गोकर्णेश्वर: बागमती सभ्यताको सुरुवात

गोकर्णेश्वर: बागमती सभ्यताको सुरुवात तरुण खबर १ आश्विन २०७८, शुक्रबार १०:३५
गोकर्णेश्वर: बागमती सभ्यताको सुरुवात

काठमाडौं । संघीय राजधानी काठमाडौँ र यससँग जोडिएका बृहत् क्षेत्रहरू अहिले महानगर उपमहानगर र विभिन्न नगरमा विभाजित भएका छन् । देशको सबैभन्दा बढी जनघनत्व भएको यो समग्र क्षेत्रमा ५० लाखभन्दा बढी व्यक्ति हटाएको आंकलन गरिएको छ । मुलुककै सबैभन्दा घना र समृद्ध मानिने काठमाडौँ महानगर र वरपरका क्षेत्रहरू इतिहास लेखनको आधुनिक युगभन्दा पुराना हुन् भन्नेमा कुनै द्विविधा छैन । तर कति पुराना हुन् र मानव बसोबासअघि कस्तो थियो यसको स्वरूप ?

यी प्रश्नको जवाफ आधुनिक विज्ञान र प्राचीन ज्ञान वेद, पुराण आदि दुवैमार्फत केही हदसम्म पाउन सकिन्छ । आधुनिक विज्ञानलाई आधार मान्ने हो भने काठमाडौं उपत्यका पहिले ठूलो पोखरी वा दह थियो । कालान्तरमा पानी निकास हुने बाटो खुल्यो र बसोबासयोग्य भूमि बन्यो । प्राचीन ज्ञानले आधुनिक विज्ञानभन्दा अझ स्पष्ट ढंगबाट बृहत् काठमाडौंको प्राचीन अवस्थितिलाई उजागर गर्दछ । आधुनिक विज्ञान र प्राचीन ज्ञानले भन्छ हालको नेपालदेखि तिब्बती पठारसम्मका क्षेत्र नै पहिले जलमग्न थिए । पृथ्वीको भित्री भागमा भएको घर्षणका कारण हिमालय क्षेत्रको उत्पत्ति भएको हो र आधुनिक विज्ञानले समेत यसलाई प्रमाणित गरेको छ । हिमालय क्षेत्रको उत्पत्ति सँगैसँगै काठमाडौं खाल्डो पनि उत्पत्ति भयो । प्राचीन ज्ञानको खानी मानिने स्वयम्भू पुराणलाई आधार मान्ने हो भने पानीले लवालव भरिएको काठमाडौँ खाल्डो ७ कोश चौडाइ र ७ कोश लम्बाइ अर्थात् २१ किलोमिटरभन्दा बढी लम्बाइ र चौडाइ क्षेत्रफलको थियो । एक कोश बराबर करिब तीन किलोमिटर वा दुई माइल मानिन्छ ।

यो दहभित्र हालको स्वयम्भू रहेको स्थान पशुपति क्षेत्र र दक्षिणमा फर्पिङसम्मका क्षेत्र पर्दथे । गुह्यश्वरी क्षेत्र भने पानीको सतहभन्दा माथि नै थियो । यो क्षेत्रलाई श्लेष्मान्तक वन क्षेत्र पनि भनिन्छ । यसैगरी हालको गोकर्णेश्वर नगरपालिकामा पर्ने देशेगाउँ क्षेत्र पनि पानीको तहभन्दा माथि नै रहेको थियो ।

यो ठूलो दहको पानी एकैपटकमा हटाउन नसक्ने देखिएको थियो । हाल चीनमा पर्ने पञ्चशीर्ष पर्वतमा रहेका तत्कालिन ध्यानी तपस्वी मञ्जु देवाचार्यले नेपाल आएर योजनाबद्ध ढंगबाट काठमाडौं उपत्यकाको पानी बाहिर पठाउने निर्णय गरे । उनी केशनी र उपकेशनी नामक आफ्ना दुई पत्नीसहित पहिलोपटक हालको गोकर्णेश्वर नगरपालिकामा पर्ने तारेभीरको आसपास स्वयम्भूबाट पूर्व र उत्तरको बीचमा पर्ने पर्वत भनिएको छ । उनले यही क्षेत्रमा आएर बृहत् उपत्यकाको परिकल्पना गरे । साथै, उनले चन्द्रहास नामक औजार, खड्ग भनिएको छ, लिएर जमिनको भिरालोपनको समेत जाँच गर्दै हालको फर्पिङ नजिक रहेको कापोतल पर्वतसम्म पुगेको र पानी निकासको पहिलो विन्दुका रूपमा त्यहीँबाट काम सुरु गरिएको स्वयम्भू महापुराणमा उल्लेख गरिएको छ ।

पहिलो कटाईपछि हालको चोभारदेखि फर्पिङसम्म क्षेत्र जलमुक्त भयो । दोस्रो चरणमा चोभारको डाँडो काटियो कछुद्र पर्वत, टाढाबाट कछुवाको आकृति जस्तो देखिने चोभारको डाँडो काटेपछि हालको पशुपतिदेखि दक्षिणको क्षेत्र पनि खाली भयो तेस्रो चरणमा सूर्यघाट हालको पशुपति क्षेत्रलाई काटियो र तीन चरणको काम सम्पन्न हुँदासम्म हालको गोकर्णेश्वर मन्दिरबाट दक्षिणसम्मको क्षेत्र बसोबासयोग्य बन्यो, तर बृहत् काठमाडौं सभ्यताको परिकल्पनाका लागि यी तीन चरणको निकासले मात्र सम्भव थिएन । चौथो चरणमा हालको गोकर्णेश्वर मन्दिर क्षेत्रमा रहेको डाँडोलाई काटियो र बृहत् बागमती सभ्यताको प्रारम्भ भयो ।

स्वयम्भू महापुराणमा के छ ?
हे मैत्री बोधिसत्व ! त्यसबेला नेपाल मण्डल ठूलो दहको रूपमा थियो । त्यस दहको पानी आठ गुणले संयुक्त थियो । ती गुणहरू हन्– (१) शुद्ध, (२) सुगन्धले युक्त, (३) शीतल, (४) स्वादले युक्त, (५) हलुका, (६) पाचन गर्ने, (७) दोषरहित, (८) गुणले पूर्ण । त्यस दहको लम्बाइ ७ कोश थियो र चौडाइ पनि ७ कोश नै थियो । त्यस दहमा धेरै नागहरूले बास गरिरहेका थिए । त्यस्तै, पानीमा रहने कीराहरू, माछाहरू, भ्यागुताहरू, कछुवाहरू र अन्य जलचरहरू रहेका थिए । नागहरूले बास गरिएको हुँदा यस दह नागवासदह भनी प्रख्यात थियो । कर्कोटक नागराजले बास गराएको हुँदा यसलाई नागवासदह भनिएको हो । यस दहमा सेता, राता, पहँला र नीला विविध प्रकारका कमलहरू फुलिरहेका थिए ।

यस दहमा राजहंश, सारस, बकुला, हाँस, पानीहाँस आदि पानीमा रहने विविध जातका पंक्षीहरू थिए । यो दहमा रत्न, शंख, मोती आदि अनेक मणिरत्न आदिले पूर्ण भएका थिए । यस दहका चारैतिर हिमालय पर्वतले घेरिएको थियो । यसको समीपमा अरू डाँडा पर्वतहरू पनि थिए । जसमा नाना प्रकारका फूल, बिरुवाहरू, फलहरू र अन्य जातका रूखहरू, लहराहरूले शोभायमान थिए । ठाउँठाउँमा गुफाहरू र पूर्णशालाहरू थिए । जसमा अनेक ऋषिमुनि सिद्ध तपस्वीहरूले तपस्या गरिरहेका थिए । अनि यस नागवास दहमा ब्रह्मा आदि देव देवता र अप्सराहरू आई स्नान गरी धर्म कर्म गर्न आउँथे । यो दह स्वर्ग र मत्र्य लोकमा प्रसिद्ध ठूलो तीर्थ थियो । यस तीर्थस्थलमा आई स्नान गरी त्रिरत्नको शरणमा गई उपोषध आदि व्रतमा रही ध्यान योग गरी, व्रत तपमा रही शरीर शुद्ध गरेर धेरैले जीवन मुक्ति पाएका थिए ।

श्री शाक्यमुनि भगवानले आज्ञा गर्नुभयो– ‘हे मैत्री बोधिसत्व, यही समयमा महाचीन देशको पञ्चशीर्ष पर्वत नाम भएको पाँच थुम्को चुलिएको पर्वतमा रहनुभएका महामञ्जुश्रीको निर्माणकाय मञ्जु देवाचार्यले नागवास दहमा श्री ज्योतिरूप स्वयम्भूको उत्पत्ति भयो भन्ने कुरा ज्ञानचक्षुद्वारा थाहा पाउनुभयो । श्री मञ्जुदेवाचार्यले आफ्ना केशनी तथा उपकेशनी नामका दुई स्त्रीहरूलाई साथमा लिई त्यस्तै चीन महादेशका राजकुमार धर्माकर, चीनका लोकजनहरू, महाकाल र गणेश आदि समेत सम्मिलित गरी नागवास दहमा उत्पत्ति भएको श्री स्वयम्भू ज्योतिरूपको दर्शनार्थ त्यहाँबाट प्रस्थान गर्नुभयो । महाचीनबाट लोकजनहरूलाई साथमा लिई श्री मञ्जु देवाचार्य नागवासदहको ईशान कोणको पर्वतमा पुग्नुभयो । त्यस पर्वतमा रहेर नागवास दहमा उत्पत्ति भएको श्री स्वयम्भू ज्योति रूपको दर्शन त्यहाँ पुगेका सारा भक्तजनहरूले गरेर भक्तिभावपूर्वक पूजा गरे । यसप्रकार मञ्जुदेव आचार्य प्रभृति सकल भक्तजनहरू त्यस पर्वतमा रहेर श्री स्वयम्भू ज्योतिरूपको दर्शन गरे तथा भक्तिपूर्वक पूजा गरे । स्तोत्र आदि पाठ र जप ध्यान गरी रातमा जागर्तनमा रहे । भोलिपल्ट बिहान सबेरै उहाँ मञ्जुदेव आचार्यले दाहिने हातमा चन्द्रहास खड्ग लिई बायाँ हातले पुस्तक समाती पञ्च बुद्धको मूर्ति भएको मुकुट पहिरेर सकल लोकजनलाई बास बनाइदिने हेतुले नागवास दहको पानी बाहिर पठाउनको लागि निकास बनाउनको निमित्त म जाँदैछु । तिमीहरू यही पर्वतमा बसी हेरिरहनु भनी आज्ञा गरी प्रस्थान गर्नुभयो । यसप्रकार आज्ञा भएको कुरा सुनी उहाँका स्त्रीहरू केशनी र उपकेशनी देवीहरू दुवैले श्री मञ्जुदेव आचार्यलाई बिन्ती गरे– ‘हे नाथ, हामी दुवैलाई पनि हजुरले साथै लैजानुहोस् ।’ मञ्जुदेव आचार्यले ‘हुन्छ तिमीहरू दुवै साथै आऊ’ भनी साथमा लैजानुभयो । मञ्जुदेव आचार्यले जमिन कतातिर ओह्रालो देखिन्छ भनी परीक्षा गरी हेर्नुभयो । साथै, ल्याइएका केशनी र उपकेशनीलाई साथै लिई पर्वत छेउ यताउता घुमिरहँदा स्फुल्लोच्च पर्वतमा पुगेपछि जेठी पत्नी केशनीदेवी थाकेर त्यहीं बसिन् । केशनी देवीलाई त्यहीं छोडी उपकेशनीलाई साथै लिई पुनः पर्वतको छेउछेउ घुम्दा ध्यानोच्च पर्वतमा पुगेपछि कान्छी पत्नी उपकेशनी पनि थाकी त्यहीं बसिन् । उपकेशनी देवीलाई त्यहीं छोडी मञ्जुदेव आचार्य पुनः नागवास दहको पानीको निकासका लागि बाटो खोज्दै जानुभयो । कापोतल पर्वतमा पुगेपछि चन्द्रहास खड्गले त्यहाँको ढुंगा काटी पानी जाने बाटो बनाउनुभयो । त्यही गल्छेडोबाट दहको पानीको साथै माछा, भ्यागुता, सर्प, जलजन्तुहरू पनि बगेर गए । नागहरूलाई पानीको साथै पठाउनु हुन्न भनी सोची मञ्जु देवाचार्यले आफ्नो चन्द्रहास खड्गले खाल्टो खनी त्यहाँ पानी जमाई नागहरूलाई बस्ने बास दिनुभयो । यसरी नागहरूलाई बास दिएको दह धनाद नामले प्रसिद्ध भयो । यसरी नागवास दहको पानी बाहिर पठाउने क्रममा कछुवा जस्तो आकारको कच्छोद्र पर्वतमा पानी जमिरहेको देख्नुभयो र मञ्जुदेवाचार्यले त्यहाँको पर्वत फोडी पानीलाई निकास दिनुभयो । सूर्यघाट भन्ने ठाउँमा पानी थुनिएको देखी त्यहाँ पनि ढुंगा काटी पानी जाने बाटो बनाउनुभयो । त्यहाँबाट पनि माथि जाँदा गोकर्णमा पानी जमिरहेको देख्नुभयो त्यहाँ पनि ढुंगा काटी पानी बाहिर पठाउनुभयो । यसरी चार ठाउँमा ढुंगा काटी गल्छेडो बनाई पानी बाहिर जाने बाटो बनाइसकेपछि ध्यानोच्च पर्वतमा रहेकी उपकेशनी र स्फुल्लोच्च पर्वतमा रहेकी केशनी स्त्रीहरूलाई साथै लिई नागवास दहको इशान दिशातिर रहेको पर्वतमा रही मञ्जुदेव आचार्यले चीनबाट ल्याएका लोकजनहरूलाई पनि त्यही राखी नागवास दहको पानी सुक्दै गरेको हेरिरहनुभयो । नागवासदहको पानी सबै सुकेर गएपछि श्री स्वयम्भू ज्योतिरूप उत्पत्ति भएको कमल ढलेर गोश्रृंग पर्वतमा अडिन पुग्यो । यसबेला मञ्जुदेवाचार्यले सबै लोकजनलाई लिई गोश्रृंग पर्वत चढी माथि गई श्री स्वयम्भू ज्योतिरूपको दर्शन र पूजा गर्नुभयो । यसबेला त्यहाँ भेला भएका भक्तजनहरूले अत्यन्त खुसी भएर श्री स्वयम्भू ज्योतिरूपको भक्तिपूर्वक पूजा, पाठ र ध्यान गरे ।
स्वयम्भू महापुराण, फणिन्द्ररत्न बज्राचार्यद्धारा अनुवादित, प्रकाशक आशानन्द स्वधर्म विहार, प्रथम अध्याय र तृतीय अध्यायबाट

बृहत् बागमती सभ्यताको आधार
बागमती सभ्यतालाई सहज र सरल अर्थमा बुझ्दा बागमती नदी वरपर विकास भएको मानव सभ्यताका रूपमा बुझिन्छ । एकैछिनलाई बागमती छैन भनेर मान्ने हो भने बागमती सभ्यता पनि हालको स्वरूपमा हुँदैन थियो भन्न सकिन्छ । बागमती सभ्यताको प्रारम्भ हालको गोकर्णेश्वर १ नम्बर वडामा पर्ने बागद्वारबाट भएको स्पष्ट छ । बागमतीको यो मूल मुहान सुन्दरीजल, गोकर्णेश्वर, पशुपति, चोभार हुँदै तराईतिर लाग्छ र अन्तमा दुइ भाग भएर प्रसिद्ध गंगा तथा कोसी नदीमा मिसिन्छ । समुद्री सतहबाट २,६५० मिटरको उचाइमा उत्पत्ति भएको बागमती नदीको लम्बाइ समुद्री सतहबाट १,१४० मिटरको उचाइमा अवस्थित कटुवाल दहसम्म मात्र हिसाब गर्दा ४४ किलोमिटर (नापी विभाग १९९८) लामो छ ।

स्वयम्भूबाट इशान कोणमा रहेको हालको शिवपुरी राष्ट्रिय निकुञ्ज र गोकर्णेश्वर नगरपालिकाको १ नम्बर वडामा पर्ने बागद्वारको पानीले काठमाडौ उपत्यकाभित्रै विष्णुमती, हनुमन्ते, मनोहरा, धोबीखोला, गोदावरी, टुकुचा, नख्खु खोला, बल्खु खोलालगायतलाई समेट्दै गंगामा मिसिनुअघि ५९७ किलोमिटरको दूरी तय गर्दछ । यो बृहत् नदीको छेउछाउमा विकसित सभ्यता, स्थापित सांस्कृतिक धरोहरहरू र निर्माण गरिएका मठमन्दिर, पाटीपौवा घाटसत्तललगायत बृहत्तर नेपाली काष्ठ, प्रस्तर र धातुकलाका सम्पूर्ण प्राचीन नमुनाहरूको एकीकृत रूप नै बागमती सभ्यता हो ।

तराईको कर्मैयादेखि गंग्रेटिक मैदानसम्म पुग्नुभन्दा अघि महाभारत र शिवालिक पर्वतबाट उत्पत्ति भएका असंख्या सहायक नदीहरू यसमा मिसिन पुग्दछन् । बागमती नदीको कुल जलाधार क्षेत्र लगभग १५७ वर्गकिलोमिटर छ । बागमती नदीको उत्तरवर्ती क्षेत्रमा अवस्थित शिवपुरी राष्ट्रिय निकुञ्ज र यसका आसपासका क्षेत्रमा धाप, पानीमुहान, बस्तीगाउँ र पोखरीलगायतका साना ठूला गरेर धेरै सीमसार क्षेत्रहरू विद्यमान छन् । यस्ता सीमसार क्षेत्रहरूले नदीलाई भरिलो पार्न योगदान गर्दछन् । स्यालमती र नागमति खोला आफू उत्पत्ति भएको शिवपुरी पर्वतमै बागमती नदीसित मिसिन्छन् । ओख्रेनी चिलाउने र मूलखर्क जस्ता गाउँहरू बागमती नदीको मुहान नजिकै पर्दछन् । बागमती सभ्यताको वर्तमान स्वरूपका लागि आवश्यक पानीको मूल स्रोत र बृहत् उपत्यका निर्माणका लागि काटिएको अन्तिम स्थान गोकर्णेश्वर डाँडोका कारण बागमती सभ्यतामा गोकर्णेश्वरको स्थान उच्च छ ।