गोकर्णेश्वर नगरपालिकाको पर्यटन : सम्भावना खोजी

गोकर्णेश्वर नगरपालिकाको पर्यटन : सम्भावना खोजी दिपक रिसाल २८ भाद्र २०७८, सोमबार १०:०५
गोकर्णेश्वर नगरपालिकाको पर्यटन : सम्भावना खोजी

आन्तरिक पर्यटनको दृष्टिले गोकर्णेश्वर नगरपालिका क्षेत्र नेपालकै नम्बर एकमा पर्न सक्छ भन्दा फरक नपर्नुपर्ने हो । गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १ सुन्दरीजल र वडा नम्बर ३ को तारेभीर आन्तरिक पर्यटनको प्रचुर सम्भावना बोकेका क्षेत्र हुन् । काठमाडौंको शिवपुरीमा १५८ रोपनी क्षेत्रफलमा पानीको ताल रहने धाप पोखरी र त्यसभन्दा करिब दुई किलोमिटर तल बन्ने नागमति ड्यामले आन्तरिक पर्यटनको प्रवद्र्धन हुनेमा मलाई पूर्ण विश्वास छ । नागमति ड्यामबाट ४.१२ मेगावाट विद्युत निकाल्ने योजना छ । मूलतः बागमती नदीमा शुद्ध पानी बगाउने योजनाअनुसार धाप पोखरी र नागमतीमा ड्याम बाँध्ने योजना बनेको हो । यो कार्यक्रमबाट गोकर्णेश्वर नगरपालिकाले जनताको जीवनस्तर उठाउने कार्ययोजना ल्याउन ढिला भइसकेको छ ।

यो नगरपालिका धार्मिक हिसाबले पनि मन्दिरै मन्दिरको शहर भन्न मिल्छ । वडा नम्बर ३ मा रहेको अशुंवर्माकालीन राजविहार पर्यटनका लागि आकर्षक हुनसक्छन् भन्ने कुरा हामीले ख्याल गर्न सकेका छैनौं । साथै, यसको प्रचुर फाइदा स्थानीय क्षेत्रले लिन सक्ने अवस्था बनिसकेको छैन । गोकर्णेश्वर नगरपालिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम चलेका पर्यटकीय गन्तव्यहरू एक दर्जनभन्दा बढी छन् । यहाँका विभिन्न पर्यटकीय गन्तव्य घुम्नाका लागि आन्तरिक पर्यटकको घुइँचो लागेको देखिन्छ, तर उनीहरू केही घन्टा घुमेर फर्कन्छन् । बास बस्ने गरी गोकर्णेश्वर आउने पर्यटकको संख्यामा खासै वृद्धि हुन सकेको छैन ।

खासगरी गोकर्णेश्वर नगरपालिका क्षेत्रमा पर्यटकीय सम्पदा तीन प्रकारका छन् । धार्मिक, सांस्कृतिक, प्राकृतिक र मानव निर्मित । धार्मिक सम्पदाअन्तर्गत बागमती नदी तथ यसको तटीय क्षेत्रमा रहेका मठमन्दिरहरू पर्छन् । प्राकृतिक सम्पदाअन्तर्गत शिवपुरी राष्ट्रिय निकुञ्ज, गोकर्णको जंगल, सुन्दरीजल झरना, गोकर्ण गल्छीलगायत पर्दछन् । मानव निर्मित सम्पदाअन्तर्गत धाप ड्याम, नागमति ड्याम, देशेगाउँ, जगडोलको सहिद पार्क, बीपी संग्रहालय, सुन्दरीजल पावर हाउसको पोखरी, सुन्दरीजल उद्यान र मेलम्ची खानेपानी प्रसोधन केन्द्रलगायत पदर्छन् । गोकर्णेश्वर नगपालिकाको मुख्य गन्तव्यहरूको बारेमा संक्षेपमा चर्चा गरेको छु ।

धाप पोखरी : शिवपुरीको उत्तरी भेगबाट धवलागिरिदेखि कञ्चनजंघासम्मको उच्च हिमालको भव्य दृश्य तथा दक्षिण पानीढलो धाप पोखरी र हिले भन्ज्याङबाट (यो पोखरीबाट दुई किलोमिटर तल) काठमाडौं उपत्यकाको झिलिमिली देख्न सकिन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज उत्तर–पूर्व हेर्दा मुस्कुराइरहेका हिमालहरू नजिकैबाट देख्न सकिने मात्र होइन, सुन्दर र शान्तिको प्रतीकझै रहेको शिवपुरीको जंगलमा जतिखेर पनि आँखा ठोक्किनु तालको अर्को विशेषता हो । धाप पोखरीभन्दा दुई किलोमिटर तल बन्ने भनिएको नागमतिको ड्याम अर्को आकर्षक आन्तरिक पर्यटनका लागि गन्तव्य बन्न सक्ने देखिन्छ । धापमा बन्दै गरेको १५८ रोपनी क्षेत्रफल बागमती जलाधार संरक्षणका बनाइएको हो । पूर्वमा चिसापानीदेखि पश्चिममा ककनीसम्म फैलिएको राष्ट्रिय निकुञ्ज शिवपुरी जलाधार क्षेत्रको रूपमा सन् १९८९ मा स्थापित भएको हो ।

गोकर्णेश्वर मन्दिर : गोकर्णेश्वरभन्दा पुरानो मन्दिर सम्भवतः नेपालमा अर्को फेला पर्न सकेको छैन । भगवान ब्रह्माजी आफैले यहाँ पूजा–आजा गरेको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ । हुन त पौराणिक ग्रन्थमा उल्लेख भएर मात्रै प्रमाण नपुग्ने अहिलेका केही विद्वानहरू बताउँछन् । तर यो मन्दिरको शिवलिंगले पनि नेपालको सबैभन्दा जेठो भएको प्रमाणित गर्छ । भगवान पशुपतिनाथको मन्दिरभन्दा पनि कैयौं शताब्दी पुरानो गोकर्णेश्वर मन्दिर लामो समयसम्म ओझेलमा परेको थियो । तर पछिल्ला दिनमा यसको महिमा बढ्दै गएको छ । वरिपरिका पूर्वाधार बनाउने काम भइसकेको छ । भक्तजनहरूको भीड बढ्न थालेको छ । मन्दिरमा सुनको छाना लगाउनेलगायतका काम सम्पन्न भइसकेको छ ।

यहाँको अर्को महत्वपूर्ण आकर्षण भनेको अनेक प्राचीन धार्मिक कलाकृतिहरूको सुन्दरतम् संग्रह हो, जहाँ अन्यन्त्र नपाइने ब्रह्मा, चित्रगुप्त, अर्धनारीश्वरलगायतका देवी र देवताहरूका हजारौँ वर्ष पुरातन प्रतिमाहरू छन् । गोकर्णेश्वर मन्दिरको प्रांगणका अन्य सांस्कृतिक धरोहरहरूमा पार्वती, गदाधर नारायण मन्दिर र शिव महेश्वर बालभक्तेश्वर मन्दिर मुख्य हुन् । त्यस्तै, उत्तरबाहिनीस्थित कान्तिभैरव मन्दिर र पद्मभक्तेश्वर मन्दिर पनि त्यत्तिकै महत्वपूर्ण मानिन्छन् । पशुपतिनाथको दर्शन गर्न आउनेहरू सबैले गोकर्णेश्वरको पनि दर्शन गर्ने परम्परालाई फेरि निरन्तरता दिन सक्ने हो भने यस क्षेत्रको आर्थिक उन्नति टाढा छैन ।

बागमती नदी बागधारा (बागद्वार) : हिन्दु धर्मशास्त्रमा गंगा नदीकै हाराहारीमा पवित्र मानिने बागमती नदीको उद्गमस्थल गोकर्णेश्वर नगरपालिकाभित्रै पर्दछ । हुन त बागद्वारदेखि गंगानदीसम्म मिसिनेक्रममा बागमतीले सयौं किलोमिटर यात्रा तय गरेको छ, तर सुन्दरीजल नजिकमा नागमति र स्यालमति खोलाहरू मिलेपछि दक्षिण बग्दै पहिले गोकर्ण वनको उत्तरी र पछि पश्चिम बग्न थाल्छ । यो नदी काठमाडौं र ललितपुरको सीमा नदी पनि हो । गोकर्ण, पशुपति, चोभार, कटुवाल दह चोभार पुग्दा २७ किलोमिट दूरी पार गर्छ । पशुपतिनाथसम्मको करिब १० किलोमिटर क्षेत्रमा यति धेरै तीर्थस्थलहरू छन् कि, जसका नामहरू सामान्य मान्छेको दिमागमा कण्ठस्थ हुँदैनन् ।

सुन्दरीजलदेखि गोकर्णेश्वर मन्दिरसम्मको छोटो दूरीमा बागमती नदी तीन ठाउँमा दक्षिणबाट उत्तर बगेको छ । जसलाई उत्तरगया भन्ने गरिन्छ । हिन्दुधर्मशास्त्रमा उत्तरगयाको ठूलो महत्व छ । फोटो ३४ उत्तरगयामा श्राद्ध गर्नाले पितृले मुक्ति पाउने र कर्तालाई ठूलो पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । पछिल्ला दिनमा गया श्राद्ध गर्नेहरूको ठूलै भीड यस क्षेत्रमा लाग्ने गरेको छ । उत्तर बाहिनी क्षेत्रमा धार्मिक कार्यका लागि भीड बढेसँगै व्यवस्थापन पनि गर्दै लैजानु जरुरी छ । यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम नगरपालिकाले तीव्र रूपमा अघि बढाएको छ ।

गोकर्ण गल्छी : गोकर्णेश्वर मन्दिरसँगै बागमती नदीको करिब दुई सय मिटर उचाइ तथा दुई सय मिटर लम्बाइको गल्छी छ । ब्रह्माजीको ध्यान भंग गर्न राक्षसहरूले बागमती नदी थुनिदिएपछि ठूलो जलाशय बन्यो । भगवान श्रीकृष्णले जलाशयको पानी फाल्नका लागि यो ठाउँमा गल्छी बनाएको किंवदन्ति छ । यस क्षेत्रका स्थानीयसमेत रहेका प्रख्यात साहित्यकार भैरव अर्यालले यही गल्छीमा समाधि लिएका थिए । खासगरी वर्षायाममा बागमती नदीमा पानीको सतह बढेका बेला यो गल्छी निकै मनमोहक देखिन्छ ।

देशेगाउँ : गोकर्णेश्वर मन्दिरभन्दा थोरै पूर्वतर्फ एउटा ऐतिहासिक बस्ती छ । जसलाई देश पनि भनिन्छ । पौराणिक ग्रन्थमा भेटिएअनुसार नेपालको सबैभन्दा पुरानो सहर हो देशेगाउँ । जसलाई पौराणिक ग्रन्थहरूमा ‘गोकर्णेश्वः देशे’ भनेर उल्लेख गरिएको छ । जसलाई हिजोआज पुरानो गोकर्ण गाउँका रूपमा चिन्ने गरिन्छ । तलेजु मन्दिर, प्राचीन एक चैत्य र पुरानो मुखुण्डो नाच देखाउने डबली त यहाँका सांस्कृतिक परिचायक नै भए ।

लिच्छविकालमा नेपालको राजधानी यहीँ थियो भन्ने कतिपय पुरातत्वविद्हरूको मत छ, तर पुष्टि हुन भने सकेको छैन । लिच्छविकालको राजधानी हो वा होइन ? भन्ने एकीन प्रमाण नभए पनि यो गाउँ लिच्छिविकालीन हो भन्ने आधार भने धेरै छन् । तर २०७२ सालको भूकम्पले यहाँका पुराना प्रायः सबै घर भत्के । ती घरहरू अधिकांश आधुनिक शैलीमा पुनर्निर्माण गरिएका छन्, नगपालिकाले अब बन्ने नयाँ घरहरू पुरानै शैलीमा आधुनिकता दिएर बनाउन प्रेरित गर्न सक्यो भने देशेगाउँको मौलिकता रहने देखिन्छ । राजधानी काठमाडौं उपत्यकाभित्रको सबैभन्दा पुरानो व्यवस्थित बस्ती भएको देशेगाउँ घुम्न पछिल्ला दिनमा पर्यटकको भीड बढ्न थालेको छ ।

सुन्दरीजल : धार्मिक, प्राकृतिक र कृत्रिम सम्पदाको संगम हो सुन्दरीजल । बागद्वार, सुन्दरीमाई, दधिचि ऋषिको आश्रमलगायतका दुई दर्जन धार्मिक सम्पदाहरू यहाँ छन् । बोलबम तीर्थका लागि यहाँको जल अनिवार्य भएको बागमती पुरणामा उल्लेख छ । यसैगरी, नेपालको दोस्रो पुरानो जलविद्युत आयोजनाको बाँध तथा पोखरी निकै मनमोहक छ । यो बाँध तथा पोखरीको दुई खाले महत्व छ । पहिलो त मनमोहक छ नै, दोस्रो हो, त्यतिबेलाको प्रविधि । एक हिसाबले जलविद्युतको संग्रहालय भने पनि हुन्छ । साथै, शिवपुरी राष्ट्रिय निकञ्जमा पदयात्रा गर्न यही क्षेत्र महत्वपूर्ण मानिन्छ । मूलखर्क, तारेभीरलगायतका क्षेत्रमा पदयात्राका लागि सुन्दरीजल नै उपयुक्त मानिन्छ । मूलखर्क तथा तारेभीरलगायतका क्षेत्रमा ग्रामीण पर्यटन फस्टाएको छ । तामाङ संस्कृति हेर्न आउने पर्यटकलाई लक्षित गर्दै यी गाउँहरूमा केही केहीले होमस्टे खोलेका छन् भने भने हरेका वर्ष तारेभीर, बागद्वार महोत्सव हँुदैै आएको छ ।

सुन्दरीजलको जम्मा क्षेत्रफल ५ दशमलव १८ वर्गकिलोमिटर छ । काठमाडौँ सहरबाट करिब १७ किलोमिटर उत्तरपूर्व कुनामा अवस्थित सुन्दर प्राकृतिक छटाले भरिएको ठाउँ हो सुन्दरीजल । सुन्दरीजललाई शिवपुरी तथा नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रूपमा पनि लिइन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज प्रवेशद्वारबाट १५–२० मिनेटपछि सुन्दरीमाईको मन्दिर पुग्न सकिन्छ । अत्यन्तै आकर्षक क्षेत्र हो यो । यहाँ बागमती र स्यालमतीको पानी मिसिएको छ । सुन्दर ढुंगाबाट पानी कहिले लुक्दै त कहिले देखिँदै बगेको छ । सुन्दरीमाईको आशीर्वाद लिएपछि पुनः त्यही बाटो हुँदै विद्युत उत्पादनका लागि पानी जम्मा गरी बनाइएको दहसम्म पुगिन्छ । यो पनि उत्तिकै राम्रो छ ।

सुन्दरीजलकोे विद्युतगृह नेपालको दोस्रो जलविद्युत आयोजना हो । बेलायत सरकारको सहयोगमा सन् १९३४ मा निर्माण सम्पन्न भएदेखि नै यसले नियमित विद्युत उत्पादन गर्दै आएको छ । यहाँबाट वार्षिक ४ दशमलव ७७ गिगावाट घन्टा विद्युत उत्पादन हुने गरेको छ । यहाँ पानीको बहुउपयोग गरिएको छ । विद्युत उत्पादनपछिको पानी पाइपमार्फत काठमाडौँवासीको घरघरमा पुुग्दछ । सुन्दरीजल आफैंमा विविधताले भरिएको ठाउँ पनि हो । यहाँ मठमन्दिरका अतिरिक्त घना जंगल पनि छ ।

सुन्दरीजल जान मोटरबाटो पनि बनाइएको छ भने मेलम्ची खानेपानीको आयोजनास्थल पनि त्यहीँ हो । चैत्र–वैशाख महिनामा सुन्दरीजलका वनमा फुल्ने लालीगुराँसलगायतका फूल अनि काफल तथा ऐंसेलुजस्ता फलले हरेक यात्रुको मन लोभ्याउँछ । सुन्दरीजल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई दृष्टिगत गरी थुप्रै होटल खुलेका छन् । बास बस्न चाहने पर्यटकका लागि राम्रो व्यवस्था छ । सहरको कोलाहल र प्रदूूषणबाट केही क्षणका लागि भए पनि मुक्ति पाउन र आनन्दको सास फेर्न सुन्दरीजल नजिकको गन्तव्य हो ।

बीपी संग्रहालय : दूरदर्शी राजनेता बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, किसुनजी, योगेन्द्रमान शेरचनलगायतका नेताहरूलाई लामो समय जेल राखिएको स्थान जो राजबन्दीगृहका नामले चिनिन्थ्यो, त्यो गृहलाई बीपी संग्रहालयका रूपमा विकास गरिएको छ । जनअधिकार प्राप्तिका लागि भएका संघर्षमा अग्रणी भूमिका निर्वाह गर्ने नेताहरूको सम्पूर्ण अभिलेख यहाँ राखिएको छ । साथै उनीहरूले प्रयोग गरेका सामग्री पनि राखिएको छ । सम्भवतः यो नेपालको एक मात्रै राजनीतिक संग्रहालय हो । राजनीतिप्रति चासो राख्ने हरेक व्यक्तिका लागि यो पहिलो पर्यटकीय गन्तव्य बनेको छ ।

सहिद पार्क : रावणले यज्ञ गरी सिद्धि प्राप्त गरेको ठाउँ भएका कारण यो पवित्र भूमिलाई यज्ञडोल भनिन्थ्यो । लिच्छविकालमा जगडोलमा विशाल ढोकाका निर्माण गरिएको इतिहास पाइन्छ । सयौं वर्ष ओझेलमा परेको यज्ञडोल क्षेत्रको करिब एक हजार रोपनी क्षेत्रफललाई समेटेर विशाल पार्क निर्माण गरिएको छ । गोकर्णेश्वर मन्दिर नजिकै रहेको यो पार्कलाई सहिद पार्क तथा निजामती कर्मचारी पार्कका नामले पनि चिनिन्छ । राजधानी काठमाडौं उपत्यकामा सम्भवतः प्राकृतिक रूपमा यति रमणीय सुन्दर पार्क अर्को छैन । पार्कमा घुम्न जानेहरूको निकै घुइँचो लाग्न थालेको छ । पार्क क्षेत्रमा हेलिप्याडसमेत बनाइएको छ । यस्तै पर्यटकहरूका लागि सुविधासम्पन्न होटल पनि तयार हुँदै गरेको छ । पार्क जाने बाटो पनि पक्की बनाइएको छ । खासगरी फिल्म सुटिङका लागि यो ठाउँ नेपालकै उत्कृष्ट मानिएको छ ।

गोकर्ण सफारी पार्क : प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाद्वारा १९१९ सालमा निजी सिकार खेल्नका लागि ओगटेर राखेको यो जंगल गोकर्ण सफारी पार्क (राजनिकुञ्ज) को नामले चिनिन्छ । इँटाको पर्खाल लगाई सुरक्षित गरिएको उक्त वनले कुल चार हजार तीन सय ४२ रोपनी क्षेत्रफल अर्थात् २.९ वर्गकिलोमिटर र औसतमा १,३०० (४,२९० फिट) मिटर उचाइमा छ ।

गोकर्ण प्रकृति र संस्कृतिप्रेमीहरूको आकर्षण मात्र नभर्ई यो संसारभरका गल्फप्रेमी व्यक्ति (गल्फर) हरूको पनि आकर्षक गन्तव्यस्थल हो । रकम तिरेर अर्थात् सदस्यता लिई खेल्न सकिने यहाँको गल्फ आश्रयस्थल सन् १९९९ मा स्थापित भएको हो । समग्रमा गोकर्ण नेपालको एउटा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको स्थल हो । जैविक विविधता, प्रकृतिप्रमीहरू, खेलप्रेमीहरूका लागि अत्यन्तै आकर्षक मानिएको यो स्थल हाल विद्यार्थीहरूको समेत आकर्षणको केन्द्र बन्दै गएको छ । यो वन गोकर्णेश्वर नगरपालिका मातहत आइसकेको छ ।

चुनौती : एउटा मात्रै पर्यटकीय सम्पदा भएका ठाउँमा समेत स्थानीय जनताले पर्यटन व्यवसायबाट ठूलो आम्दानी गरेका छन् । तर राट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम चलेका करिब एक दर्जन पर्यटकीय सम्पदा भएको गोकर्णेश्वरका स्थानीयहरूले पर्यटन व्यवसायबाट अपेक्षित आम्दानी गर्न सकेका छैनन् । सबै खालका पर्यटकका लागि सुविधा भएको ठाउँ हो यो ।

यति धेरै पर्यटकीय सम्पदा हुँदाहुँदै पनि बत्तीमुनि अँधेरो जस्तो भएको छ । पर्यटक आउने केही घन्टा घुमेर फर्कने अहिलेको अवस्थाले निरन्तरता पाउने हो भने स्थानीय जनताले खासै लाभ लिन सक्दैनन् । गोकर्णेश्वर क्षेत्रमा आन्तरिक र बाह्य गरेर सरदर दैनिक पाँच हजार पर्यटक पुग्ने गरेको अनुमान यस पंक्तिकारको छ । जसमध्ये ६० प्रतिशत धार्मिक पर्यटक हुनेछन् भने खेल पर्यटक, वातावरण पर्यटक, हाइकिङ पर्यटक, प्राकृतिक दृश्यमा रमाउने पर्यटक, पुरातात्विक सम्पदामा रामाउने पर्यटक, शैक्षिक भ्रमणमा रमाउने विद्यार्थीलगायत सबैका लागि एकै ठाउँमा यति धेरै सुविधा सायद नेपालका अन्य पालिक छैन । पर्यटक आवागमन वृद्धिको तथ्यांक पनि निकै उत्साहजनक छ । यी पर्यटकहरूलाई कम्तीमा एक रात गोकर्णेश्वर क्षेत्रमै बस्ने प्रवन्ध मिलाउने हो भने मात्रै पनि कम्तीमा २० हजार स्थानीयले रोजगारी पाउन सक्छन् ।
(दीपक रिसाल गोकर्णेश्वर नगरपालिकाको सल्लाहकार एवं काठमाडौं, नेपाली काँग्रेस क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि हुन् । यो लेख गोकर्णेश्वर नगपालिकाद्वारा प्रकाशित गोकर्णेश्वरबाट लिइएको हो ।)