तरुण खबर
१६ भाद्र २०७८, बुधबार ११:४५
मैले सहकारी आन्दोलन र राजनीतिलाई सँगसँगै अगाडी बढाई रहेको छु । करिब १०–१२ वर्ष जति भयो सहकारी आन्दोलनमा सहभागी भएको । गाउँको राजनीतिले मलाई बाध्य बनाएको हो राजनीतिमा आउँन । राजनीति गरिरहेका मेरा अग्रजहरुलाई सहयोग गरिरहेको थिएँ, अहिले पनि गरिरहेको छु । तर म आपैं सक्रिय राजनीतिमा आउन बाध्य भएँ । मैले २०४६–४७ सालतिरै नेविसंघको सदस्य लिएको थिएँ । त्यतिबेला बुझेको थिएन, अहिले बुभ्दा प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो भन्ने विश्वकै मान्यता रहेछ । मैले ठिक बाटो लिएको रहेछु भनेर गौरव पनि लाग्छ । हामी खान लाउन पुग्ने सामान्य मध्यम वर्गिय परिवारका सदस्य हौं । २०७३ देखि नेपाली काँग्रेसको काभ्रे–काठमाडौं सम्पर्क समितिको उपाध्यका रुपमा सक्रियता पूर्वक काम गरिरहेको छु ।
पारिवारिक पृष्टभूमि: मेरो हजुरबुबा बलबहादुर तामाङ तत्कालीन समयमा गाउँभरिमै लेखापढी जान्ने हुनुहुन्थ्यो भन्दा अहिले पत्याउने अवस्था छैन । पत्याउनु पनि कसरी ? अहिले ढुंखर्कका घरघरमै बीए पास गर्ने पुस्ता आइसकेको छ । एमए, एमएड गर्नेको संख्या पनि गन्न सकिने अवस्था छैन । मेरो हजुरबालाई गाउँहरुले बैदारबा भन्थे । उहाँले आर्थिक लेनदेन गर्दा लेखिने ठाडो तमसुक, कपाली तमसुक, निवेदन, अदालतमा मुद्दा दर्ता गरिने लेखापढी, मालपोतमा रजिस्ट्रेसन पाससम्मको लेखापढी उहाँले गर्नुहुन्थ्यो । पारिश्रमिक भनेर कहिल्यै पैसा लिनु भएन, स्वेच्छाले गरेको दान भने लिनुहुन्थ्यो ।
मेरो हजुरबाको विजुलीप्रसादसँग पारिवारिक सम्बन्ध: सामाजिक रूपमा विजुलीप्रसाद घिमिरे र भीमप्रसादको परिवारसँग त हाम्रो पारिवारिक तथा भावनात्मक सम्बन्ध नै थियो । विजुलीप्रसाद त्यस जमानाको बौद्धिक, सामाजिक र आकर्षक व्यक्तित्व भएको राजनीतिक नेता हुनुहुन्थ्यो ।
त्यो जमानामा विजुलीप्रसाद काठमाडौंबाट टाइम्स अफ इन्डिया, अमरचित्रजस्ता पत्रिका मगाएर पढ्नुहुन्थ्यो । कर्मकाण्ड र जोतिष शिक्षाबारे राम्रो जानकारी थियो । साइत हेरेर मात्र हिड्ने उहाँको बाँनी नै थियो । तर हामीले उहाँसँग बाक्लो भालाकुसारी गर्ने अवसर भने कमै पायौं । उहाँका छोरा भगवान घिमिरे ( मेरो प्रिय लाइ) ले पिताजी बाटो पहिल्याउँनु भएको छ । उहाँले सामाजिक र राजनीतिलाई अभिन्न अंग बनाउँनु भएको छ ।
मेरो हजुरबा भने कहिले कहिले त तीन दिनसम्म पनि हराउनु हुन्थ्यो, हामी खोज्न जाँदा विजुलीप्रसादकै घरमा गफिएको भेट्थ्यौं । मेरो हजुरबा पढ–लेखमा रुचि राख्ने भएकाले पनि सानैमा मलाई स्कुल पठाउनु भएको हो । हजुरबुबाले एकदेखि पचाससम्मको गुणान कण्ठस्थ सुनाउनुहुन्थ्यो । म चार वर्षको हँुदा त बाह्रखरी र कालोपाटी बोक्ने भइसकेको थिएँ ।
मेरो सानैदेखिको साथीहरूमा हरि तिमल्सिना, नमराज घिमिरे, शिव घिमिरे, कान्छा तामाङ, नमराज तिमल्सिनालगायत थिए । कक्षा १ मा भर्ना हँुदा हामी नौजना थियौं, २०३७ सालमा २ कक्षामा पुग्दा ११ जना विद्यार्थी भयौं । पाट्नेखोला जाने र साविक ढुंखर्क ६ नम्बर जान छुट्टिने बाटोमाथि स्कूल थियो । स्कूलमा सल्लाका फल्याकहरू थिए, हामी पाँचजना एउटा फल्याकमा बसेर पढ्थ्यौं । ५ कक्षासम्म पढाइ हुने स्कुलमा तीनवटा मात्र कोठा थिए । एउटै कोठाको एउटा कुनामा कक्षा १ को पढाइ हुँदै गर्दा अर्को कुनामा २ कक्षाको पढाइ भइरहेको हुन्थ्यो । सरहरू दुईजना मात्र हुनुहुन्थ्यो । २०४१ सालतिर मात्र त्यहाँ साँघुरो जमिन भयो भनेर अहिले उच्च मावि भएको गेल्डुङ बजारमा सरेको हो । त्यो स्कूल बनाउँदा हामी विद्यार्थीहरू लाइन लागेर ढुंगा बोक्थ्यौं, खन्थ्यौं र खनेको माटो फाल्थ्यौं । ४ बजे स्कूल छुटेपछि घर पुगेर कहिले भुटेको मकै खान्थ्यौं, कहिले रोटी हुन्थ्यो, खाजाको रुपमा मिठो मानेर खान्थ्यौं । खाजा खान भ्याउँदा नभ्याउँदै डोको बोकेर घाँस काट्न निस्कन्थ्यौं । यही थियो हाम्रो स्कुले जीवनी ।
एउटै कोठाको एउटा कुनामा कक्षा १ को पढाइ हुँदै गर्दा अर्को कुनामा २ कक्षाको पढाइ भइरहेको हुन्थ्यो । सरहरू दुईजना मात्र हुनुहुन्थ्यो । २०४१ सालतिर मात्र त्यहाँ साँघुरो जमिन भयो भनेर अहिले उच्च मावि भएको गेल्डुङ बजारमा सरेको हो ।
घरायसी वातावरणले तथा साथीभाइको संगतले बालबालिकालाई धेरै प्रभाव पार्छ भन्थे बुढापाकाहरू । हो रैछ । मलाई हजुरबाले सानैमा स्कुल पठाउनुभयो । अन्यथा हाम्रो तामाङ समुदायमा ११, १२ वर्षमै विवाह गरिदिने चलन थियो । बाउ–आमाका लागि विवाह सक्नुलाई ठूलै धन्दा सकिएको तथा घर सम्पन्नतातर्फ उन्मुख भएको भन्ने मान्यता थियो । हजुरबा र बुबा गणेशबहादुर तामाङ सामाजिक काममा पनि लाग्ने भएकाले मलाई पनि सामाजिक काममा एकदमै रुचि छ । मेरो अभिभावकहरूले कहिले पनि चर्चाका लागि सामाजिक सेवा गर्नुभएन । बुवा गणेशबहादुरले आप्mना साथी रामबहादुर लोप्चनसहितको संयुक्त खर्चले मूलडाँडाको तामाङ जातिको मसानघाटमा २०४५ सालमा पाटी बनाउनु भएको थियो, जुन अहिले पनि छ ।
जिनमै आएको हो कि मलाई पनि अरुलाई सहयोग गरेको दिन राम्रो निद्रा लाग्छ । मलाई आफूले गरेको सेवाकार्यको कसैले प्रशंसा भन्दा अनुशरण गरिदिए हुन्थ्यो जस्तो लाग्छ । २०४८ सालमा मैले एसएलसी दिँदा मेरो कक्षामा २८ जना साथीहरू थिए, त्यसबेलाका साथीहरू कोही व्यापारमा जमेका छन्, कोही सरकारी सेवामा छन् । हुने बिरुवाको चिल्लो पात भनेझै नमराज घिमिरे पढाइमा बच्पनदेखि नै अब्बल थिए र ढुंखर्कबाट सिधै उपसचिवमा पास भई हालसम्म कार्यरत उनी एक मात्र हुन् जस्तो लाग्छ । संयोग जुरे उनी सचिवसम्म हुन सक्छन्, अहिले उनी यातायात व्यवस्था विभागको महानिर्देशक छन् । मैले प्राविधिक शिक्षा पढें, व्यापार व्यवसाय गर्दै छु । केही वर्षदेखि सहकारी क्षेत्रमा पनि संलग्न भएको छु । त्यही नामको पार्वती स्कुलमा कखरा चिनेको मान्छे, त्यही गाउँमा खुलेको पार्वती बहुमुखी क्याम्पसको सञ्चालक सदस्यका रूपमा अवसर पाउनु मेरा लागि खुसी र गर्वको विषय हो ।
क्याम्पस सञ्चालक सदस्यमा मेरो प्रवेश: क्याम्पसको सञ्चालक समितिको सदस्य पद समाजसेवाका लागि पदीय हिसाबले मेरो पहिलो खुड्किलो हो । मलाई सो पदमा उपयुक्त ठान्नु हुने सञ्चालक समितिका अध्यक्षप्रति सदा ऋणी हुने नै छु । जहिले पनि परिणाम देखिने काम गर्नुपर्छ भन्ने मेरो मान्यता थियो र अझै छ । परिणामविहीन पदमा बसिरहनु पदमाथि अपमान हो भन्ने लाग्छ मलाई । मैले गरेको कामबाट आपूm जन्मे–हुर्केको गाउँ–ठाउँको समाजले केही पाउनु पर्छ भन्ने मान्यता पनि राख्छु । संयोगले अहिले क्याम्पस भवन निर्माणको जिम्मेवारी मलाई सञ्चालक समितिको बैठकले दिएको छ, तर अहिले परिस्थिति फेरिएको छ । मैले सहयोगी साथीहरूको सहयोगमा काम गरिरहेको छु । करिब पाँच करोडको लागतमा सम्पन्न हुने क्याम्पस भवन सुरु गर्दाको अवस्थाबारे चर्चा गर्नु सान्दर्भिक हुन्छ जस्तो लाग्छ ।
विद्यालयको स्वर्ण महोत्सव मनाउने क्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष भगवान घिमिरेले सप्ताह ज्ञान महयज्ञ लगाउने बिल्कुलै नयाँ अवधारणा ल्याउनु भएपछि. क्याम्पसको चर्चा हुन थालेको हो । त्यसबाट सफलता हात लागेपछि जनजनमा गरे के हुन्न (?) भन्ने इच्छा शक्ति पलाएको हो । कलेज स्थापनको महत्वपूर्ण काम जग्गा खरिदका लागि र बैंक धरौटीको लागि गरी जम्मा २० लाख रुपैयाँ यसै महायज्ञबाट संकलित रकममध्येबाट आएको हो । भवन निर्माणको सन्दर्भमा समाजका कतिपय अगुवाहरूको निरासाजनक कुरा आउँदा पनि इच्छाशक्ति र दृढ अठोट लिने वडाध्यक्ष एवं विद्यालय सञ्चालक अध्यक्ष भगवान घिमिरे, उहाँलाई ऊर्जा प्रदान गर्ने राजनीतिक अभियान्ता इन्द्रमणि अधिकारीलगायत सबै सहयोगीहरूलाई इतिहासले धन्यवाद प्रदान गर्ने नै छ । प्राविधिक दृष्टिकोणले त्यस क्षेत्रको अब्बल संरचना निर्माण गर्न अहोरात्र खट्ने किस्ट कन्सलटेन्सीका प्रोपाइटर तथा मेरो बालसखा हुद्धराज तिमल्सिनालाई जति धन्यवाद दिए पनि कमी नै हुन्छ । लगभग ३६०० स्क्वायर फिट (प्रति तल्ला) मा १६ वाई १६ को २७ वटा पिलर राखेर चार तले भवन बनाउने क्रम चलिरहेको छ । उक्त भवन नौ रेक्टर स्केलको भूकम्प प्रतिरोधक क्षमताको डिजाइन गरिएको छ ।


