमान वैद्यले पनि दोस्रो विश्व युद्धमा बबर शमशेरले नेतृत्व गरेको सैनिक दलमा प्रमुख आयुर्वेदिक चिकित्सक भएर सेवा गरेका थिए, जसको उल्लेख भने कतै भएको पाइएको छैन । तर बागबजारको कृष्ण औषधालयमा आयुर्वेदिक चिकित्सक ईश्वरीमान वैद्यले दोश्रो विश्व युद्धमा भाग लिए बापत प्राप्त गरेका प्रमाणपत्र, तक्मा र केहि तस्बिरहरु आज पनि सुरक्षित राखिएको छ । बागबजारको उक्त वैध खानामा बसन्तमान वैद्यलाई भेटेर ती तस्बिर र प्रमाणपत्र बारे बुझ्न सकिन्छ ।
(वैद्याहरु बाराको सिम्रौनगढका अन्तिम राजा हरिसिंह देवसँगै कठमाडौं आएको दावी गर्छन् । लेखक प्रा.डा. केशब श्रेष्ठ हाल क्यानडामा काम गर्छन्)