काठमाडौंको सबैभन्दा संवेदनशील र पर्यटकीय क्षेत्र सुन्दरीजल

काठमाडौंको सबैभन्दा संवेदनशील र पर्यटकीय क्षेत्र सुन्दरीजल तरुण खबर ३१ भाद्र २०७८, बिहीबार १०:३५
काठमाडौंको सबैभन्दा संवेदनशील र पर्यटकीय क्षेत्र सुन्दरीजल

धार्मिक एवं पर्यटकीय नगरी गोकर्णेश्वर नगपालिकाको सबैभन्दा संवेदनशील र महत्वपूर्ण पर्यटकीय क्षेत्र वडा नम्बर १ को सुन्दरीजलमै पर्दछ । प्रागऐतिहासिक समयदेखिकै महत्व बोकेको बाटुलेचौरमा रहेको रक्तकाली मन्दिर, सरस्वती र रामजानकी मन्दिर, रूपसेटारमा रहेको संसारीमाई, सोही स्थानमा रहेको महांकाल भैरव, बराहटारमा रहेको बराह गोकर्णेश्वर महादेव, खड्का गाउँको शिरमा रहेको महादेवको मन्दिर, बागमती र काकगंगाको संगम स्थानमा बनेको काकगंगेश्वर महादेवको मन्दिर, मुक्तिनाथ पाञ्चायन पाथिभरा देवी, सुन्दरीमाई, श्वेतवाराही, प्रसिद्ध गणेश मन्दिर, श्यालमतिश्वर, महादेवको गुठी, वागमतीको मुहान वागद्वारजस्ता प्रसिद्ध र ऐतिहासिक महत्व बोकेका क्षेत्रहरू यही वडामा पर्छन् । स्कन्दपुराण हिमवत् खण्डका अनुसार सुन्दरीमाईको मन्दिरमा सत्ययुगदेखि नै पूजाआजा गरिँदै आएको हामी सुनेका छौं । त्यस्तै, रूपसेटारमा बनेको टासी चैत्य र विश्व शान्ति चैत्यले बुद्ध धर्मको सन्देश फैलाउन काम गरिरहेका छन् ।

धापको पोखरी, पर्यटनको केन्द्र
यो वर्ष धापमा बनिरहेको १५८ रोपनीमा ठूलो पोखरीको काम सम्पन्न हुन्छ । काठमाडौं र सिन्धुपाल्चोकको सीमामा चिसापानी भन्ने ठाउँ छ, जहाँबाट १४ वटासम्म हिमाल देख्न सकिन्छ । धापमा बनिरहेको पोखरी यो वर्षभित्रै सकिन्छ । १५८ रोपनीमा पानीको ताल हुने हुँदा आन्तरिक पर्यटनको केन्द्र बन्न सक्छ धाप ड्याम र नागमती ड्याम, नागमती ड्यामबाट हाइड्रोपावर निकाल्ने र वागमती नदीमा पानी छोड्ने योजना छ । सन् १९३४ मा निर्माण भएको सुन्दरीजलकोे विद्युतगृह नेपालको दोस्रो जलविद्युत आयोजना हो । यो आफैंमा पर्यटकीयस्थल हो । त्यसैले काठमाडौं जिल्लाका नगरहरूको नजिकको गन्तव्य भएकाले गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १ मा वार्षिक लाखौं पर्यटक जान सक्ने हाम्रो अनुमान छ । त्यसका लागि भौतिक पूर्वाधारको निर्माण र सडक सुधारको योजना अगाडि सारिएको छ । तर हाम्रो योजना काार्यन्वयन गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज अवरोधक बनिरहेको छ ।

१५८ रोपनीमा पानीको ताल हुने हुँदा आन्तरिक पर्यटनको केन्द्र बन्न सक्छ धाप ड्याम र नागमती ड्याम, नागमती ड्यामबाट हाइड्रोपावर निकाल्ने र बागमती नदीमा पानी छोड्ने योजना छ । सन् १९३४ मा निर्माण भएको सुन्दरीजलकोे विद्युतगृह नेपालको दोस्रो जलविद्युत आयोजना हो ।

यति धेरै सम्भावनाहरू भएको यही वडाले समस्या पनि भोग्नुपरेको छ । शिवपुरी राष्ट्रिय निकुञ्ज पारिका दुई गाउँहरू ओख्रेनी र मूलखर्कवासीलाई निकुञ्जका कारण समस्या परिरहेका छन् । यी गाउँहरूमध्ये ओख्रेनीमा झन्डै चार सय घरधुरीहरू रहेका छन् भने मूलखर्कमा दुई सयको हाराहारीमा बस्ती छ । यो बस्ती होस् या मन्दिर जानसमेत निकुञ्जले १२५ रुपैयाँ शुःल्क लिने गरेको छ । त्यहाँका मानिसहरू दैनिक ओहोरदोहोर गर्नसमेत शुल्क तिर्नुपर्ने बाध्यतामा छन् । निकुञ्जले पहिलेदेखि नै त्यो बस्तीमा पारेको समस्याका कारण बरु बस्ती नै सार्ने कि भनेर पनि २०३३ सालदेखि नै यसको योजना बनेको हो । तर, झन्डै पाँच हजार रोपनी जमिन र सात सय घरधुरीको बस्ती सार्नको लागि उपयुक्त स्थानसमेत मिलेको छैन । जसका कारण हामी जनप्रतिनिधिहरू आफ्नै मतदातालाई भेट्न जानसमेत शुल्क तिर्न बाध्य छौं । यो समस्या सल्टाउने प्रयास भइरहेको छ । तर सकिएको छैन ।

शिवपुरी राष्ट्रिय निकुञ्जको सकारात्मक पाटो
शिवपुरी राष्ट्रिय निकुञ्जका नकारात्मक मात्र पाटो छैन, सकारात्मक काम पनि भएको छ । निकुञ्जकै कारण जंगलको संरक्षण भएको छ । शिवपुरी जंगलमा १२ सय ५० भन्दा बढी प्रकारका वनस्पति पाइन्छन् । २०५८ मा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको स्थापनापछि यी कुराहरू संरक्षित भएका हुन् । यहाँका बोटबिरुवा तथा पशुपन्छीको संख्या फस्टाउँदै पनि छन् । वन्य जीवजन्तु संरक्षण नाममा आउने अनुदान सरकारले लिन्छ, स्थानीय जनताले त्यसको प्रतक्ष लाभ पाउनुप¥यो भन्ने जनताको भनाइ हो । उल्टै जनताले सास्ती पाउनु भएन भन्ने मेरो पनि भनाइ हो । मेरो भनाइ भनेको जनताको भावना हो ।

काठमाडौं जिल्लाका नगरहरूको नजिकको गन्तव्य भएकाले गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १ को सुन्दरीजल क्षेत्रमा वार्षिक लाखौं पर्यटक अउन सक्ने हाम्रो अनुमान छ ।

खानेपानी स्रोत भएकाले सुन्दरीजलमा पानीको खासै समस्या छैन, तर व्यवस्थित गर्न बाँकी छ । राष्ट्रिय गौरवको आयोजना मेलाम्ची खानेपानीको प्रशोधन केन्द्र र राजनीतिक आन्दोलनका प्रबर्तक एवं प्रथम जननिर्वाचि प्रधानमन्त्रीसमेतलाई बन्दी बनाइएको बीपी संग्राहलय पनि यही भएकाले त्यो पनि आन्तरिक पर्यटकका लागि रुचिको विषय हुन सक्छ । मूल सडकहरू पक्की भएका छन् । तर ग्रामीण सडकहरूको स्तरोन्नति गर्न बाँकी छ । सुन्दरीजलदेखि झरना हुँदै सुन्दरीमाईको मन्दिर जाने बटोमा ढलान गरेर सिँढी र रेलिङ हालिएको छ ।

वडाको शैक्षिक अबस्था
हाम्रो वडामा पाँचवटा विद्यालय छन् । चारवटा आधारभूत विद्यालय छन् भने ओख्रेनीमा रहेको एउटा माध्यमिक विद्यालयमा ११ कक्षा पढाउन सुरु गरिएको छ । ओर्खेनीमा रहेको बागद्वार आधारभूत विद्यालयमा ३५ जना मात्र विद्यार्थी छन् । ईश्वरी आधारभूत विद्यालय, जहाँ ८ कक्षासम्म पढाइ हुन्छ, त्यहाँ ९० जना विद्यार्थी छन् । मूलखर्कमा रहेको सुन्दरीजल आधारभूत विद्यालयमा ७० जना मात्र विद्यार्थी छन् । ओख्रेनी माध्यमिक विद्यालयमा ३८० जना विद्यार्थी पढिरहेका छन् । रामजानकी आधारभूत विद्यालयमा ८० जना विद्यार्थी छन् । भूगोलका हिसावका हिसावले हामीले मर्ज गर्न सकिरहेका छैनौं । एउटा स्कुलबाट अर्को स्कुलको दूरी लामो भएकाले स्कुल राख्नै पर्ने बाध्यता छ । शिक्षा विकासको आधारभूत कुरा हो, त्यसैले स्तरीय सडक नबन्दासम्म मर्ज गर्न दबाब सिर्जना गर्न सकिँदैन ।
(गोकर्णेश्वर नगरपालिका–१ को वडा अध्यक्ष राम मानन्धर हुन् । हामीले गोकर्णेश्वर नगरपालिकाद्वारा प्रकाशित गोकर्णेश्वरबाट यो लेख लिएका हौं ।)