नेपालमा भदौ २७ गतेसम्ममा ७ लाख ७६ हजार ३२५ कुल संक्रमित

नेपालमा भदौ २७ गतेसम्ममा ७ लाख ७६ हजार ३२५ कुल संक्रमित तरुण खबर २७ भाद्र २०७८, आईतवार ०९:१०
नेपालमा भदौ २७ गतेसम्ममा ७ लाख ७६ हजार ३२५ कुल संक्रमित

काडमाडौं । नेपालमा निषेधाज्ञा खुले पनि कोरोनाभाइरस सङ्क्रमण कम हुँदै जानुमा मानिसहरूमा खोप र सङ्क्रमणका कारण विकास भएको भाइरस प्रतिरोधी क्षमता प्रमुख भएको विज्ञहरूले बताएका छन् । अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको संख्या ५१ लाख ६१ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अक्सफर्ड–आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएको छ ।

जोनसन एन्ड जोनसन खोप एक मात्रा लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनु पर्छ । २ करोड ९७ लाख ५८ हजार ५२८ जनसंख्या भएको नेपालमा ७ लाख ७६ हजार ३२५ व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । २०७८ भदौ २७ गते आइतबार बिहान ६ बजेसम्ममा कुल संक्रमितमध्ये १० हजार ९३६ जनाको निधन भएको छ । नेपालको कुल संक्रमितमध्ये ७ लाख ३८ हजार ३४ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ जना छन् ।

नेपालमा शनिवार ९९४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १२ जनाको कोभिड–१९ का कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार लामो समयपछि एक हजारभन्दा कम संख्यामा संक्रमण झरेको हो । शनिवार अपराह्ण सार्वजनिक तथ्यांकअनुसार विगत २४ घण्टामा ९,८४० जनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमण पुष्टि भएको हो । अझै १३ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले थप १२ जनाको मृत्यु भएपछि कोभिडका कारण ज्यान गुमाउनेको संख्या करिव ११ हजार पुगेको छ ।

उक्त प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र काभ्रेपलान्चोक जिल्लामा संक्रमितहरूको संख्या ५ सयभन्दा बढी छ । गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की र बाग्लुङमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । प्रदेश नं १ का मोरङ, सुनसरी र झापाको अवस्था पनि त्यस्तै छ । लुम्बिनी प्रदेशको रूपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् भने कर्णाली प्रदेशको सुर्खेतमा पनि संख्या ५ सयमाथि छ । कोभिड संक्रमणको दोस्रो लहर उच्चबिन्दुमा पुग्दा सक्रिय संक्रमितहरूको संख्या एक लाखभन्दा माथि थियो भने दैनिक सङ्क्रमण पुष्टि दर ३० प्रतिशतसम्म पुगेको थियो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताले संक्रमण कम हुँदै जानुमा खोपको पहुँच, मानिसहरूमा विकास भएको एन्टिबडी र जनचेतना भएको बताउँछन् । मन्त्रालयले गरेको सीरो प्रेभलन्स सर्वेक्षणले पनि एउटा मात्रै खोप लगाउनेमा ८० प्रतिशत दुवै लगाउनेमा ९० प्रतिशत र समग्रमा ६८ प्रतिशत मानिसहरूमा एन्टिबडी रहेको देखाएको छ । विज्ञहरूका अनुसार कोभिड–१९ विरुद्ध लड्ने क्षमता विकास गर्ने खोपबाहेक कोभिड संक्रमणबाट निको भएका मानिसहरूमा पनि एन्टिबडी भनिने प्रतिरोध गर्ने तत्व रहन्छ । मन्त्रालयका अनुसार हालसम्म एक करोड जनाभन्दा बढी मात्रा कोभिड खोप लगाइसकिएको छ । शनिवारसम्म ५१ लाख ६१ हजारले पूर्ण मात्रामा कोभिड खोप लगाइसकेका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले अस्पतालमा समेत पछिल्लो समय बिरामीहरूको चाप घट्दै गएको जानकारी दिए । डा. बाँस्तोला आगामी असोज दोस्रो र तेस्रो हप्ता सङ्क्रमण थप कम भएर जाने बताएका छन् । एउटा नेपालमा खोपको पहुँच धेरै विस्तार भइसकेको छ भने अर्को जो संक्रमणको जोखिममा थिए उनीहरू संक्रमित भइसकेको देखिन्छ । अब नयाँ भेरिअन्ट आयो भने भन्न सकिन्न, तर अहिलेकै भेरिअन्टहरूले संक्रमण पुनः बढाउने सम्भावना ज्यादै न्यून छ । स्वास्थ्य मन्त्रालयले पनि हाल सक्रिय रहेका डेल्टा, बीटा, अल्फा र गामा भेरिअन्टबाट ठूलो जोखिम नरहे पनि नयाँ भेरियन्ट आएको अवस्थामा जोखिम बढ्न सक्ने बताएको छ ।

महामारीको तेस्रो लहर
काठमाडौं उपत्यकासहित देशभरि निषेधाज्ञा हटेर उपत्यकामा जात्राहरू जस्ता भिडभाड हुने गतिविधि हुँदा पनि संक्रमण नबढ्नुमा एन्टिबडी नै प्रमुख कारण रहेको उनको दाबी छ । स्वास्थ्य मन्त्रालयका विज्ञहरूले दोस्रो लहरपछि तेस्रो लहर सुरु भएको र अहिले त्यो घट्न थालेको आकलन गरेका छन् । पहिलोभन्दा दोस्रो लहर धेरै ठूलो थियो । अहिले तेस्रो लहर चाहिँ धेरै नबढी बिस्तारै ओरालो लाग्न थालेजस्तो देखिएको छ– सहप्रवक्ताले सञ्चार माध्यमलाई बताएका छन् । तर हामी अहिले नै यो लहर सकिएको मान्दैनौँ किनभने भेरिअन्टहरू उत्परिवर्तन हुने क्रम जारी भएकाले जोखिम कायमै छ । मन्त्रालयले दशैँ तिहारजस्ता चाडवाडको समयमा मानिसहरूको हिँडडुल र भेटघाट बढ्ने भएकाले असोज अन्त्यतिरबाट पुनः जोखिम बढ्न सक्ने भन्दै सचेत रहन भनेका छन् ।