अहिले वडा हुँदा राजश्व आम्दानी धेरै गुणा बढेको छ

अहिले वडा हुँदा राजश्व आम्दानी धेरै गुणा बढेको छ कृष्णबहादुर पण्डित क्षेत्री १ आश्विन २०७८, शुक्रबार १०:२८
अहिले वडा हुँदा राजश्व आम्दानी धेरै गुणा बढेको छ

गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर २ को सीमा नयाँपाटी पुलदेखि साविक बालुवा गाविसभित्र पर्दछ । क्षेत्रफलको हिसाबले ठूलै मान्नुपर्छ । वडाको प्रमुख स्थानहरूमा नयाँपाटी, पाखाथोक, राइटार, पण्डित गाउँ, गलमटी, शनिष्टार, ढोका भन्ज्याङ र भूमिस्थली पर्दछन् ।

संविधान निर्माणका बेला सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुग्यो भन्ने नारा खुब लगाइयो । हो कि भन्ने मलाई पनि लागेको थियो । तर होइन रहेछ, गाउँको अधिकार त खोसिएको पो रहेछ । विगतमा गाउँ विकास समितिले आफैं निर्णय गर्न सक्थ्यो, आफैं बजेट विनियोजन गर्न र कार्यान्वयन गर्न सक्थ्यो, तर अहिले गाउँ विकास समिति वडामा रूपान्तरण भयो । वडाको हैसियत सिफारिस गर्नेमै सीमित भयो । राजश्व संकलन गरेर नगरपालिकामा बुझउने र नगरपालिकाले लाए अह्राएको काम गर्ने मात्रै भूमिका भयो वडाध्यक्षको । समग्रमा भन्नुपर्दा विगतको गाविस अध्यक्षको तुलनामा अहिलेको वडाध्यक्षलाई केही पनि अधिकार छैन । यो मेरो व्यक्तिगत विचार हो ।

करको रकम तथा दायरा बढेका कारण विगतमा गाउँ विकास समिति हुँदाको भन्दा अहिले वडा हुँदा राजश्व आम्दानी धेरै गुणा बढेको छ । मैले प्रतितिधित्व गर्ने गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ को कुरा गर्ने हो भने विगतमा यो क्षेत्र नयाँपाटी गाविसअन्तर्गत थियो । तत्कालीन नयाँ पाटी गाविसको राजश्व आम्दानी वार्षिक मुस्किलले २० लाखको हाराहारीमा हुन्थ्यो । अहिले साविकको नयाँपाटी गाविसका ६ वटा वडालाई समेटेर वडा नम्बर २ कायम गरियो । जुन वडामा म यतिबेला अध्यक्ष छु । मेरो वडामा राजश्व आम्दानी वार्षिक एक करोड रुपैयाँ नाघ्ने गरेको छ । कोरोना संक्रमणको यो कहरमा पनि मेरो वडाको आम्दानी घटेको छैन ।

हाम्रो वडाबाट वर्षमा जति राजश्व संकलन हुन्छ त्यो भन्दा निकै बढी विकास बजेट हामीले पाउने गरेका छौं । उदाहरणका लागि पहिलो वर्ष हामीले ६ करोड रुपैयाँ पायौं, दोस्रो वर्षदेखि एकमुष्ट दुई करोड रुपैयाँ र थप ७५ लाख रुपैयाँ पाउन थालेका छौं । क्षेत्रफल निकै धेरै तर विकास निर्माणका मामिलामा अरु वडाभन्दा कम भएका कारण नगरपालिकाले वडा नम्बर १ र २ लाई वार्षिक थप ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सहरी क्षेत्रका पाँचवटा वडाको सम्पूर्ण क्षेत्रफलभन्दा वडा नम्बर २ एउटैको क्षेत्रफल बढी छ । त्यसैले विकास निर्माणका लागि हाम्रो वडामा तुलनात्मक रूपमा बढी बजेट लाग्ने भयो । यो कुरा अन्य वडाका साथीहरूले पनि महसुस गर्नुभएको छ ।

पाँच वर्षको कार्यकालमध्ये पाँच वर्ष गुज्रिनै लाग्यो । अब हामीले विकास निर्माणको अवसर पाउने भनेको सात आठ महिना मात्रै हो । यो अवधिमा हामीले के के गर्न सक्यौं ? के के गर्न सकेनौं ? भन्ने समीक्षा गर्ने बेला आइसकेको छ । म करिब पाँच वर्षको यो अवधिमा भएको आफ्नो कामबाट असन्तुष्ट छैन । स्वास्थ्य, शिक्षा र सडक यातायातको पूर्वाधार निर्माण नै मेरो प्राथमिकता हो । चुनावमा जाँदा नै मैले भनेको थिएँ– मेरो वडामा कम्तीमा एउटा अस्पताल र एउटा क्याम्पस होस्, सवै घरमा सडक र खानेपानीको धारा पुगोस् ।

तत्कालीन नयाँ पार्टी गाविसमा भएको एउटा स्वास्थ्य चौकी वडा नम्बर १ अन्तर्गत पर्न गयो । त्यसैले वडा नम्बर २ मा सहरी विकास विभागमार्फत अस्पताल भवनको पहल गरियो । अस्पताल भवन बनिसकेको छ । अब डाक्टरसहितको बर्थिङ सेन्टर तयारीका क्रममा छ । करिब पाँच हजार जनसंख्या भएको हाम्रो वडामा दुईवटा माध्यमिक विद्यालय छन् । यी माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि निकै काम भएका छन् । अब क्याम्पस स्थापना गर्ने योजना छिट्टै सम्पन्न हुँदैछ । सायद मेरो यो कार्यकालभित्र सम्पन्न होला । स्वास्थ्यका लागि अस्पतालभन्दा पनि सबैभन्दा महत्वपूर्ण पाटो भनेको शुद्ध पिउने पानी नै हो ।

८० प्रतिशत रोग दूषित पानीका कारण लाग्ने गरेको प्रमाणित भइसकेको छ । शुद्ध पिउने पानीको प्रचुरता भयो भने रोग लाग्नबाट बचाउन सकिन्छ । त्यसैले मेरो सबैभन्दा ठूलो जोड खानेपानीमै रह्यो । राजधानी काठमाडौं उपत्यकामा वितरण हुने खानेपानीको मुहानमै छौं हामी । हामी कहाँ खानेपानीका मुलहरू प्रशस्त छन् । म निर्वाचित हुनुअघिसम्म यस वडाका ३० प्रतिशत घरधुरीमा मात्रै धाराको सुविधा थियो । एक–घर एक–धाराको उद्घोष गरेरै मैले भोट मागेको हुँ । यो साढे तीन वर्षको अवधिमा ८५ प्रतिशत घरधुरीमा खानेपानीका धारा जडान भएका छन् । एउटा ठूलो तीन लाख लिटर क्षमताको र तीनवटा साना टयांकी निर्माण भएका छन् । समाजसेवी डा. राजेन्द्रध्व जोशीले निजी जग्गाामा निर्माण गरिएको खानेपानी ट्यांकी वडालाई हस्तान्तरण गर्नुभएको छ ।

वडा नम्बर २ मा करिब एक किलोमिटर जति सहरी क्षेत्र पर्छ । अरु सबै गाउँ हो । ग्रामीण सडक निर्माणलाई पनि विशेष प्राथमिकतामा राखिएको छ । पाखाथोक, सन्देशटार, वन गाउँलगायतका केही बस्तीहरू पिच सडकबाट ३ देखि ५ किलोमिटरसम्म टाढा छन् । यी गाउँसम्म सम्भव भए पिच सडक र सम्भव नभए ढलान सडक बनाउने योजनाअन्तर्गत काम भइरहेको छ । ढलान पनि हुन नसकेको अवस्थामा तत्कालका लागि ग्राबेल हालेर भने पनि सुविधा पु¥याउने काम अघि बढेको छ । ढलानको काम करिब ३० प्रतिशत सम्पन्न भइसकेको छ । गाउँहरू सहर बन्ने क्रममा छन् । बाहिरबाट घडेरी किन्न आउनेहरूको संख्या ह्वात्तै बढेको छ । पिचबाटो भएको तल्लो क्षेत्रमा आनाकै २० देखि २५ लाख रुपैयाँमा घडेरी किनबेच हुन थालेको छ ।

त्यसैले योजनाबद्ध सहरी विकासलाई पनि तत्काल अघि बढाउनुपर्नेछ । प्रदेश सरकारको बजेटबाट दुई करोड ५० लाख रुपैयाँको लागतमा सडक निर्माण भइरहेको छ । हुन त विकास निर्माण भन्ने कुरा कहिल्यै सकिँदैन । जनताका चाहना र आकांक्षा बढ्दै जान्छन्, तर आधारभूत विकास निर्माणका कामहरू भने यो पाँच वर्षमा धेरै नै सम्पन्न हुने अपेक्षा गरेको छु ।
(कृष्णबहादुर पण्डित क्षेत्री गोकर्णेश्वर नगरपालिका–२ वडा अध्यक्ष छन् । यो लेख गोकर्णेश्वर नगरपालिकाद्वारा प्रकाशित गोकर्णेश्वरबाट लिइएको हो ।)