आज बालबालिका दिवस

आज बालबालिका दिवस तरुण खबर २९ भाद्र २०७८, मंगलवार ०९:३०
आज बालबालिका दिवस

काठमाडौं । बाल बालिकाहरूको नाममा मनाइने दिवसलाई बाल दिवस भनिन्छ । २९ भाद्रलाई २०६३ देखि राष्ट्रिय बालदिवसको रूपमा मनाउने कार्यको थालनी भएको हो । वि.स.२०६३ साल भन्दाअघि बाल दिवस भाद्र ४ गते मनाइने गरिन्थ्यो । संयुक्त राष्ट्रसङ्घ बालअधिकार सम्बन्धी महासन्धि–१०८९, २० नोवेम्बरलाई सन् १९९०, १४ सेप्टेम्बर २९ भाद्रमा नेपाल पक्षले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा मनाइने परम्परा छ । यसअघि राजा महेन्द्रकी रानी श्री ५ रत्न राज्यलक्ष्मीदेवी शाहको जन्म दिन पारेर भाद्र ४ लाई बाल दिवस बनाइने चलन थियो । यसरी भाद्र ४ गते पारेर नेपालले ४२ वटा बाल दिवस मनायो ।

नेपालको जनसंख्याको ४० प्रतिशत १८ वर्ष मुनिका भएका कारण देशको विकासमा बालबालिका र किशोरकिशोरीमाथिको लगानी निकै महत्वपूर्ण छ । करीव २ करोड ९७ लाख जनसंख्या भएको यस देशको लगभग आधा जनसंख्या कम उचाइँ भएको समतल तराईमा बसोबास गर्छन् भने ४३ प्रतिशत पहाडमा र बाँकी ७ प्रतिशत उत्तरी हिमाली भेगमा बस्दछन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को मानव विकास प्रतिवेदनअनुसार, एसियाका ५८ राष्ट्रहरुमध्ये नेपाल तेस्रो अति गरिब राष्ट्र हो । जसको मानव विकास सुचकांक छैठौं न्यून स्थानमा छ । यसका अतिरिक्त धन, भुगोल, भाषा, शिक्षा, जाति, लिंग, उमेर, अपांगता, र आयका आधारमा पनि देशमा निकै असमानता रहेको छ ।

अधिकांश बालबालिका र किशोरकिशोरीहरू देशले गरिरहेका विभिन्न प्रगतिबाट उनीहरु बाहिर रहेका छन् । बालबालिकामा लगानी गर्नु भनेको मानव पुँजीमा लगानी गर्नु हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको उल्लेख गर्नुभयो

आज भौमाष्टमी व्रतमा
भौमाष्टमी व्रतमा विशेषगरी मंगल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ । अष्टमी तिथिमा शक्तिको उपासना गर्दाको फल धेरै मिल्छ भन्ने विश्वास गरिन्छ । भौमाष्टमीमा विशेषगरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकालीको मन्दिरमा आज दर्शनार्थीहरूको विशेष पूजाका उपस्थिति रहने गर्छ । अन्य व्रतहरूमा झैँ बिहानै उठेर स्नान गर्ने, भजन कीर्तन गर्ने, अर्चना गर्ने र पवित्र पुस्तकहरूको अध्ययन गर्ने अनि आत्मसात् गर्ने चलन छ । यस वर्षको भौमष्टमीको सबैलाई शुभकामना छ ।