शक्ति प्रयोग गरेरै बजेट सम्बन्धि प्रतिस्थापन विधयक प्रस्तुत

शक्ति प्रयोग गरेरै बजेट सम्बन्धि प्रतिस्थापन विधयक प्रस्तुत तरुण खबर २६ भाद्र २०७८, शनिबार १०:००
शक्ति प्रयोग गरेरै बजेट सम्बन्धि प्रतिस्थापन विधयक प्रस्तुत

काठमाडौं । संसदीय अभ्यासको सामान्य प्रक्रियामा अस्वाभाविक ठानिने ढङ्गले सरकारले प्रतिनिधि सभामा बजेट सम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गरेको छ । सबैभन्दा ठूलो दल नेकपा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका बेला सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई उक्त बाटो खुला गरिदिएका हुन् । अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटका केही विषय फेरबदल गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

विधेयक प्रस्तुत गरिएपछि सभामुख अग्निप्रसाद सापकोटाले आइतवारसम्मको निम्ति प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् । बैठकपछि अर्थमन्त्री जनार्दन शर्माले विपक्षी दल एमालेसँग सहमतिको प्रयास विफल भएपछि संविधानको व्यवस्थाअनुसार सरकारले विधेयक प्रस्तुत गरेको प्रतिक्रिया दिए । प्रतिनिधिसभाको बैठकको कारबाही अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक प्रारम्भ हुन्छ भन्ने शब्द भूँइमा नखस्दै प्रमुख प्रतिपक्षी दल एमालेकी सचेतक शान्ता चौधरीलगायत एमालेका अधिकांश कुदेर वेलमा पुग्थे । सांसद भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, इश्वर पोखरेल वेलमा त पुग्थे तर नाराबाजी गर्दैनथें । किन भने एमालेले निश्कासन गरिसकेका १४ जना सांसदलाई संसदमा प्रवेश गर्न दिइएको थियो । प्रतिपक्षीको होहल्ला र नेकपा (एस) का सांसदको झिनो प्रतिरोधका बीच १८ मिनेटमा पहिलो बैठक स्थगित भयो । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिए । आफूतिर हेरिरहेका प्रधानमन्त्री शेरबादुर देउवातिर नहेरी ओली बाहिरिएका थिए ।

यसअघि पटकपटक एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिकालाई लिएर चर्को असन्तुष्टि प्रकट गर्दै आएका छन् । आफूले निष्कासन गरेका सांसदबारेको सूचना जारी नगरेको भन्दै एमालेले माधवकुमार नेपाल पक्षका सांसदलाई गैर सांसद भन्दै आएको छ । एमालेले उनीहरूको उपस्थितिमा बैठक चल्न नदिने घोषणा गरेको छ । त्यसैअनुसार नै एमालेले बैठकमा नाराबाजी गर्दै आएको छ । विरोध र नाराबाजी भइरहँदा सत्ताधारी र विपक्षी सबै पार्टीका प्रमुख नेताहरू बैठकमा सहभागी थिए । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले सहमतिको आधारमा अघि बढ्नुपर्ने बताउँदै भने– यो राम्रो होइन । सामान्यतः एकजना सांसदले समेत उभिएर विरोध जनाउँदा त्यसलाई संसद् अवरोध मान्ने संसदी व्यवस्था भएका मुलुकमा प्रचलन पाइन्छ ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका अनुसार एमालेले शुक्रवारको संसद् बैठक पनि अवरोध गर्ने योजनाबारे सत्तापक्षले पूर्वानुमान गरेको थियो । त्यसबारे बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता पक्षीय गठबन्धनको बैठकमा छलफल भएको थियो । सांसद दुर्गा पौडेलले भनिन्– एमालेले अवरोध गरे पनि विधेयकहरू पेस गरेर अघि बढ्ने सहमति बालुवाटारमै बनेको थियो । राष्ट्रिय सभामा पनि एमालेले विरोध जनाए पनि प्रतिनिधि सभामा जस्तो खिचातानी भएन । गृहमन्त्रीले त्यस बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश प्रस्तुत गरेका छन् । अर्थमन्त्री शर्मा भने प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्न दौडिएर गएको देखिएको थियो ।