अफगानिस्तानमा खाद्यन्न संकट, खद्यान्न खरिद गर्न ६० करोड डलर

अफगानिस्तानमा खाद्यन्न संकट, खद्यान्न खरिद गर्न ६० करोड डलर तरुण खबर २९ भाद्र २०७८, मंगलवार ०९:२९
अफगानिस्तानमा खाद्यन्न संकट, खद्यान्न खरिद गर्न ६० करोड डलर

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको चेतावनी दिँदै त्यहाँ सहयोग उपलब्ध गराउन ६० करोड अमेरिकी डलर संकलन गर्न खोजेको छ । राष्ट्रसंघले सोमवार जिनिभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गर्न लागेको छ । गत महिना तालिबानले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएको थियो ।

अफगानहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्यसेवा, सुरक्षित पानी र सरसफाइ चाहिएको छ– राष्ट्रसङ्घले भनेको छ । साठी करोड डलर उपलब्ध भए दशौँ लाख मानिसलाई राहत पुग्ने राष्ट्रसंघले जनाएको छ । त्यो देश एकदमै दारुण स्थितिमा छ अनि लामो द्वन्द्व, गम्भीर सुक्खा र कोभिड–१९ को महामारीबाट ग्रस्त छ । अनि देशको झन्डै आधा जनसङ्ख्या पहिल्यै सहायता आवश्यक पर्ने अवस्थामा थियो ।
अहिलेको राजनीतिक परिवर्तनपछि उनीहरूको जोखिम झन् बढेको जनाउँदै राष्ट्रसङ्घले एउटा विज्ञप्तिमा भनेको छ– नगद अभाव हुँदा अर्थतन्त्र बिस्तारै–बिस्तारै रोकिने अवस्थामा पुगेको छ । महिला र बालिकाको अधिकारबारे चिन्ता बढेको छ । अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै राष्ट्रसङ्घले तालिबानलाई सहायताकर्मीलाई नरोक्न आह्वान गरेको छ ।

अतिवादी तालिबान लडाकुहरूले अफगानिस्तानमा नियन्त्रण कायम गर्नुअघि नै द्वन्द्वका कारण साढे पाँच लाख मानिस आफ्नो वासस्थानबाट विस्थापित भएका थिए । अहिले अफगानिस्तानमा आन्तरिक रूपमा विस्थापित भएको मानिसको संख्या ३५ लाखजति छ । सोमवारको सम्मेलनमा राष्ट्रसंघका शीर्ष अधिकारीहरू तथा रेड क्रसजस्ता सहायता प्रदान गर्ने संस्था र विभिन्न देशका सरकारका प्रतिनिधिहरू सहभागी हुनेछन् । राष्ट्रसंघले संकलन गर्न खोजेको रकमको एकतिहाइ भाग विश्व खाद्य कार्यक्रमलाई उपलब्ध गराइनेछ ।

सोमवारको सम्मेलनमा राष्ट्रसङ्घका शीर्ष अधिकारीहरू तथा रेड क्रसजस्ता सहायता प्रदान गर्ने संस्था र विभिन्न देशका सरकारका प्रतिनिधिहरू सहभागी हुनेछन् । राष्ट्रसङ्घले सङ्कलन गर्न खोजेको रकमको एकतिहाइ भाग विश्व खाद्य कार्यक्रमलाई उपलब्ध गराइनेछ । यसैबीच राष्ट्रसङ्घको शरणार्थी हेर्ने निकाय यूएनएचसीआरका प्रमुख फिलिपो ग्रयाण्डीले आफू देशको मानवीय आवश्यकता तथा ३५ लाख विस्थापित अफगानको अवस्था बुझ्न अफगानिस्तान पुगेको जानकारी ट्विटरबाट दिएका छन् । तालिबानले अगस्ट १५ मा काबुलमा कब्जा जमाएपछि हजारौँ मानिस देश छोडेर भागेका छन् ।

तालिबानका सहसंस्थापक तथा भर्खरै गठन गरिएको सरकारका उप्रधानमन्त्री अब्दुल गनी बरादरले एउटा अडिओ विज्ञप्ति जारी गर्दै आफू जीवित रहेको बताएका छन् । सामाजिक सञ्जालमा उनको मृत्यु भएको दाबी फैलिएको थियो । म सधैँ यात्रामा हुन्छु– उनले भनेका छन् । म अहिले जहाँ छु हामी सबै ठिक छौँ– मेरा सबै दाजुभाइ र साथीहरू ।