बैतडीका मठ मन्दिरहरू, जहाँ दर्जनौं तीर्थस्थल छन्

बैतडीका मठ मन्दिरहरू, जहाँ दर्जनौं तीर्थस्थल छन् परशु घिमिरे १७ भाद्र २०७८, बिहीबार ०९:१९
बैतडीका मठ मन्दिरहरू, जहाँ दर्जनौं तीर्थस्थल छन्

बैतडी जिल्ला इतिहास र धार्मिक हिसावले ऐतिहासिक धरोहर नै हो । जिल्लाको सबैन्दा अग्लो चुचुरो बान्किया लेक हो । यसको उचाइ समुद्र सतहबाट करिब ६ हजार नौ सय ३६ मिटर छ । ग्वाले केदारको नाममा प्रसिद्धि पाएको पर्वतलाई पौराणिक ग्रन्थहरूमा वायोतड पर्वत भनेको पाइन्छ । संस्कृत भाषामा वायु भनेको हावा र उत्तड भनेको उन्मुख हो । बैतडबाट अपभ्रंश भएर जिल्लाको नाम बैतडी भएको विश्वास गर्नेहरू धेरै छन् ।

पूर्वमध्यकालमा खसिया मल्लहरूले राज्य गरेको बैतडीमा चौधौं शताब्दीपछि बाइसी राज्यहरूको उदय भएको थियो । इशाको दशौं शताब्दीदेखि चौधौं शताब्दीसम्म खसिया मल्लहरूले पूर्वमा त्रिशूली गण्डकीदेखि पश्चिममा गढवालसम्म, उत्तरमा ताक्लाकोटदेखि दक्षिणमा तराई क्षेत्रसम्म यो राज्य गरेका थिए । बाइसी राज्यहरूमध्ये डोटी पनि शक्तिशाली र महत्वपूर्ण राज्य थियो । खसिया मल्लहरूको चकचकी हुँदा नै डोटी राज्यको रूपमा खडा भइसकेको थियो । इतिहास प्रकाशमा सन्धिपत्र संग्रहका अनुसार अभय मल्लको ताम्रपत्रमा उदुम्बरपुर अर्थात् डुम्राकोट (शिलगढी नजिकैको स्थान) डोटीमा अधिराज भएर बसेको कुरा योगी नरहरीनाथले उक्त पुस्तकमा उल्लेख गरेका छन् । डोटीका राजाहरूको अधिनमा धेरै सामन्तहरू (एक किसिमको पदवी, सानो रजौटा) थिए ।

डोटीका राजालाई उसबेला रैंकाज्यू भनी सम्बोधन गर्ने चलन थियो । डोटी राज्यअन्तर्गत रहेको बैतडीलाई स्वतन्त्र राज्य बनाउने कुल्लेकोट, राउलकेदार, स्वराडमा चन्द्रवंशीहरूले प्रयास गरेका थिए, तर डोटेली राजाहरूले उनीहरूको प्रयास विफल पारे र चन्द्रवंशी शासकहरूलाई नै सामन्त तुल्याएका थिए । १७९० मा नायव बहादुर शाहले पठाएको गोरखा फौजसँग उनी पराजित भएका थिए । डोटीका अन्तिम शासक दीप शाही थिए । कुमाउँगढवालका राजा सोमचन्द्र र उनका उत्तराधिकारीहरू पनि डोटीका राजाहरूको अधिनमा थिए भन्ने कुरा कुमाउँ गढवालको इतिहास लेखेका आटकिन्सले आप्mनो पुस्तकमा उल्लेख गरेका छन् । सोमचन्द्रले ई.सं.९५३ देखि ९७४ सम्म त्यस क्षेत्रमा शासन गरेका थिए । डोटी राज्यको इतिहास निकै लामो छ । अर्को सन्दर्भमा फेरि चर्चा गर्नेछु ।

वास्तवमा नेपाल मठ–मन्दिरहरूले भरिएको मुलुक हो । काठमाडौं उपत्यका मात्र होइन, प्रदेश २ को बारा जिल्लाको सम्रौनगढ कुनै समय दक्षिण एसियाकै समृद्धशाली राज्यको राजधानी थियो । त्यहाँको कला र संस्कृतिले उपत्यकालाई नै मूर्तिमा धनधान्य बनाएको हो भन्न सकिन्छ । सुदूरपश्चिमको बैतडी जिल्ला धार्मिक हिसावले पवित्र मानिन्छ, जहाँ एक दर्जनभन्दा बढी तिर्थस्थल छन् । खासगरी शिव र देवीका मन्दिरहरू बैतडीका एक गाउँमा तीनवटासम्म छन् । पहिले पहिले घरमा दशैं मान्ने चलन थिएन, नौ दिनसम्म मन्दिरमा सामूहिक बसाई हुन्थ्यो, पूजाआजा हुन्थ्यो । एक सय डेढ सयजना अट्ने केही मन्दिरहरू अहिले पनि छन् ।

प्रदेश २ को बारा जिल्लाको सम्रौनगढ कुनै समय दक्षिण एसियाकै समृद्धशाली राज्यको राजधानी थियो । त्यहाँको कला र संस्कृतिले उपत्यकालाई नै मूर्तिमा धनधान्य बनाएको हो भन्न सकिन्छ । सुदूरपश्चिमको बैतडी जिल्ला धार्मिक हिसावले पवित्र मानिन्छ, जहाँ एक दर्जनभन्दा बढी तिर्थस्थल छन् ।

कुल्लेकोट, देउलहाटको मन्दिर, त्रिपुरासुन्दरीको मन्दिर, निगाला शैनी भगवती, जगन्नाथको मन्दिर, ईश्वरी गंगाधाम, पातल भूमेश्वर, राउलाकेदार (रोनेश्वर केदार), देहीमाण्डौं भगवती, धुराकेदार, नङथारा र दोगडाको मन्दिजस्ता ठाउँहरू जिल्लामा चर्चित छन् । त्यसमध्ये पनि दशरथ नगरपालिकामा पर्ने त्रिपुरासुन्दरी मन्दिरमा लाग्ने मेला भर्न भारत कुमाउ गढवालदेखिका भक्तालु आउने गरेका छन् । यो मन्दिर नेपालमा जतिकै भारतको कुमाउँ, गढवालमा पनि ख्याति प्राप्त छ । निगला भगवती, डिला शैनी भगवती, मेलौली नगरपालिकामा पर्ने मेला सैनी भगवती, शिगास केदार, खुमट भगवती, देउलाहाट मन्दिर, रौला केदार (रोनेश्वर) लगायतका मन्दिरहरू प्रसिद्ध छन् ।

दशरथ नगरपालिकाबाट आधाकोश टाढा रहेको कुल्लेकोट दरबारको अहिले भग्नावशेष मात्र बाँकी छ । यत्रतत्र पाइने पुराना फलामका त्रिशुल, देवदेवीका मूर्तिहरू अहिले गायव भएका छन् । दुर्गा भवानीको पुरानो मन्दिरलाई बेवास्ता गरिएका अबस्था छ । कुल्लेकोट दरबारलाई चन्द वंशका राजवारहरूले ईन्साफ गर्ने ठाउँका रूपमा विकास गरेका थिए । यो मन्दिरको नजिकै उत्तरतर्फको कुवाको अस्तित्व पनि अहिले देखिँदैन । जुन कुवामा जम्मा भएको पानी स्थानीयहरूले वर्षभरी खानमा प्रयोग गर्थे । कुल्लेकोट नजिकै रहेको देउलहाट मन्दिर पनि संरक्षणको पर्खाइमा छ । शिवजीका यी मन्दिहरूबारे विभिन्न कहावत सुनाउँछन् स्थानीयहरू । एकाथरीको भनाइ छ– बैतडीका रजवारले एक रातमा पाँचवटा मन्दिर बनाउन लगाएका थिए । रातभरमा चारवटा मन्दिर तयार भयो, एउटा बनाउँदा बनाउँदै उज्यालो भएकाले अधुरो रहन गएको हो । अहिले पनि त्यो मन्दिर अधुरै छ । अर्काथरीको भनाइमा पाँच पाण्डवहरू यहाँ आएर बनाउन लगाएका हुन् । उनीहरूले जस्तो छाडेका थिए, त्यस्तै छाड्नुपर्ने स्थानीयको विश्वास छ ।

यहाँका मन्दिरहरू बैतडीका रजौटाहरूको इष्ट देवता हुन् । मन्दिरभित्र विभिन्न व्यक्तिले समय समयमा चढाएका तरवार, तामाका भाँडा राखिएका छन्, जसको जिम्मा पूजारी भट्टहरूलाई दिइएको छ । जिल्लाका अन्य मन्दिरभन्दा भिन्न शैलीमा निर्माण गरिएको यो मन्दिरमा शिवरात्रीका दिन ठूलो मेला लाग्छ ।

अहिले दशरथ चन्द नगरपालिकामा पर्ने त्रिपुरासुन्दरीको मन्दिर नेपालमा मात्र होइन, भारतको कुमाउँ गढवालमा पनि उत्तिकै चर्चित छ । यो मन्दिरलाई स्थानियहरू राणा शैनी भगवती पनि भन्ने गर्छन् । किंवदन्तीअनुसार नौ दश पुस्ता पहिले जिल्लाको धामी गाउँका एकजना मौनी (क्षेत्री) जातका मानिस डडेलधुरामा जौ किन्न गएका थिए । जौ किनेर ल्याउँदा त्यसै बोराभित्र देवी पाइएकाले जात्रासहित मन्दिरमा भित्र्याइएको थियो । अहिले पनि मन्दिरबाट देवीको मूर्ति निकालेर डोलीमा राखी मन्दिरको परिक्रमा गराउने चलन छ । डोलीको अघिल्लो भागमा मौनी जातीले र पछिल्लो भागमा बैतडीका भट्टहरूले समात्ने चलन छ । कात्तिक अष्टमी र नवमीमा यहाँ ठूलो मेला लाग्छ । अष्टमीका दिन ६८ वटा राँगा, बोकाको बलि दिन परम्परा छ । उक्त दिन बैतडी र भारतको पिथौरागढदेखिका मानिसहरू देवीको पूजा गर्न आउँछन् ।

दशरथ चन्द नगरपालिकामा रहेको जगन्नाथ मन्दिर र ईश्वरी गंगाधामको सम्बन्ध अनौठो छ । जगन्नाथ मन्दिरको गुफाबाट दुःध वा धुवा पठायो भने ईश्वरी गंगाधामको गुफबाट निस्कन्छ भन्ने स्थानीय व्यक्तिहरूको विश्वास छ । मन्दिरको मुख्य भागमा जगन्नाथको प्रतिमा राखिएको छ भने मन्दिरमा दैनिक पूजा हुने गरेको छ । प्रत्येक महिनाको औंशी, पूर्णिमा संक्रान्तिको दिन विशेष पूजा हुन्छ । मूल पर्व भने चैत र असौजको नवरात्री एवं मंसिरको पूर्णिमाको दिन लाग्छ । यो मेलालाई स्थानीयहरू जात भन्दछन् । जगन्नाथ मन्दिरको आप्mनो विशेष अम्दानी छैन, सर्वसाधारण दिएको चन्दाले नै पूजाआजा चलाउने गरिएको छ । नदी किनारमा रहेको ईश्वरी गंगाधामलाई जगन्नाथ मन्दिरको मूल स्थान मानिन्छ । पवित्र तीर्थस्थल मानिने यहाँ माघे संक्रन्ति र वैशाख संक्रन्तिमा ठूलो मेला लाग्छ ।

पालात भूमेश्वरमा ताल र गुफा देख्न सकिन्छ । झन्डै पाँच सय मिटरको गोलाइमा फैलिएको तालको गहिराइ आजसम्म पनि नापजाँच गरिएका छैन । गुफा कति लामो र कति ठूलो छ भन्ने कुरा अनुसन्धान गरेर प्रचारमा ल्याउने हो पिथौरागढदेखि बैतडी वरिपरि जिल्लाको पर्यटनको केन्द्र बन्न सक्छ पालात भूमेश्वर । हरेक संक्रन्तिमा नुहाउने, जनै फेर्ने र बटुकहरूको ब्रतवन्ध गराउने चलन पनि छ यहाँ । शिवरात्रीमा ठूलै मेला लाग्छ ।

२,७४४ मिटरको उचाइमा रौला केदार (रोनेश्वर केदार पनि भनिन्छ) रहेको ठाउँमा शिवजीको मूर्तिमा पूजाआजा गर्ने गरिन्छ । जनश्रुतिअनुसार डोटी दिपायलका राजा नाग मल्लले आप्mनोतर्फबाट एकजना पधेरु (बाहुन) लाई बैतडीको गतिविधि बुझेर आउन पठाएका थिए । चन्द ठकुरीहरूले ती बाहुनलाई मारी त्यो ठाउँलाई आप्mनो नियन्त्रणमा लिए । पछिसम्म गोली गठ्ठा, तोप गोलाबारुदलगायत सशस्त्र हतियारहरू थिए । अहिले पनि चन्दहरूले नै पूजाआजा चलाइरहेका छन् । चैत, साउन र माघ महिनामा र नवरात्रीमा यज्ञ र शिवको पूजा गर्न मान्छेहरूको भीड लाग्ने गर्छ । यहाँबाट ढिक गाड (खोला) निस्केर चौलाने नदीमा मिसिन्छ । नदीको किनारमा खेतीयोग्य जमिन छ ।

बैतडी जिल्लाका सात भगवतीमध्ये देहीमाण्डौं भगवती एक हुन् । यी भगवतीलाई स्थानीयहरू निकाला शैनी पनि भन्ने गर्छन् । निकालको घ ाँचबाट उत्पत्ति भएकाले निकाला शैनी भनिएको हो भन्ने विश्वास छ । यहाँ भाद्र अष्टमीको दिन मेला लाग्ने गर्छ । धुराकेदार जोशी बाहुनहरूको मुख्या देवता हुन् । यहाँ पनि नवरात्रीमा ठूलो मेला लाग्छ । चनेजगौं गाउँ नजिकै रहेको नङथारा (निगला भगवती) र दोगडाको मन्दिर छ । बैतडी गर्खाभरिका मानिसहरूको कुलदेवता हो यो । यहाँका पूजारी लेखक, भडारीहरू छन् र मन्दिरमा बोकाको बलि दिने चलन छ । वर्षमा दुईपटक नवरात्रीमा दुई दिनसम्म पूजा हुन्छ र त्यसै दिन मेला पनि लाग्छ ।