तरुण खबर
१५ भाद्र २०७८, मंगलवार ०८:४५
काठमाडौं । नेपाली काँग्रेस १४औं महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ मा (वडा तहको अधिवेशन हुने भएको छ । त्यसका लागि ५३ वटै जिल्लामा निर्वाचन अधिकृतहरूलाई केन्द्रबाट खटाइसकिएको छ । तर, अझैपनि २० जिल्लामा क्रियाशील सदस्यको टुंगो लागेको छैन । कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सैद्धान्तिक सहमति गरेर टुंगो लगाएकासहित अन्य राजनीतिक दलबाट पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेकाहरुको सदस्यताको विषय टुंगिएको छैन । बाँकी २० जिल्लाको सदस्यता टुंग्याउने विषयमा पनि काम भइरहेको छ । प्रदेश २ का सबै जिल्लाको सदस्यता टुंगिएको छैन । सिन्धुपाल्चोक, रसुवा, काभे्रपलाञ्चोक लगायत जिल्लाको पनि काम बाँकी भएको बुझिएको छ । सदस्यताको टुंगो नलागेका जिल्लामा १८ भदौमै वडा अधिवेशन हुने कि नहुने ? भन्ने अन्योल बढेको छ ।
जहाँको अन्तिम नामावली तयार हुन्छ, ती जिल्लामा तोकिएकै मितिमा एकैदिन अधिवेशन हुन्छ, अन्य जिल्लामा सदस्यताको टुंगो लागेपछि क्रमशः पालिका अधिवेशनभन्दा अगाडि नै वडा अधिवेशन गरिसक्नुपर्ने हुन्छ, केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । ७७ वटै जिल्लाका लागि निर्वाचन सामाग्रीहरुको प्याकिङ गरी तयारी अवस्थामा राखिएको र क्रियाशील सदस्यताको टुंगो लाग्ने बित्तिकै बाँकी जिल्लामा पनि निर्वाचन अधिृकतहरु खटाइने उनले भने ।
क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमै ८ लाख ५२ हजार ७११ जनाको नामावली छानबिन गरी केन्द्रीय समितिलाई बुझाएको थियो । त्यसबाहेक सिटौला नेतृत्वको कार्यदलले सहमति गरे बमोजिम कति जना सदस्य थपिएका छन् भन्ने यकिन भएको छैन । यता, समयमा महाधिवेशन नगरेका कारण २३ भदौपछि काँग्रेसको वैधानिकता के हुने ? भन्ने अन्योल छ ।
विधान र संविधानको व्यवस्था बमोजिम कांग्रेसले २३ भदौभित्र निर्वाचन आयोगमा प्रदेश र संघीय कार्यसमितिको निर्वाचन गरेर निर्वाचित पदाधिकारीहरुको विवरण अद्यावधिक गरिसक्नुपर्ने हो । तर, काँग्रेसले क्रियाशील सदस्यताको विवादका कारण समयमै महाधिवेशन गर्न सकिरहेको छैन । कम्तिमा त्यो मितिभित्र वडा अधिवेशन शुरु गरेर भएपनि पार्टीको वैधानिकता बचाउन सकिने भन्दै नेताहरुले १८ भदौदेखि महाधिवेशन गर्ने कार्यतालिका ल्याएका हुन् ।
काँग्रेसले गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । त्यस्तै, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । त्यस्तै, आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।


