काँग्रेसका पाँच सभापतिका उम्मेदवार, चाणक्य निधिको चर्चा

काँग्रेसका पाँच सभापतिका उम्मेदवार, चाणक्य निधिको चर्चा तरुण खबर १९ भाद्र २०७८, शनिबार ०९:२१
काँग्रेसका पाँच सभापतिका उम्मेदवार, चाणक्य निधिको चर्चा

काठमाडौं । पार्टीको १४औं महाधिवेशन पूर्वनिर्धारित मिति २०७८ मंसिर ( ९–१३) मै सम्पन्न गर्ने कुरामा प्रमुख सत्ताधारी दल नेपाली काँग्रेसले तयारी गरेको छ । कोरोना संक्रमणको वृद्धि यही अनुपातमा हुँदै गयो भने दुई चार महिना पर सर्ने कुरामा पनि पार्टीभित्र कहीँ कतै विवाद देखिँदैन, तर संविधानले पार्टीको एक महाधिवेशन र अर्को महाधिवेशनबीचको अवधि साढे पाँच वर्षभन्दा बढी हुन नहुने स्पष्ट व्यवस्था गरेको छ । त्यसैले नेपाली काँग्रेसको १४औं महाधिवेशन २०७८ भदौभित्र सम्पन्न गरिसक्नुपर्ने संवैधानिक बाध्यता थियो तर बाध्यताबस मंसिर ९ गतेदेखि १३ सम्म पु¥याइएको छ ।

सामान्य अवस्थामा ३ महिनाभित्र र असामान्य अवस्थामा थप गरी एक–दुई महिनाभित्र हुने प्राय निश्चित छ । तर सभापति पदमा को कोबीच प्रतिस्पर्धा होला ? भन्ने स्पष्ट तस्विर अझै आइसकेको छैन । विगतमा जस्तै संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच नै प्रतिस्पर्धा हुने निश्चित भए पनि संस्थापन पक्षबाट शेरबहादुर देउवा नै उठ्ने लगभग पक्का छ । र, इतर पक्षबाट को ? भन्ने प्रश्नको उत्तर आइसकेको छैन । यतिबेला दुवै पक्षबाट गरी पाँच जनाको नाम चर्चामा छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले दोहो¥याउने इच्छा देखाएका छन् ।

तरुण विश्लेषण

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिलाई नेपाली कांग्रेसभित्रको चाणक्य भन्ने गरिन्छ । निधिलाई चाणक्यको संज्ञा गिरिजाप्रसाद कोइरालाले २०५७ सालमा पोखरामा सम्पन्न दशौं महाधिवेशनपछि दिएका हुन् । त्यतिबेला नेपाली कांग्रेसभित्र गिरिजाप्रसाद कोइराला चुनौतीविहीन नेता थिए । इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल नै दोहो¥याउने अनुमान एकथरीले गरेका छन् भने अर्काथरीले केन्द्रीय सदस्य डा. शेखर कोइराला वा महामन्त्री डा.शशांक कोइराला या पूर्वउपसभापति प्रकाशमान सिंहमध्ये एकजनालाई अघि सारिने अनुमान गरेका छन् । विगतमा तेस्रो धु्रव खडा गरेर महामन्त्रीको उम्मेदवार बनेका गगन थापा यसपटक राचन्द्र पौडेल समूहमा गएका छन् । तर गगनको हकमा उनका ससुरा अर्जुननरसिंह केसी सकारात्मक भए पनि नेता कृष्णप्रसाद सिटौलाले के गर्लान् ? भन्ने अन्योल यथावत् छ । यस पटक गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । संस्थापन पक्ष या इतर पक्षतिर लाग्नुपर्ने हुन्छ, कि त राजनीतिक सक्रियता त्याग्नुपर्ने हुन्छ । त्यसैले उपसभापति लिएर सिटौलाले आफ्नो समूहलाई कतै एडजस्ट गाराउँने अबस्था सिर्जना हुने सम्भावना छ ।

शेरबहादुर देउवा कि विमलेन्द्र निधि ?
यतिबेला नेपाली काँग्रेस वृत्तमा मुख्य चर्चा भने सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिकै छ । किनकि देउवा र निधि दुवैजना प्रतिस्पर्धामा उत्रे भने स्वतः इतर पक्षको पल्लाभारी हुन्छ । यद्यपी, एकजना सभापति बन्ने र पार्टीले अवसर प्राप्त गरेपछि अर्कोजना प्रधानमन्त्री या राष्ट्रपति बन्ने गरी देउवा र निधिबीच सहमति हुने सम्भावना थियो, अहिले पनि त्यो सम्भावना टरिसकेको छैन । पाँचपटक प्रधानमन्त्री बनिसकेका देउवा मुलुकका सबैभन्दा बढी राजनीतिक उचाइ भएका नेता हुन् । तर रणनीतिक चातुर्यता तथा योगदानको हिसावले निधि पनि त्यति नै प्रखर नेता मानिन्छन् । यी दुई जना नेताको संयोजनकै कारण संस्थापन पक्षले नेपाली काँग्रेसमा अहिलेको स्ट्रेन्थ प्राप्त गरेको हो । संस्थापन पक्षमा यी दुई नेतालाई एउटा रथको दुई पांग्राका रूपमा लिने गरिएको छ ।

निधि र देउवाबीचको घनिष्ठ सम्बन्ध २०२९ सालदेखिकै हो । २०२९ सालमा चितवनमा सम्पन्न नेवि संघको दोस्रो महाधिवेशनमा कृष्णप्रसाद भट्टराईले रामचन्द्र पौडेललाई अध्यक्षका रूपमा अघि सार्ने प्रस्ताव गरेको सन्देश लिएर निधि बीपि कोइरालालाई भेट्न बनारस गएका थिए । निधि बनारसबाट फर्केपछि परिस्थिति बदलियो, पौडेलको सट्टा देउवा नेविसंघको अध्यक्ष बने । नेपाली काँग्रेसमा सुदूरपश्चिमबाट पनि नेतृत्व स्थापना गर्दा उपयुक्त हुने निधिको तर्कबाट त्यतिबेला बीपी कोइराला धेरैनै प्रभावित भए । तेस्रो महाधिवेशनमा पनि देउवा नै दोहोरिने अनुमान धेरैले गरेका थिए, निधिसमेत यही पक्षमा थिए, तर बीपी कोइरालाले निधिलाई बोलाएरै भने–‘अधिवेशन जनकपुरमै गर्ने हो, अध्यक्ष तिमी नै बन्नुपर्छ, तयार हुनु’ भनेपछि निधिले युद्धस्तरमा तयारी अघि बढाए । २०३६ चैतमा तेस्रो महाधिवेशन सुरु भयो । बीपी कोइराला स्वयंले उद्घाटन गरे ।

तर बेनुप प्रसाईसमेत अध्यक्षको दावेदार बनेर निस्केपछि परिस्थितिले नयाँ मोड लियो । आफ्नो छोरासमेत भएको कारण देखाउँदै महेन्द्रनारायण निधिले विमलेन्द्रलाई चुनावी मैदानमा नउतार्ने अडान लिएका थिए । पिता निधिको भनाइ थियो– ‘अरु ठाउँमा महाधिवेशन भएको भए निर्वाचनमा विमल उम्मेदवार हुने कुरालाई म स्वीकार गर्थेँ, तर मेरै ठाउँमा महाधिवेशन भएका कारण विमल उम्मेदवार बन्दैन ।’ पिता निधिको यो अडानले बीपी संकटमा परे । वेनुप प्रसाईलाई कन्भिन्स गराएर बीपीले निधिलाई नेवि संघको सर्वसम्मत अध्यक्ष बनाए ।

निधिबाहेक अर्को विकल्प बीपीले नदेख्नुमा देउवाको भूमिका पनि उत्तिकै रहेको बताइन्छ । किनभने देउवाले नै नेविसंघको महाधिवेशन गर्न बीपीलाई विमलेन्द्र निधिले नै सहमत गराएका थिए । त्यसबेला त्रिभुवन विश्वविद्यालयको स्ववियु अध्यक्षमा चुनाव जितेका यज्ञ अधिकारीलाई तदर्थ समितिको संयोजक बनाएर नेविसंघको महाधिवेसन गर्नुपर्ने आवाज उठेको थियो । निधिले आफू नेविसंघको अध्यक्ष बन्ने कल्पनासमेत गरेका थिएनन् । तर तत्कालीन विद्यार्थी नेता ज्ञानेन्द्रबहादुर कार्की र राजेन्द्र खरेलले भने नेविसंघको अध्यक्ष बन्न निधिलाई प्रस्ताव नै राखेका थिए ।

जसरी नेविसंघमा देउवा र निधि सहकार्य गर्दै एकले अर्कोलाई अध्यक्ष बनाउने भूमिका निर्वाह गरेका थिए, ठीक त्यही परिस्थिति पार्टीमा पनि देखिएको छ । देउवालाई नेपाली कांग्रेसको सभापति बनाउन निधिले २० वर्षको यो अन्तरालमा के कस्ता रणनीतिक चातुर्यता अपनाए ? भन्ने कुरामा नयाँ पुस्ता पनि अनभिज्ञ छैन । त्यही कारण निधिलाई नेपाली कांग्रेसभित्रको चाणक्य भन्ने गरिन्छ ।

गिरिजाप्रसाद कोइरालाको विरुद्ध सभापति पदमा चुनाव लड्ने हिम्मत कसैको थिएन । २०५३ सालमा चुनाव लडेका चिरञ्जीवी वाग्लेलाई भ्रष्टाचारको आरोपमा बद्नाम गरिसकिएको थियो । यस्तो अवस्थामा कोइरालाविरुद्ध सभापति पदमा उम्मेदवारी दिन कृष्णप्रसाद भट्टराईले निधिलाई निर्देशन दिए । तर निधिले कोइराला पक्षले एकलौटी रूपमा महाधिवेशन प्रतिनिधि ल्याएको अवस्थामा घुमाउरो ढंगले अघि बढ्नुपर्ने तर्क राख्दै भने– ‘दुई हजार महाधिवेशन प्रतिनिधिमध्ये हाम्रा मुस्किलले पाँच सय हुन्छन्, यस्तो अवस्थामा हामी सबै सधैंका लागि बढारिन सक्छौं, त्यसैले शेरबहादुरजीलाई हामीतिर ल्याएर उनैको नेतृत्वमा टिम बनाउँ, उनले कोइराला पक्षका दुई–तीन सय भोट तानेछन् भने पनि हाम्रो टिमबाट दुई–चारजनाले भए पनि केन्द्रीय सदस्य जित्ने सम्भावना रहन्छ ।’ निधिको यो तर्कलाई भट्टराईले सहर्ष स्वीकार गरे । नभन्दै निधिले भने जस्तै परिणाम आयो । यो परिणाम आउनुको मुख्य डिजाइनर निधि नै भएको थाहा पाएपछि कोइरालाले चाणक्यको संज्ञा दिएका हुन् ।

विगत ४७ वर्षदेखि आफूमाथि निधिले लगाउँदै आएको यो गुण पार्टी सभापति शेरबहादुर देउवाले तिर्ने भनेको यहीपटक हो, अझै समय घर्की सकेको छैन । फेरि पालो आउने सम्भावना पनि छैन । १५औं महाधिवेशनमा त निधिको उमेर पनि ७० वर्ष नाघिसक्छ । निधिको योगदान तथा क्षमता कोइराला परिवारले बीपीकै पालादेखि चिन्दै आएको हो । यसैगरी नेपाली काँग्रेसको ७५ वर्ष लामो इतिहासमा मधेसी समुदायका नेताले पार्टीको नेतृत्व आफ्नो काँधमा थाप्ने तयारी गरेको यो पहिलोपटक हो । अब पछि पनि यो उचाइमा पुग्न सक्ने नेताहरू नेपाली काँग्रेसले मधेसी समुदायभित्र जन्माउन सकेको छैन । जबकि मुलुकको कुल जनसंख्याको ३० प्रतिशत मधेसी समुदायको छ ।