२१ जिल्लाको क्रियाशील सदस्यको विवाद अझै मिलेन

२१ जिल्लाको क्रियाशील सदस्यको विवाद अझै मिलेन तरुण खबर २१ भाद्र २०७८, सोमबार १०:०२
२१ जिल्लाको क्रियाशील सदस्यको विवाद अझै मिलेन

काठमाडौं । नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ-नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ । काँग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ४४ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

क्रियाशील सदस्यताको विषय टुंगो नलाग्दा काँग्रेसको २१ जिल्लामा वडा अधिवेशन अझै अनिश्चित बनेको छ । केन्द्रीय कार्यालयले विवाद समाधान गरी केन्द्रीय निर्वाचन समितिलाई विवरण बुझाउन नसक्दा अधिवेशन अनिश्चित बनेको हो । निर्वाचन समितिले केन्द्रीय कार्यालयले क्रियाशील सदस्यताको विवरण उपलब्ध नगराउँदा अधिवेशनको मिति तय हुन नसकेको बताएको छ । निर्वाचन समितिले सम्पूर्ण तयारी पूरा गरी सदस्यता विवरणको पर्खाइमा रहेको जानकारी दिएको छ । आइतबारसम्म ४४ जिल्लाका वडाहरूमा अधिवेशन सम्पन्न भएका छन् ।

क्रियाशील विवाद टुंगिन बाँकी स्थानहरूमा प्रदेश नम्बर १ को मोरङ, प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी बाग्मती प्रदेशतर्फ काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र काठमाडौं, लुम्बिनी प्रदेशका बाँके, बर्दिया र कपिलवस्तु कर्णाली प्रदेशको डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको बाजुरा, डँडेल्धुरा र कैलाली जिल्ला रहेका छन् । क्रियाशील सदस्यता नामावली प्रकाशित भएका जिल्लामध्ये शुक्रबार र शनिबार झापा र मुस्ताङ तथा आइतबार दाङमा वडा अधिवेशन सम्पन्न भएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

त्यस्तै, २०७८ भदौ २१ गते सुनसरी, नुवाकोट, धादिङ, चितवन, ललितपुर, पाल्पा, बागलुङ, नवलपुर, सल्यान, मुगु र बैतडीमा वडा अधिवेशन हुँदैछ । भदौ २२ गते गुल्मी, रोल्पा, प्युठान, कालीकोट र दार्चुला तथा भदौ २३ गते रुकुमपूर्व र रुकुमपश्चिममा अधिवेशन हुन लागेको उनले बताए । यसबाहेक क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली भने क्रमशः प्रकाशित हुँदै जाने छ । यही भदौ २७ गते निर्धारित गाउँ÷नगरपालिका अधिवेशनसम्म सबै जिल्लामा वडाको अधिवेशन सम्पन्न गर्ने योजना रहेको पार्टी कार्यालयले जनाएको छ ।

निर्वाचन समितिले भने अधिवेशन सम्पन्न गर्न कम्तीमा पाँच दिनअघि क्रियाशील सदस्यता सूची प्राप्त हुनुपर्ने माग गरेको छ । त्यसमध्ये पनि डोल्पा र रसुवामा भने भौगोलिक विकटताका कारण निर्वाचन सामग्री पठाउन थप समय लाग्ने संयोजक महादेव यादवले जानकारी दिएका छन् । क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी रहेका २१ जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको समितिले जनाएको छ ।