अफगानिस्तानमा तालिवान विरुद्ध काबुलमा विशाल प्रदर्शन

अफगानिस्तानमा तालिवान विरुद्ध काबुलमा विशाल प्रदर्शन तरुण खबर २३ भाद्र २०७८, बुधबार १२:०८
अफगानिस्तानमा तालिवान विरुद्ध काबुलमा विशाल प्रदर्शन

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा आयोजित एउटा विशाल विरोधप्रदर्शनमा सहभागीहरूलाई तितरबितर पार्न तालिबानले हावामा गोली चलाएको छ । घटनास्थलमा खिचिएको भिडिओमा गोली चलेको आवाज सुनिन्छ । र, मानिसहरू भाग्दै सुरक्षित ठाउँतिर गएको देखिन्छ । काबुलका सडकमा मङ्गलबार हजारौँ प्रदर्शनकारीहरूले महिला अधिकार सुरक्षित हुनुपर्ने माग राख्दै तालिबान शासनको निन्दा गरेका थिए । उनीहरूले पाकिस्तानविरुद्ध पनि नारा लगाएका थिए । धेरै मानिसहरू छिमेकी देश पाकिस्तानले तालिबानको पृष्ठपोषण गरेको भनेका छन् । तर पाकिस्तानले त्यस्तो आरोपको खण्डन गर्ने गरेको छ । तालिबान शासनमा फर्किएको हर्षोल्लासमा बढाइँ गर्दा केही मानिसको मृत्यु भएपछि गत साता तालिबानले हावामा गोली चलाउन प्रतिबन्ध लगाएको थियो ।

केही पत्रकारहरूलाई काबुलको ¥यालीको तस्बिर तथा भिडिओ खिच्न रोक लगाइएको थियो । एक अफगान सामाचारसंस्था तोलोका अनुसार उसका एक क्यामराम्यान तथा अन्य स्थानीय र विदेशी सञ्चारकर्मीहरू पक्राउ परेका छन् । गत साता अफगानिस्तानमा महिलाहरू तालिबानको विरोधमा सडकमा ओर्लिएका थिए । मङ्गलवार पुरुषहरूले पनि महिलाका लागि समानता र सुरक्षाको माग राख्दै एकबद्धता व्यक्त गरेका थिए । पन्जशिर उपत्यकामा तालिबान शासनको विरोधमा सङ्घर्ष गरिरहेको समूहका नेताले तालिबानविरुद्ध “राष्ट्रव्यापी विद्रोह“ गर्न आह्वान गरेको भोलिपल्ट काबुलमा नागरिकहरूले विशाल प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ठूलो संख्यामा युवतीहरू सहभागी भएका थिए ।

स्थानिय सञ्चारकर्मीका अनुसार प्रहरीको गाडीमा तालिबान लडाकुहरू पहिला प्रदर्शनकारीसँगै हिँडेका थिए । उनीहरूले प्रदर्शन गर्न रोकेका थिएनन् । तर पछि उनीहरूले भिड तितरबितर पार्न आकाशमा गोली हाने अनि हामी र अरू पत्रकारलाई दृश्य खिच्न दिएनन् सञ्चारकर्मीले जानकारी दिए भनी बीबीसी अनलाइन संस्करणमा छ । तालिबानले महिलालाई सरकारमा संलग्न गर्न सक्ने तर मन्त्री बनाउन नसकिने बताउने गरेको छ ।

सोमवार एउटा पत्रकार सम्मेलनमा बोल्दै तालिबानका एक प्रवक्ताले पन्जशिर आफ्नो नियन्त्रणमा आइसकेको बताएका थिए । अनि त्यहाँका बासिन्दालाई “बन्धु“ भन्दै आश्वस्त पार्न खोजेका थिए । तालिबानले तीन हप्ताअघि अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको थियो । राजधानी काबुलमा उसले अगष्ट १५ तारिखमा नियन्त्रण कायम गरेको थियो । भिरालो पर्वतले घेरिएको पन्जशिर उपत्यकामा डेढदेखि दुई लाख मानिसहरू बसोबास गर्छन् । यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि पन्जशिर उनीहरूको नियन्त्रणमा गएको थिएन । सन् १९८० को दशकमा सोभियत सेनाविरुद्ध र सन् १९९६ देखि २००१ सम्म तालिबानको प्रतिरोध भएको थियो । सोमवार सामाजिक सञ्जालमा प्रेषित एउटा श्रव्य सामग्रीमा एनआरएफका नेता अहमद मसूदले तालिबानविरुद्ध देशभरि विद्रोह गर्न आह्वान गरेका थिए ।

धार्मिक नेताहरूको आग्रहलाई अनादर गर्दै लडाकुहरूले उनको सेनालाई आक्रमण गरेको र उनको परिवारका सदस्यहरू पनि आइतवार मारिएको उनले बताए । अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई वैधानिक बनाइदिएको तथा सैन्य र राजनीतिक आत्मविश्वास बढाउन सघाएको आरोप उनले लगाएका छन् । सन् १९८० को दशकमा पन्जशिरमा सोभियत सेनाविरुद्ध र सन् १९९६ देखि २००१ सम्म तालिबानको प्रतिरोध भएको थियो । स्थानीय कबिलाका नेता अहमद मसूदले अहिले तालिबानविरुद्धको सङ्घर्षको नेतृत्व गरिरहेका छन् । यसअघि उनका पिताले सोभियत सेना र तालिबानको प्रतिरोध गरेका थिए । तर सेप्टेम्बर ११ को घटना हुनु दुई दिनअघि उनको हत्या भएको थियो ।