प्रेमिल शैलीको प्रभात र कविता अभिनित एकै छिन भिडियो सार्वजनिक

प्रेमिल शैलीको प्रभात र कविता अभिनित एकै छिन भिडियो सार्वजनिक तरुण खबर २ आश्विन २०७८, शनिबार १०:१८
प्रेमिल शैलीको प्रभात र कविता अभिनित एकै छिन भिडियो सार्वजनिक

काठमाडौँ । प्रेमी प्रेमिकाले एक अर्कालाई देख्न भेट्न नपाउँदाको छटपटी, निरासालाई समेटेर तयार पारिएको प्रेमिल शैलीको ’एकै छिन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका मेलिना राई र गायक किरण गजमेरको युगल गायन यस गीतमा सुन्न सकिन्छ । मेलिना राई एक नेपाली पप तथा आधुनिक गायिका हुन् ।

मेलिना राई पछिल्लो समयमा नेपाली गीत सङ्गीत क्षेत्रमा एकदमै लोकप्रिय अनि चर्चित नाम हो । उनीद्वारा गाइएका पिरेम नलाउनी, बैंसै बेइमानी, नाच फिरिरिलगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन् । उनको पहिलो गीत १२ वर्षको उमेरमा रेकर्ड भएको थियो । त्यस्तै, कति रात भोकै सुतेर त कति दिन खाली खुट्टा हिडेर किरण गजमेरले १४ बर्ष झापाको शरणार्थी शिविरमा बिताए । भुटानी शरणार्थी बनेर बा, हजुरबा र हजुरआमा सन् १९९३ मा नेपाल आएका हुन् ।

शरणार्थी शिविरमै किरणका बाआमाको विवाह भएको हो । किरण गजमेर नपालमै जन्मिए । अहिले त किरण अमेरिकाको बासिन्दा बनिसकेका छन् । अमेरिका पुगेको ११ वर्षपछि उनी रियालिटी सोमा भिड्न नेपाल आएका थिए  । गायक किरण भन्छन्– जे सुनेर हुर्कियो, त्यसैको चाह र आदत बस्नेरहेछ । त्यसैले मलाई संगीतले नै फेरि नेपाल ल्याइदियो ।

गीतकार गोपाल लोहारको शब्दमा रहेको यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्ध गरेका हुन् । गीतमा विषम आचार्यको संगीत संयोजन रहेको छ । संगीतकार वसन्त सापकोटाको व्यावसायिक सांगीतिक करिअरले दुई दशक पार गरिसकेको छ । यस अवधिमा उनले १६ सयभन्दा बढी गीतमा संगीत, तीन दर्जनभन्दा बढी गीतमा स्वर तथा शब्द रचना दिँदै आएका छन् ।

म्युजिक भिडियोमा प्रभात पाल ठकुरी र कविता न्यौपाने फिचर्ड छन् । श्याम तामाङ्गले छायांकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको छ । गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।