गाँजालाई बैधानिता दिनै पर्ने आधारहरु

गाँजालाई बैधानिता दिनै पर्ने आधारहरु संजीव अधिकारी २७ भाद्र २०७८, आईतवार ०९:१९
गाँजालाई बैधानिता दिनै पर्ने आधारहरु

काठमाडौं । गत फागुन तेस्रो साता प्रतिनिधि सभामा गाँजा खेतीलाई वैध बनाउनेसम्बन्धी गैरसरकारी विधेयक (गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६) दर्ता भएपछि गाँजाप्रति जनचासो बढेको छ । विधेयक दर्ता गर्ने सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजा बिक्रीलाई खुला गर्ने हो भने नेपालको अर्थतन्त्र दुई र तीन वर्षमै ५० र ६० खर्बको बनाउन सकिने तर्क गरेका छन् । हाल नेपालको बार्षिक बजेट १५ खर्बभन्दा केही बढी मात्र छ । गाँजासम्बन्धी तरुणले एक वर्षअगाडी नै अनुसन्धनात्मक समाचार प्रकाशित गरेको थियो ।

सन् २०१८ मा अमेरिकी खाद्य तथा औषधि मन्त्रालयले गाँजालाई औषधिको सूचीमा राखेपछि यस्ले विश्वव्यापी अर्थतन्त्रमा आउने परिवर्तनलाई लिएर अनेकौं खोज र अनुसन्धान भएको छ । ग्रान्ड भ्यु रिसर्चले प्रकाशित गरेको एक तथ्यांकअनुसार सन् २०२५ सम्ममा गाँजाको विश्वव्यापी कारोबार एक सय ४६ दशमलव ४ अर्ब अमेरिकी डलर पुग्नेछ । क्यान्सर, मानसिक असन्तुलन, लामो समयदेखिको दुखाई लगायत अन्य विविध शारीरिक र मानसिक समस्या समाधानमा गाँजाले पार्ने सकारात्मक प्रभावका कारण यसको बजार आकासिने दाबी गरिएको हो । साथै औषधिजन्य बाहेक रमाइलो, सौन्दर्य प्रशाधन र पेय तथा खाद्य पदार्थजस्ता वस्तु र गतिविधीमा प्रयोग हुने भएकाले पनि यस्को बजार बढ्दै जाने निश्चित छ । (डब्लुडब्लुडब्लु डट ग्रान्डभ्युरिसर्च डटकम)

विश्वका शक्तिशाली अमेरिका, क्यानडा, जर्मनीजस्ता राष्ट्रहरू गाँजाबाट हुनसक्ने असीमित आर्थिक लाभका पछाडि रणनीतिक ढंगले अघि बढेका छन् । बेलायत, चीन र जापानजस्ता राष्ट्रहरू यसबाट हुनसक्ने असीमित फाइदाबाट मुलुकको अर्थतन्त्र कायापलट गर्ने अभियानमा अनुसन्धान गरिरहेका छन् । अमेरिका र क्यानडालगायतका मुलुकले खर्बौ कमाउने देखेपछि चीन पनि अघोषित रूपमा गाँजा खेतीमा लागेको छ । भारतले गाँजाजन्य औषधिको उत्पादनमा अघि बढ्ने संकेत दिएको छ । रामदेव नेतृत्वको पतञ्जली आयुर्वेदका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्णले त हालै एक अन्तर्वार्तामा गाँजालाई अपराधको कोटिमा राख्न नहुने भन्दै आफूहरूले समेत यसमा अनुसन्धान गरिरहेको खुलासा गरेका छन् ।

खर्बौ रुपैयाँको नियमित आर्थिक लाभ हुने सम्भावना रहेको नेपालमा भने गाँजामाथिको प्रतिबन्ध किन भन्ने न्यायोचित जवाफसमेत भेटिएको छैन । मेरी कप्र्स नामक अमेरिकी संस्थाले सन् २००३ मा गरेको स्थलगत अध्ययन प्रतिवेदनलेसमेत गाँजा प्रतिबन्धपछि रोल्पालगायतका पहाडी क्षेत्रमा गरिबी बढेको उदेकलाग्दो तथ्य सार्वजनिक गरेको छ । ‘स्थानीयहरूले आफ्नो जीवनशैली विगतमा उच्च रहेको दाबी गरेका छन् । तीन दशकअघि उनीहरूको जीवनशैली नेपालको पश्चिमी पहाडी क्षेत्रमध्ये उच्च थियो । विश्व प्रसिद्ध गुणस्तरीय चरेश उत्पादनका कारण सन् १९३० अघिदेखि सन् १९७० को दशकसम्म (नेपालमा प्रतिबन्ध लाग्नुअघि) खाद्यान्न, गरगहनालगायतका वस्तु खरिद गर्न कुनै अप्ठ्यारो थिएन । मगर समुदायका महिलाहरू सुन र चाँदीका गहना सहजै खरिद गर्ने क्षमता राख्थे र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता थिएन ।

कोकाकोला : गाँजा मिसिएको कोक बनाउने तयारीमा
कोरोना बियर : गाँजा मिसिएको बियर बनाउने तयारीमा
हाइनिकेन : गाँजा मिसिएको सोडापानी उत्पादनमा
मोलसन कुअर्स :अल्कोहलरहित गाँजा बियर उत्पादन
ओरिजिन : गाँजाको फेसप्याक

अनुसन्धानकर्ताहरूको नजरमा गाँजा
भगवान शिवसँग जोडिएर लेखिएका हिन्दु धार्मिक ग्रन्थहरूमा प्रयोग गर्न जानेको खण्डमा यसमा अमृत्व पाइने उल्लेख छ । सुरुमा गाँजालाई छिछि दूरदूर गरेका पश्चिमा वैज्ञानिकहरूले नै पछि अनुसन्धानमार्फत गाँजामा अमृत्व हुनसक्ने संकेत गरेका छन् । मन शान्त पार्ने, दुखाई निवारण, फोक्सोमा प्रभाव नपर्नेलगायतका विषयमा पश्चिमाहरूले गरेको अनुसन्धानसँगै यसले क्यान्सर निको पार्न र क्यान्सरबाट हुने पीडा कम गर्ने समेत प्रमाणित भइसकेको छ । पूर्वीय विज्ञानका हजाराँै वर्षअघिका ग्रन्थहरूमा गाँजाका असिमित फाइदाहरू यसअघि नै लिपिवद्ध भएको पाइन्छ ।

विगतमा नेपाल जस्ता राष्ट्रलाई दबाब दिएर गाँजा प्रतिबन्ध लगाएको अमेरिकामै ३३ वटा प्रान्तमा गाँजाको प्रयोग वैध छ । अन्य १४ प्रान्तमा गााजामा पाइने टीएचसीको मात्रा तोकेर अपराध नमानिने व्यवस्था छ । अमेरिकाभित्र नै यो वर्ष ६ देखि ७ अर्ब अमेरिकी डलर बराबरको गैरऔषधिजन्य गाँजाको व्यापार हुने आंकलन गरिएको छ । सन् २०१७ मा अमेरिकाको कोलेराडोमा डेढ अर्ब बराबरको गैरऔषधिजन्य गाँजाको व्यापार भएको तथ्यांक छ ।

दोस्रो विश्वयुद्धताका भारतमा नेपाली चरेश अत्यन्तै उच्च गुणस्तरको मानिन्थ्यो । गाँजाको रेसाबाट लुगासमेत बनाइन्थ्यो । नेपालमा गाँजा प्रतिबन्धपछि उनीहरूको जीवनस्तर खस्कन थालेको हो । सन् १९७६ र सन् १९८० को बीचमा उनीहरू सम्पन्नताबाट गरिबीतिर झरे । स्थानीयहरूको विचारमा चरेशमाथिको प्रतिबन्ध बच्चाको मुखबाट खाना खोसेजस्तो भएको छ । चरेश प्रतिबन्धपछि उनीहरू बाध्य भएर कालापहाड जानुप-यो ।’ (श्रोत: वेस्टर्न नेपाल कन्फ्लिक्ट एसेसमेन्ट पेज नं. १२,१३,१४,१७,२१ मेरी कप्र्स २००३)

गाँजाजन्य उत्पादनबाट आर्थिक कायापलट भएका दुई क्यानेडेली कम्पनी
क्यानोपी ग्रोथ कर्पोरेसन
स्थापना : सन् २०१३
उत्पादन : औषधि र रमाइलोका लागि प्रयोग हुने गाँजाजन्य विविध सामग्री
सेयर मूल्यवृद्धि : गत वर्ष मात्र ३ सय प्रतिशत
हालको कम्पनी बजार मूल्य : १४ अर्ब अमेरिकी डलरभन्दा बढी
खुद आय : करिब ६ करोड अमेरिकी डलर सन् २०१९को तेस्रो त्रैमासिकमा

अरोरा
स्थापना : सन् २०१४
उत्पादन : औषधि र रमाइलोका लागि प्रयोग हुने गाँजाजन्य विविध सामग्री
प्रारम्भिक लगानी : ५० लाख अमेरिकी डलर
हालको कम्पनी बजार मूल्य : १२ अर्ब अमेरिकी डलरभन्दा बढी
खुद आय : करिब ३ करोड ९० लाख अमेरिकी डलर सन् २०१९ को तेस्रो त्रैमासिकमा

अन्तर्राष्ट्रिय बजारमा गाँजाको मूल्य
बर्लिनमा प्रतिकिलो साढे १३ लाख रुपैयाँभन्दा बढीमा बिक्री हुने गाँजा नेपालमा प्रहरीलाई फाँड्नै फुर्सद छैन । नेपालमा अवैध भएको कारण यसको बजार मूल्यमा एकरूपता छैन । अवैध बनाइएकाले अर्बौ रुपैयाँ वर्षेनी गुमिरहेको छ । हाल नेपालमा गाँजा प्रतिकिलो १५ देखि २० हजार रुपैयाँ र चरेश दुई लाखदेखि चार लाख रुपैयाँ प्रतिकिलोका दरले अवैध बेचबिखन भइरहेको छ । नेपालको गाँजा र चरेश आन्तरिक खपतबाहेक प्रायः सबै भारत जाने गरेको छ । अवैध रूपमा भारत पुग्ने नेपाली गाँजा तथा चरेश गुणस्तरका आधारमा वर्गीकरण गरेर प्रतिकिलो एक लाखदेखि आठ लाख रुपैयाँसम्ममा बिक्री हुन्छ । (प्राइसअफविड डटकम)
अन्तर्राष्ट्रिय बजारमा गाँजा तथा चरेशको मूल्य
काठमाडौ : २० रुपैयाँदेखि ४ सय रुपैयाँ प्रति ग्राम
क्यानडा : ८ सय रुपैयाँदेखि ३५ सय रुपैयाँ प्रति ग्राम
अमेरिका : १२ सय रुपैयाँदेखि ३३ सय रुपैयाँ प्रति ग्राम
नेदरल्यान्ड्स : ९ सय रुपैयाँदेखि १६ सय रुपैयाँ प्रति ग्राम
जर्मनी: १३ सय ६० रुपैयाँ प्रतिग्राम
बेल्जियम: ११ सय रुपैयाँदेखि १८ सय रुपैयाँ प्रति ग्राम

गाँजामा पाइने तत्व
सीबीडी : क्यानाबीडायललाई छोटकरीमा सीबीडी भनिन्छ । गाँजामा पाइने दुई प्रमुख तत्वमध्ये यो एक हो । यसले नशाको अनुभूति नगराईकन वा अत्यन्तै कममात्र मानसिक प्रभावसहित रोग निदानमा प्रभावकारी भूमिका निर्वाह गर्छ । हाम्रोमा परम्परागतरूपमा प्रयोग हुँदै आइरहेको भाङमा पनि सीबीडी हुन्छ । यसले धेरै प्रकारका रोगहरूको निदानमा भूमिका खेल्न सक्ने देखिएको छ ।

टीएचसी : टेट्राहाइड्रो क्यानाबीनोललाई छोटकरीमा टीएचसी भनिन्छ । यसले नशाको अनुभूति गराएर मानसिक प्रभावसहित रोग निदानमा भूमिका निर्वाह गर्छ । हाम्रोमा परम्परागतरूपमा प्रयोग हँुदै आइरहेको गाँजा वा भाङमा टीएचसी हुन्छ । यसले धेरै प्रकारका रोगहरूको निदानमा भूमिका खेल्नसक्ने देखिएको छ ।

नेपाली गाँजा र चरेशबारे नेपालकै नाममा पुस्तक लेखेर लिखित रूपमा व्याख्या गर्ने पहिलो व्यक्ति सम्भवत कर्णेल कर्कप्याट्रिक हुन् । उनले ‘एन एकाउन्ट अफ दी किङ्डम अफ नेपाल’ लेखेका थिए । उनले सन् १७९८ देखि सन् १८०५ सम्म हैदराबादमा बेलायती प्रतिनिधिका रूपमा काम गरेका थिए । लगत्तै चिकित्सक फ्रान्सिस बुचानन् ह्यामिल्टनले सन् १८०२ र सन् १८०३ मा १४ महिना नेपालमा बसेर ‘एन एकाउन्ट अफ दी किङ्डम अफ नेपाल’ नामक पुस्तक सन् १९१९ मा प्रकाशित गरे । यो पुस्तकमा लेखिएको छ, ‘नेपालमा गाँजा एक प्रमुख झार हो । यो झारको नेपालमा खेति गरिँदैन र यस्को अधिकतम उपयोग लागूपदार्थका रूपमा हुँदैन । यसको सुख्खा पात र चोप निकालेर प्रयोग गरिन्छ ।’

स्वच्छ हावापानी, चिसो वातावरण, पारिलो घाम अनि जंगली उत्पादनका कारण नेपाली गाँजा तथा चरेश नेपालका छिमेकी देशमा सयौं वर्षअघिदेखि नै अति प्रसिद्ध थिए । पशुपतिमा शिवरात्रीका बेला आउने साधु–सन्त र पारखीहरूलाई नेपालको गाँजा तथा चरेश लोकप्रिय बनाएको पहिलो श्रेय जान्छ । विक्रम संवत् २०१५ को दशकमा अमेरिकाबाट हिप्पी संस्कृति सुरु भएपछि नेपाल भित्रिएका पश्चिमाहरूले नेपाली ब्रान्डलाई विश्वव्यापी बनाएका हुन् । विक्रम संवत् २०२५ को दशकमा हिप्पीहरू नेपाल भित्रिएका हुन् ।

आफ्नै विशिष्ट स्वाद बोकेको नेपाली गाँजा, चरेशमा अमेरिकीहरू अत्यधिक पल्कन थालेपछि अमेरिकी सरकार र संयुक्त राष्ट्रसंघसमेतको दबाबमा लुगा लगाउने शैली (ड्रेस कोड) र आचरणलगायतका मुद्दालाई अघि सार्दै नेपाल सरकारले पर्यटकहरूमाथि धरपकड सुरु ग¥यो र धेरैलाई भारत धपाइदिन थाल्यो । त्यसबेलासम्म गाँजा र चरेशको वस्तु विविधीकरण गरेर मूल्य अभिवृद्धिमा समेत विशेषज्ञता हासिल गरिसकेका नेपाली व्यवसायीहरू एकाएक ३० भन्दा बढी विश्व चर्चित पसलको सटर बन्द गर्न बाध्य भए ।

२०३३ सालमा पारित गरिएको लागूऔषध नियन्त्रण ऐन र त्यसपछिका संशोधनहरूले समेत वार्षिक अर्बांै रुपैयाँ आम्दानी हुनसक्ने सम्भाव्य झारलाई अहिलेसम्म हुर्कन दिएको छैन । तर, पनि हिमालयन, वाइल्ड, भर्जिन, नेपोली, नेपाली, धौलागिरी, क्याटलगायतका नाममा नेपाली गाँजा चरेशको ब्रान्ड वैध उत्पादन नहुँदै विश्व बजारमा स्थापित भइसकेको छ । अहिले भारतीय र नेपाली तस्कारहरूको साँठगाँठमा सस्तो मूल्यका गाँजा र चरेशमा मिलावट गरेर बजारमा पठाउने गरिएको भए पनि वैध हुनासाथ विशिष्ट स्वादको नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारको ठूलो हिस्सामाथि कब्जा जमाउने निश्चित छ ।

गाँजा फुकुवा गर्नुपर्ने तर्क
सत्तारुढ नेकपाका मकवानपुरबाट प्रतिनिधित्व गर्ने सांसद विरोध खतिवडाले गत वर्षको फागुन ८ गते प्रतिनिधि सभामा बोल्दै गाँजामाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने विषयमा संसदीय बहस आरम्भ गरेका छन् । प्रतिबन्ध फुकुवा भएमा ग्रामीण क्षेत्रको आर्थिक वृद्धिदर ह्वात्तै बढाउन सकिने उनको तर्क छ । नियमनकारी निकायलाई प्रभावकारी बनाएर गाँजा फुकुवा गर्नु पर्ने खतिवडा बताउँछन् ।

त्यसलगत्तै नयाँ वर्षको अवसरमा धादिङ र मकवानपुरको सिमानामा पर्ने झन्डाचुलीमा राष्ट्रय झन्डा राख्ने कार्यक्रममा बोल्दै धादिङ ३ बाट निर्वाचित नेकपाका सांसद भूमि त्रिपाठीले चन्द्रागिरी चेपाङ हिल पदमार्गलाई गाँजा ट्रेकिङ टे«ल नाम राख्न सार्वजनिक प्रस्ताव गरे । गाँजा फुकुवा हुनुपर्ने विषयले विस्तारै विश्व समुदायसँगै नेपालमा पनि प्रवेश पाउन थालेको हो । पश्चिमा चिकित्सक तथा वैज्ञानिकहरूले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार गाँजाको सेवन वा प्रयोग औषधीय दृष्टिकोणबाट अति फाइदाजनक तथा चुरोट, रक्सीलगायत अन्य लागूपदार्थको तुलनामा अत्यन्तै कम हानिकारक देखिएको छ ।

गाँजा खेतीसम्बन्धी विधेयकमा के छ ?
फागुनको तेस्रो साता दर्ता भएको प्रस्तावित विधेयकमा गाँजा खेतीलाई वैधानिकता दिइने उल्लेख छ । तर, गाँजा खेती सरकार नियन्त्रित हुने सीमा तोकिएको छ । गाँजा खेती तथा ओसार–पसारलाई अनुगमन र नियमन गर्ने अधिकार दिएर ‘नियमन बोर्ड’ गठन गर्ने र नियमन बोर्डले गाँजा खेती गर्न चाहने वा ओसारपसार गर्न चाहनेलाई अनुमति दिनेसम्बन्धी कानुनी व्यवस्था गर्ने विधेयकमा प्रस्ताव गरिएको छ छ । गाँजा खेती गर्न चाहने कृषकलाई सम्बन्धित जिल्लास्थित कृषि ज्ञान केन्द्रबाट र निकासी तथा बिक्री वितरण गर्न चाहने व्यावसायीले नियमन बोर्डबट अनुमति लिनुपर्ने प्रस्तावित व्यवस्था छ । कुन–कुन स्थानीय तहबाट यस्तो अनुमति दिने भन्ने टुंगो सरकारले राजपत्रमा सूचना प्रकाशन गरी टुंगो लगाउने छ । अनुमति नलिई गाँजा खेती गर्नेलाई एक वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने प्रस्तावित विधेयकको दफा २५ मा उल्लेख छ । गाँजा खेती गर्न चाहनेको आफ्नै जग्गा हुनुपर्ने वा नेपालभर कतै न कतै जग्गा भएको खण्डमा जग्गा भाडामा लिएर गाँजा खेती सक्ने भनिएको छ ।

यो प्रावधानअनुसार नेपालमा आफ्नो जग्गा नहुने (सुकुम्बासी वा विदेशी) ले गाँजा खेती गर्न पाउने छैनन् । गाँजा, सुकेको गाँजाको पात वा हाँगा रहेको प्याकेट वा गाँजा वा भाङको दाना वा फूल रहेको प्याकेटमा लेबल राखेर मात्रै बिक्री गर्न पाइने विधेयकमा उल्लेख छ । तोकिएको लेबल नलगाए ६ महिनासम्म कैद र एक लाखसम्म जरिवाना हुनसक्ने विधयकमा भनिएको छ ।

अनुमति प्राप्त गर्ने निकायलाई जानकारी गराएर मात्रै गाँजा खेती भित्र्याउनुपर्ने जस्ता प्रावधानहरू पनि विधेयकमा समेटिएका छन् । चिकित्सकको सिफारिसमा मात्र गाँजा सेवन गर्न सकिने गाँजा सेवन गर्न चाहनेका लागि चिकित्सकको सिफारिस अनिवार्य गर्ने प्रस्तावित व्यवस्था विधेयकमा छ । गाँजाको अनाधिकृत प्रयोग नहोस् र औषधीका लागि प्रयोग गर्न बाधा नपरोस् भनेर यस्तो व्यवस्था राखिएको सांसद शेरबहादुर तामाङले बताए । प्रस्तावित विधेयकमा व्यक्तिगत रूपमा खरिद गर्न चाहने खरिदकर्ता व्यक्तिसँग चिकित्सकको सिफारिस हुनुपर्नेछ । अथवा, गाँजा खरिद गर्न स्वीकृतप्राप्त व्यक्ति वा कम्पनी हुनुपर्ने छ ।

१८ वर्षभन्दा कम उमेरका व्यक्तिको संलग्नता देखिए गाँजा खेतीको अनुमतिपत्र नपाइने, २१ वर्ष उमेर पूरा नभएका वा गर्भवती महिलालाई बिक्री वितरण गर्न नहुने विधेयकमा उल्लेख छ । गाँजा खेती गर्ने कृषकले अनाधिकृत व्यक्तिलाई गाँजा बिक्री वितरण गरेमा वा उपलब्ध गराएमा अनुमति पत्र खारेज हुने र कृषकले गाँजा बिक्री वितरणको विवरण नराखे अनुमति खारेज हुनेलगायत प्रस्तावित व्यवस्था छ ।

गाँजाको विज्ञापनमा प्रतिबन्ध
गाँजाको विज्ञापनमा प्रतिबन्ध लगाउने प्रस्तावित व्यवस्था विधेयकमा छ । ‘पत्रपत्रिका, रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, इमेलजस्ता विद्युतीय सञ्चारमाध्यमबाट वा होर्डिङबोर्ड, भित्तेलेखन, श्रव्य दृश्यका माध्यमबाट गाँजाबाट बनेका पदार्थको विज्ञापन वा प्रवद्र्धन गर्न, कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन’ प्रस्तावित विधेयकको दफा १४ मा उल्लेख छ । तर, भाङका दाना वा दानाबाट उत्पादन हुने तेल वा मह वा डाँठबाट उत्पादन हुने कपडाजस्ता खाद्य वा औधोगिक वस्तुको भने विज्ञापन गर्न बाधा नपर्ने पनि विधेयकमा भनिएको छ ।

केही दिनअघि गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न सांसद विरोध खतिवडाले गरेको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका थिए । प्रस्तावमा पूर्वसभामुख ओनसरी घर्तीमगर, जनार्दन शर्मा, पम्फा भुसाल, जयपुरी घर्ती, नवराज सिलवाल, धर्मशिला चापागाई, झपट रावल, गणेश ठगुन्ना, नारदमुनि रानालगायतले समर्थन गरेका थिए । मुलुकलाई आर्थिक रूपमा सक्षम बनाउन, प्राकृतिक उपचारका लागि औषधि उत्पादन गर्न, किसानको जीवनस्तर उकास्न र विदेशी मुद्रा आर्जन गर्न गाँजामाथिको प्रतिबन्ध फुकाउनुपर्ने सांसदहरूको माग छ । सन् १९७० को दशकमा भाँगो तथा गाँजामाथि प्रतिबन्ध लगाउन नेतृत्व गरेका अमेरिका, क्यानडा, जर्मनीलगायतका देशले नै गाँजामाथिको प्रतिबन्ध फुकुवा गरिसकेको प्रस्तावमा उल्लेख छ ।

नेपालको भूबनोट गाँजा उत्पादनका लागि उर्वरभूमि भएकाले यसको वैधानिक उत्पादन र बिक्रीवितरणबाट मुलुकमा ठूलो विदेशी मुद्रा आर्जन हुने सांसदहरूको तर्क छ । अमेरिका, क्यानाडा, जर्मनीलगायत ६५ भन्दा बढी देशले सरकारी निगरानी र नियमनमा रहने गरी आआफ्नो देशका किसानको आम्दानी वृद्धिका लागि खुला गरिसकेको प्रस्तावमा उल्लेख छ । प्रस्तावमा भनिएको छ– ‘नेपालको भूभाग प्राकृतिक रूपमै गाँजाखेतीका लागि अब्बल रहेको हुँदा विश्वका अन्य देशले जस्तै किसानको जीवनस्तर उकास्न तथा विदेशी मुद्रा आर्जन समेतका लागि ध्यानमा राखी कानुन परिमार्जन गरी सरकारको निगरानी र नियन्त्रणमा तोकिएको क्षेत्रमा वैधानिकता दिन ढिलो भइरहेकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्दछौं ।’

समृद्धिको लक्ष्य बोकेर हिँडिरहेको सरकारलाई गाँजाको व्यावसायिक खेतीले ठूलो सघाउ पुग्ने धारणा सांसद खतिवडाको छ । उनले भने– ‘अर्थोपार्जनका लागि सहयोगी हुने नगदेबालीको रूपमा विकास हुन सक्दा उब्जाउ हुने विकट भेगमा चरम गरिबीमा रहेका तामाङ, चेपाङजस्ता समुदायलाई उकास्न सघाउनेछ ।’ उनका अनुसार सन् १९७० को पूर्वार्धसम्म नेपालमा गाँजा खेती र व्यापार वैधानिक थियो । नेपालबाट ठूलो परिमाणमा गाँजा र चरेस निर्यात हुन्थ्यो ।

त्यसमा साना व्यापारी मात्र हैन समाजका गन्यमान्य व्यक्ति र ठूला व्यापारी पनि संलग्न हुन्थे। नेपालको धेरै क्षेत्रमा गाँजा प्राकृतिक रूपमा नै उम्रिन्छ । औषधीय गुण भएको प्रमाणित भइसकेको यो वनस्पतिलाई परम्परागत रूपमा औषधिमा पनि प्रयोग गरिन्छ । कतैकतै यसको दाना भुटेर त्यसको छोप वा अचार बनाएर खाने चलन पनि छ ।

वैज्ञानिकहरूले गाँजामा हुने विभिन्न यौगिकबारे अनुसन्धान गरेर क्यान्सर एवं अरू रोगमा उपचार गर्ने औषधि बनाएका छन् । त्यसका लागि केही देशमा गाँजा खेतीलाई कानुनी मान्यता पनि दिइएको छ । सिंहदरबार वैद्यखानाका पूर्वनिर्देशक प्राध्यापक डा.चन्द्रराज सापकोटाका अनुसार नेपालले समेत पहिलो विश्वयुद्धका बेला गाँजाबाटै बनाइएका झाडापखलाको औषधि निर्यात गरेको इतिहास छ । अहिले विश्वमा धेरै खोजिनेमध्येको एक निद्रासम्बन्धी रोगको उपचारमा पनि गाँजा प्रयोग हुन्छ ।