नेपालको इतिहास बदल्ने सुन्ताखानको अभिलेख

नेपालको इतिहास बदल्ने सुन्ताखानको अभिलेख तरुण खबर ३१ भाद्र २०७८, बिहीबार १०:१९
नेपालको इतिहास बदल्ने सुन्ताखानको अभिलेख

काठमाडौं । नेपालमा आधुनिक लिखित इतिहासको स्पष्ट प्रारम्भ लिच्छविकालदेखि भएकोमा कुनै द्विविधा छैन । तर केही वर्षअघिसम्म पनि लिच्छविकालका अभिलेखमा उल्लेखित तिथिमितिका कारण यो स्वर्णयुगको इतिहासमा संवत्को विवाद देखियो । धेरै इतिहासकारले लिच्छविकालीन अभिलेखलाई आ–आफ्नै ढंगबाट व्याख्या गरे । तर गोकर्णेश्वर नगरपालिकाको ३ नम्बर वडामा पर्ने सुन्ताखानमा प्राप्त एक अभिलेखले लिच्छविकालीन इतिहासलाई घामजस्तै छर्लंग बनाइदिएको छ ।

बलौटे माटोमुनि दबिएका कारण आफ्नो मूल स्वरूप र अंकित अक्षरहरूसमेत भर्खरै कुँदिएका जस्तो देखिने सुन्ताखानको यो अभिलेखले शक संवत्, लिच्छविकालकै पूर्वाद्र्ध र उत्तराद्र्ध गरी दुई प्रकारका संवत्, मानदेव संवत् जस्ता विवादलाई एकैपटक शान्त बनायो र नेपालको इतिहासमा पहिलोपटक लिच्छविकालीन संवत् एउटै थियो भन्ने कुरा प्रमाणित गरिदिएको छ । यो अभिलेख निजी जग्गामा २०४६ फागुन महिनातिर फेला परेको हो । १ सय ४ सेन्टिमिटर लामो र ५६ सेन्टिमिटर चौडाइ रहेको यो अभिलेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा कुँदिएको छ ।

मृगको चित्र तथा धर्मचक्र अंकित यो शिलालेख तत्कालीन महासामन्त अंशुवर्माले कैलाशकुट भवनबाट जारी गर्न लगाएको स्पष्ट भएको छ । साथै, यो शिलालेखमा लिच्छवि संवत् ५३६ स्पष्टसँग कँुदिएको छ । यो शिलालेख प्राप्त भएपछि लिच्छविकालीन अभिलेखमा भेटिने संक्षिप्त संवत् र पूर्ण संवत्को विवाद पनि सदाका लागि टुंगिएको छ । यो अभिलेखले हालको सुन्ताखान, तत्कालीन अहिन्दुकोट्ट ग्राम रहेको स्पष्ट गरेको छ, साथै यो अभिलेखमा कुल १६ पंक्ति रहेका छन् ।

के लेखिएको छ त अभिलेखमा ?
लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको यो अभिलेखमा कैलाशकुट भवनबाट जारी भन्ने शब्द परेकाले कैलाशकुट भवन नजिकै पर्ने गरी राजविहार बनाएको संकेत गरेको छ । साथै, सीमा निर्धारणसहित राजविहार बनाएको र राजविहार अनुकूल वातावरण खडा गर्न पशुपंक्षी हत्या नगर्ने र पालनमा भने छुट दिने गरी मल्ल कर छुटको व्यवस्था उल्लेख छ । मल्ल कर छुटबापत स्थानीय परिवारहरूले चार पण मुद्राको एकाइ मिनाह पाएको लेखिएको छ ।

विहारमा चारै दिशाबाट भिक्षु संघहरू आएर बस्ने गरेकोसमेत उल्लेख छ । तत्कालीन समयमै यो राजविहारका लागि अंशुबर्माले लिच्छवि संवत् ५३२ मा ६ पुराण र दुई पण मुद्रा निगाह भएको र रकमसम्बन्धी स्थिति बन्देज व्यवस्था गरेको उल्लेख हाँडीगाउँमा प्राप्त अभिलेखमा समेत छ । चार पणको एक पुराण र चार पुराणको एक काषार्पण हुने गर्छ ।

(गोकर्णेश्वर नगरपालिकाद्वारा प्रकाशित गोकर्णेश्वरबाट)