तरुण खबर
३१ भाद्र २०७८, बिहीबार १०:३७
काठमाडौं । नेपाली काँग्रेसले काठमाडौंसहित थप सात जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ । बुधबार काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
योसँगै ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको छ । निर्वाचन समिति सदस्य तेज रावलका अनुसार अब १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । प्रदेश दुईका आठ वटै जिल्ला, रसुवा, बाँके, कैलाली, सुर्खेतको क्रियाशील सदस्यता चाँडै सार्वजनिक हुने उनले बताए ।
काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत १८ भदौदेखि वडा अधिवेशन सुरु भएको हो । प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुरासहित ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । डडेलधुरा काँग्रेसको निर्वाचन विवादमा परेको छ, वरिष्ठ नेता रामचन्द्र पौडेलले पुनः निर्वाचन गर्न माग गरेका छन् ।
बाँकी जिल्लाको वडा अधिवेशनका लागि ५ असोजको समयतालिका परिमार्जन गरिएको छ । काँग्रेसको केन्द्रीय महाधिवेशन २०७८, मंसिर ९–१३ गतेसम्म काठमाडौंमा सम्पन्न हुने भएको छ ।


