काभ्रेको रोशी, जहाँ पर्यटकीय र धार्मिक दृष्टिकोणले पुग्नै पर्ने ठाउँ

काभ्रेको रोशी, जहाँ पर्यटकीय र धार्मिक दृष्टिकोणले पुग्नै पर्ने ठाउँ परशु घिमिरे २३ भाद्र २०७८, बुधबार १०:१५
काभ्रेको रोशी, जहाँ पर्यटकीय र धार्मिक दृष्टिकोणले पुग्नै पर्ने ठाउँ

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला देशको राजधानी काठमाडौंबाट जिल्ला प्रवेशद्वार साँगा २१ किलोमिटर पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ किलोमिटरको दूरीमा छ रोशी गाउँपािलका । रोशी गाउँपालिका पुग्न धुलिखेलबाट २५ किलोमिटको दूरीमा छ । २०२१ सालअघि पूर्व १ नम्बर चौताराबाट प्रशासित २८ मौजाहरूमध्ये दुई मौजा काभ्रे र पलाञ्चोक थिए । यिनै दुई मौजाको नामबाट काभ्रेपलाञ्चोक जिल्लाको नाम रहन गएको हो बुढापाकाहरु सुनाउँछन् । नेपालका ७७ जिल्लामध्येमा पर्ने काभ्रेपलाञ्चोक जिल्लाको पूर्वमा रामेछाप र दोलखा जिल्ला, पश्चिममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला, उत्तरमा सिन्धुपाल्चोक जिल्ला, दक्षिणमा सिन्धुली र मकवानपुर जिल्ला पर्दछन् । पूर्वमा सुनकोसी, पश्चिममा नगरकोट डाँडा एवं साँगा भन्ज्याङ, उत्तर इन्द्रावती एवं सुनकोसी नदी र दक्षिण कोखाजोर एवं खानी खोलाले सीमा छुट्ट्याएको यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ । समुद्र सतहदेखि ३१८ मिटर (कोखाजोर खोला) देखि ३०१८ मिटर (बेथानचोक नारायणडाँडा) सम्मको उचाइ रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू–धरातलले भरिएको छ । रोशी गाउँपालिका भित्र केही पर्यकीय गन्तव्य र केही धार्मिक हिसावले महत्वपूर्ण स्थानहरु छन् । जुन यसप्रकार छ–

भूमिचुलीः प्रख्यात धार्मिकस्थल भूमिचुली मन्दिर वडा नम्बर ९ मा पर्छ । भूमिचुलीलाई तामाङ भाषामा ज्योमोगाङ भनिन्छ । २३ सय मिटर उचाइमा रहेको भूमिचुली मन्दिरमा खडेरी परेको बेला प्रत्येक घरधुरीबाट एक एकजना पुगेर पानी माग्दै पूजा गर्ने चलन छ । उनीहरू फर्केर आफ्नो घर नआइपुग्दै ठूलो पानी पर्ने गरेको अनेकौं उदाहरण छन् । भूमिचुलीको टाकुरामा एउटा विशाल ढुंगा छ । त्यो ढुंगा कसैले टुक्रुक्क राखिदिएको जस्तो देखिन्छ । थोरै बल प्रयोग गरेर धकेल्नासाथ पल्टिहाल्छ कि जस्तो देखिन्छ । तर कयौं पटक ठूला भूकम्प गए, तर त्यो ढुंगा हल्लिएको छैन । कसरी अडिएको होला ? देख्नेहरूको दिमाग नै चक्कराउँछ । त्यो ढुंगालाई बाघका रूपमा पूजा गरिन्छ । त्यो बाघले यस क्षेत्रको संरक्षण गरिरहेको जनविश्वास छ ।

यस विषयमा स्थानीय बूढापाकाहरू किंवदन्ती सुनाउँदै भन्छन्– ‘यस क्षेत्रमा एकजना तान्त्रिक सिकारी थिए । उनी तन्त्रबलमार्फत बाघ बनेर सिकार गर्न जान्थे । सिकार घरमा ल्याएपछि फेरि मानिस नै बन्थे । यसरी नै उनको जीवनस्तर चलिरहेको थियो । उनको विवाह भएछ । नयाँ दुलहीलाई केही अक्षता दिएर भनेछन्– ‘म बाघ बनेर सिकार खेल्न जाँदैछु, सिकार लिएर आएपछि मलाई यही अक्षता छर्किदिनु ।’ बाघको रूपधारण गरी बेलुका उनले मृग सिकार गरी ल्याएछन् । आफ्नो घरको आँगनमा आइपुग्नेबित्तिकै नयाँ दुलही डराएर घरभित्र पुगी अक्षेता अँगेनामा हालिदिइछन् । बाघरूपी ती सिकारीले हत्तपत्त अँगेनामा हात हालेर अक्षता झिक्ने प्रयास गरेछन् । तर प्रयास असफल भएछ । उल्टै उनको हातको पञ्जाको एउटा औंला डढेछ । तान्त्रिक विधिद्वारा तयार गरेको अक्षेता श्रीमतीले छर्कन नपाएका कारण उनी मान्छेमा रूपान्तरण हुन सकेनछन् । त्यसपछि बाघकै रूपमा जंगलमा गएर बस्न थालेछन् । अहिले पनि त्यस क्षेत्रमा डुल्ने बाघको पञ्जाको पैताला हेर्दा एउटा नंग्रा नदेखिने स्थानीयहरू बताउँछन् । त्यो बेलाका ती तान्त्रिक नै अहिलेसम्म पनि बाघका रूपमा घुमिरहेको र त्यस क्षेत्रको संरक्षण गरिरहेको जनविश्वास छ । यही जनविश्वासका आधारमा भूमिचुलीको त्यो मन्दिरमा पूजाआजा गरिन्छ ।

शिखरआम्बोटेको नारायणको मन्दिर
शिखर आम्बोटेमा रहेको नारायणको मन्दिरले अझ बढी संरक्षण र ऐतिहासिकताको खोज गरिराखेको छ । मन्दिरको नाम नारायण हो, तर सँगसँगै शिवलिंग पनि राखिएको छ । अनि मन्दिरसँगै ठूलो शिलालेख पनि छ । तर त्यो शिलालेखलाई इनामेलले पोतेर रंगीन बनाइएको छ भने शिलालेखमा कुँदिएको अक्षर सामान्य व्यक्तिले बुभ्mने भाषामा छैन । तुलनात्मक रूपमा चारैतिर समथरजस्तो देखिने भूभागको बीचमा ठूलो क्षेत्र ओगटेर पहाडझै लाग्ने गरी मन्दिर बनाइएको छ । मन्दिरबाट करिब दुई सय मिटर तल समथर खेतमा खडा गरिएको बसाहाको भव्य प्रतिमाले यो मन्दिर कुनै कालखण्डमा निकै ठूलो भू–भाग ओगटेर बनाइएको त थिएन भन्ने आशंका पैदा गराइदिएको छ । झट्ट हेर्दा बसाहामा पनि केही लिपी वा संकेत चिन्ह कुदिएको स्पष्ट देखिन्छ । खोज र अनुसन्धानको अभावमा निजी खेतमा रहेको बसाहा खेतालाहरूको बोझ र हँसिया उज्याउने गरिएका कारण खिइँदै गएको छ । यसको एक भाग निकै सानो भइसकेको छ ।

शिखरआम्बोटेको भद्रकाली
काठमाडौं भद्रकाली निकै प्रसिद्ध छ । यस्तै, प्रसिद्ध भद्रकाली शिखरआम्बोटेमा पनि छ । यो भद्रकालीको प्रसिद्धिका कारण नेपाल एकीकरणका बेला श्री ५ पृथ्वीनारायण शाहले चढाएको विश्वास गरिने तरबार र त्रिशूल मन्दिरभित्र अझै पनि देख्न सकिन्छ । तर यो स्थान पनि केही निजी घर, जग्गा छिचोल्दै पुग्नु पर्छ । यो मन्दिरमा वि.सं. १९७२ सालमा बलवीर लामाले चढाएको घण्ट चिराचिरा परेको अवस्थामा छ । वैशाख पूर्णिमाको दुई दिनअघि यहाँ धुमधाम मेला लाग्छ । चार रोपनी क्षेत्रफलमा सीमित यो मन्दिरमा भाकल गर्दा मनोकांक्षा पूर्ण हुने विश्वास अहिले पनि छ ।

ऐतिहासिक मंगलटारको विकास
लमजुङको घलेगाउँ, तनहुँको बन्दीपुरजस्तै विगतमा समृद्ध, तर अहिले उजाड मंगलटार बजारको ऐतिहासिक बजारलाई पुरातन शैलीकै झझल्को दिने गरी आधुनिक रूपमा विकास गर्न सकिन्छ । भएका घरहरूको पुनर्निर्माण वा सुधार गरेर पुरानै शैली कायम रहने गरी आधुनिक बस्तीका रूपमा मंगलटारलाई विकास गर्न सकिने यथेष्ट सम्भावना छ । राजमार्गसँगै जोडिएको मंगलटारको बजार राजमार्गभन्दा माथि रहेको पुरानो बजारलाई नयाँ र सहज पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर त्यहाँबाट रोशी भित्रका महत्वपूर्ण स्थलहरूसमेत जोडी पदयात्रा मार्गको विकास गर्न सकिन्छ । साथै, त्यहाँ रहेका साना–ठूला सबै मठमन्दिर र ऐतिहासिक स्थलहरू भव्यता झल्कने गरी पुनर्निर्माण गर्न आवश्यक छ ।

पानीमुनि देवताको उत्पत्ति
२०७६ मंसिरको पहिलो शनिबार । अन्य बिदाको दिनमा जस्तै त्यो दिन पनि गाईबाख्रा चराउन गएका स्थानीय बालबालिकाहरू रोशी नदीको पानीमा खेल्दै थिए । १२ वर्षीया सुकमाया तमाङले पानीमुनिको एउटा ढुंगामा मानव आकृति देखिनँ । उनले नियालेर हेर्दा त्यो आकृति आफ्नो पाठ्यपुस्तकमा रहेको भगवान् गौतम बुद्धको तस्बिर जस्तै देखियो । उनले अरू साथीहरूलाई भनिन्– ‘हेर त पानीमुनि बुद्ध भगवान् सुतेका ।’ अरू साथीहरूले पनि हेरे । बुद्ध भगवान् नै देखे । त्यसपछि बेलुका घर फर्केर सबैले रोशीको पानीमुनि बुद्ध भगवान् सुतिरहेको बताए । बूढापाकाले तत्काल पत्यार नमाने पनि के रहेछ त भनेर भोलिपल्ट हेर्न पुगे । नभन्दै भगवान्को आकृति सबैले देखे । त्यसपछि यत्रतत्र यो समाचार फैलियो ।
डालाबेसी बगुवाफाँट नदीको पानीमुनि भेटिएको यो मूर्तिलाई आ–आफ्नो आस्थाअनुसार कसैले शिवको रूपमा कसैले बुद्धको रूपमा र कसैले विष्णुको रूपमा आराधना गर्न थालेका छन् । मानिसहरूको भीड लाग्न थालेको छ । तर यसको संरक्षण कसरी गर्ने ? भन्ने विषयमा छलफल जारी छ । कसैले त्यो मूर्तिलाई बाहिर कुनै सुरक्षित ठाउँमा लगेर मन्दिर बनाई राख्नुपर्ने सुझाव दिएका छन् भने कसैले यथास्थानमै जस्ताको तस्तै संरक्षण गर्नुपर्ने सुझाव दिएका छन् । यस विषयमा कुनै निक्र्योल गर्न नसकिएको वडाध्यक्ष मिलन लामाले बताएका छन् । नदीकै विशाल ढुंगामा यो मूर्ति बनेको रहेछ भने वर्षायाममा बाढीले असर नपु¥याउला, यदि तिमाल या गोदावरी क्षेत्रबाट वा अन्यत्रबाट बाढीले बगाउँदै यहाँसम्म ल्याएको हो भने अर्को वर्षको बाढीले फेरि बगाइहाल्छ । त्यसैले मूर्ति रहेको ढुंगाको आकार सर्वप्रथम पत्ता लगाउनुपर्छ उनले भनेका छन् ।

नदीले बगाउन नसक्ने आकारको ढुंगामा मूर्ति रहेको पुष्टि भयो भने यथास्थानमा संरक्षण कसरी गर्ने ? भन्ने चुनौती पनि त्यत्तिकै छ । ‘यो क्षेत्र रोशीले धार बदलिरहने क्षेत्र हो, अहिले रोशी यहाँ छ, अर्को वर्ष बाढी आउँदा धार परिर्वतन भई पाँच सय मिटर पर पुग्न सक्छ । यो मूर्ति बगरले छोपिन सक्छ ।’ यसैगरी, रोशीको पानी वर्षामा धमिलो हुने भएकाले मूर्ति नदेखिने अवस्था एकातिर छ भने अर्कातिर क्रसर उद्योगका कारण यस क्षेत्रको रोशीमा अक्सर धमिलो पानी बग्न थालेको छ । धमिलो पानीका कारण मूर्ति नदेखिन सक्छ ।
बीपी राजमार्गमा ओहोरदोहोर गर्ने यात्रुहरूले एकपटक यो मूर्तिको दर्शन गरिदिए मात्रै पनि यस क्षेत्रमा आन्तरिक पर्यटन फस्टाउने भएकाले यसलाई व्यवस्थित तथा प्रचारप्रसारका लागि रोशी गाउँपालिका जुट्नुपर्ने स्थानीय बासिन्दाको भनाइ छ । (स्थलगत अध्यायनका आधारमा)