काठमाडौंमा मानव बसोबास र गोकर्णको इतिहास

काठमाडौंमा मानव बसोबास र गोकर्णको इतिहास तरुण खबर २ आश्विन २०७८, शनिबार १०:४८
काठमाडौंमा मानव बसोबास र गोकर्णको इतिहास

काठमाडौं । यो विशाल काठमाडौं उपत्यकाको सभ्यतालाई पानीको निकास बन्द गराएर राक्षसहरूले नष्ट पार्ने प्रयास गरेका थिए । चट्टान ल्याएर उनीहरूले विभिन्न ठाउँमा थुनिदिएपछि लामो कालखण्डसम्म उपत्यका जलमग्न भयो । सामान्य रूपमा काठमाडौं उपत्यकाको पानी बाहिर निकास हुने अन्तिम बिन्दु चोभार मानिन्छ । तर फर्पिङदेखि सुन्दरीजल तथा थानकोट चन्द्रागिरीदेखि भक्तपुरसम्मको बृहत् क्षेत्रलाई हेर्दा चोभारको मात्र निकासले उपत्यकाको पानी बाहिरिने सम्भावना देखिँदैन । धर्म, जनश्रुति र वंशावलीका आधारमा बौद्ध धर्मले मञ्जुश्री र हिन्दु धर्मले श्री कृष्णद्वारा पानीको निकास खोलेर काठमाडौं उपत्यकाकाको सभ्यता पुनःआरम्भ गरेको उल्लेख छ । बौद्ध ग्रन्थ र स्वयम्भू महापुराणमा काठमाडौं उपत्यकाको विशाल जल योजनाबद्ध रूपमै निकास गरिएको लेखिएको छ । पानीको सबैभन्दा बढी स्रोत भएको हालको गोकर्णेश्वर मन्दिर परिसरसँगैको डाँडो काटेर पानीको निकास सम्भव बनाएपछि विशाल उपत्यकाको रचना सम्भव भएको हो ।

गोकर्णेश्वरको किरात सम्बन्ध
नेपालमा प्राप्त लिच्छिविकालीन शिलालेख, मुद्रा आदिमा किरात भाषाको प्रयोगले किरातीहरूको प्रभाव स्पष्ट थाहा हुन्छ । किरातीहरूलाई युद्धमा हराएर लिच्छवि शासन सुरु हुनुअघिसम्म नै हालको गोकर्णेश्वरमा किरातीहरूको शासन केन्द्र रहेको अनुमान गरिएको छ । सुन्दरीमाई, बागमतीको मुहान बागद्वार, गोकर्णेश्वर अनि उत्तरगयाको प्रसंग जोडिएको गोकर्णेश्वरमा किरातको सन्दर्भ नजोड्दा यसको इतिहास नै अपूरो हुन्छ । सामान्यतः राज्यहरूमाथि आक्रमण हँुदा विजयी पक्षले पुरानो राजधानी आसपासकै क्षेत्रमा वा पहिलेकै स्थानमा राजदरबार बनाउने प्रचलन देखिन्छ । लिच्छविकालीन र अंशुबर्माका पालामा समेत किराती भाषाको व्यापक प्रयोग जस्ता कारणले सुरुवाती किरात राजधानी गोकर्ण आसपासमै रहेको अनुमान गरिएको हो ।

गोकर्णको बौद्ध कनेक्सन
काठमाडौं उपत्यका आफैंमा जटिल सांस्कृतिक परम्परा, रीतिरिवाज र धर्मको संगम हो । काठमाडौं उपत्यकाका बौद्धहरू अन्यत्रका भन्दा विशिष्ट भनिन्छन् । हजारौं वर्षको इतिहास बोकेको यो बौद्ध परम्परा बुद्धको जन्मभन्दाअघिदेखिको हो । मञ्जुश्रीले सहर बस्ने वातावरण तयार गरेपछि यो पवित्र भूमि गोकर्णसहित विभिन्न आठ स्थानमा बोधिसत्व प्रकट भएर सिद्ध प्राप्त गरेको विश्वास छ । यी आठ स्थानलाई अष्ट बैतराग भनिन्छ । गोकर्णेश्वर अष्ट बैतरागमध्ये एक हो । यसैगरी, बौद्ध धर्ममा काठमाडौ उपत्यका र वरपर गरी १२ स्थानलाई मुख्य तीर्थस्थलका रूपमा लिइएको छ । यो १२ तीर्थमध्ये गोकर्णेश्वर पहिलो पुण्य तीर्थ हो । अझै पनि केही बौद्ध धर्मावलम्बीहरू अष्टमीमा व्रत बसेर गोकर्णेश्वर जाने गर्छन् । किरातहरू सँगसँगै बौद्ध अनि हिन्दुहरूका लागि त गोकर्णेश्वर अझ महत्वपूर्ण स्थान मानिन्छ ।

बृहत् बागमती सभ्यता यात्रा
कटुवाल दहदेखि बागद्वार, ओख्रेनी, चिलाउने, मूलखर्क क्षेत्र समेटिने गरी बागमती सभ्यता यात्राको विकास नगरपालिकाले पहल तथा प्रारम्भिक अध्ययन सुरु गरेको छ । बृहत् बागमती सभ्यता यात्रामा बागमती जलाधार क्षेत्रभित्र विद्यमान ऐतिहासिक, सांस्कृतिक, धार्मिक अध्यात्मिक महत्वका सबै स्थान संलग्न गराउन सकिनेछ । यो साइकल यात्रा, मोटरसाइकल यात्रा, पैदलयात्रालगायत यात्रा शृंखलाहरू पनि यो भित्र नै पर्दछन् । कटुवाल दहदेखि शिवपुरी डाँडा बागमती धापसम्मको यो बृहत् योजनामा इतिहास अमूर्त संस्कृतिलगायत तल उल्लेखित विभिन्न प्रकारका टेलहरू समेत विकास गरेर ठोस कार्ययोजनामार्फत प्रक्रिया अघि बढाउन सकिनेछ । काठमाडौं उपत्यका धार्मिक र सांस्कृतिक सम्पदाका दृष्टिले अति सम्पन्न छ ।

बागमती नदी काठमाडौं उपत्यकाभित्रको सांस्कृतिक महत्व बोकेको नदीका रूपमा रहँदै आएको छ । काठमाडौँ उपत्यकाको सभ्यताको विकास यसै नदीबाट भएको हो भन्ने पूर्ण विश्वास गरिन्छ । काठमाडौँ उपत्यकाका महत्वपूर्ण मन्दिर, घाटहरू बागमती नदीको किनारमा पर्दछन् । यहाँ राजा, महाराजा र सर्वसाधारणहरूले आफ्ना परिवारका दिवंगत सदस्यहरूको सम्झनामा एवं धार्मिक उद्देश्यका लागि विभिन्न पाटी, पौवा, ढुंगेधारा, मन्दिर आदि निर्माण गरेका थिए ।

धार्मिक आस्थाले भरिएका धेरैजसो महत्वपूर्ण मन्दिरहरू नदी वरिपरि नै निर्मित भएका छन् । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको मन्दिर बागमती नदीको किनारमा अवस्थित छ । सांस्कृतिक संस्कार वा कर्मकाण्ड पूरा गर्नका लागि नदी र यिनीहरूको दोभानको बराबर महत्व रहेको पाइन्छ । नदी किनारमा अवस्थित यस्ता सांस्कृतिक सम्पदाहरूको समुचित व्यवस्थापन गर्न गुठीलगायतका धेरै परम्परागत सामुदायिक संगठनहरू कार्यरत रहने गरेको पाइन्छ । बाग्मती कार्ययोजना (२००९–२०१४)

पौराणिक ट्रेल
गोकर्णेश्वर आफैंमा पौराणिक हिसाबले सम्पन्न छ । ब्रह्मा, ब्रह्माका छोरा, शिव, पार्वती, रावणजस्ता पौराणिक पात्रहरूले विभिन्न समयमा विचरण, ध्यान र उत्पत्ति गरेका स्रोतहरूलाई समग्रमा जोडेर पौराणिक ट्रेल (पदयात्रा मार्ग) लाई मूर्तरूप दिन आवश्यक छ । पौराणिक ट्रेलमा गोकर्णदेखि सुन्दरीजल हुँदै सूर्यकुण्ड, गोसाइँकुण्डसम्मलाई सहजै समेट्न सकिन्छ ।

किरात ट्रेल
किराती वंशको दरबार रहेका सम्भावित क्षेत्र, किरातेश्वर महादेव (पशुपति क्षेत्र) लगायत नाममा किराती भाषाको प्रभाव देखिएका वर्तमान क्षेत्रहरूसमेतको पहिचान गरेर किरात ट्रेलको विकास गनुपर्ने देखिन्छ । किरात ट्रेलमा गोकर्णदेखि साँखु र पाटनको च्यासलसम्मका क्षेत्रलाई समेट्न आवश्यक छ ।

लिच्छवि ट्रेल
देशे मरु झ्याँ अर्थात् देशे भन्ने गाउँमा समेत नभएको झ्याल भन्ने पुरानो समृद्धिको इतिहास पुष्टि हुने देशेगाउँ, पछिल्लो समयमा तत्कालीन दरबार रहेको संकेतसहितको बालुवा भन्ने स्थानमा भेटिएको अंशुबर्माको अभिलेख रहेको स्थानलगायत चाँगुनारायणसम्मलाई गाभेर लिच्छवि ट्रेल विकास गर्नु सान्र्दभिक देखिन्छ । यसका साथै लिच्छविकालीन प्रमाण रहेका अन्य स्थानहरूको समेत पहिचान गरियो भने यसले नयाँ पर्यटकिय आयाम थप्नेछ ।

बौद्ध ट्रेल
नजिकै जोडिएको बौद्धनाथदेखि परम्परादेखि नै समृद्ध हेलम्बु, पद्मसम्भव र बोधिसत्वलाई समेत जोडेर बौद्ध ट्रेल विकास गर्न जरुरी छ । काठमाडौं उपत्यका रहेका अष्ट वैतरकमध्ये एक र १२ अति पवित्र तीर्थस्थलमध्ये पहिलो तथा मुख्य तीर्थस्थलका रूपमा परिचित पुण्य तीर्थसमेत यो अवधारणामा जोडिनुपर्छ । बौद्धमार्गीहरूले विशेष श्रद्धाकासाथ लिने गोकर्णको पुण्य तीर्थलाई आधार बनाएर फर्पिङ, भक्तपुर, गोसाइँकुण्ड र हेलम्बुसम्मको पदयात्रा मार्ग वा भ्रमण यात्रा मार्गको विकासमा ध्यान दिन आवश्यक छ ।

पर्यावरण्ीय ट्रेल
नेपालकै चर्चित पर्यटकीयस्थलका रूपमा परिचित पोखरा वास्तवमा धेरै पर्यटकीय स्थलहरूको भ्रमण गर्न सकिने प्रवेशद्वार हो । मुक्तिनाथ, अन्नपूर्ण, सर्किट, धौलागिरी, पुनहिललगायत अनेकौं गन्तव्यका लागि पोखरा प्रवेशद्वार हो । वर्तमानमा गोकर्णेश्वरले पोखराजत्तिकेै वा त्यो भन्दा ठूलो प्रवेशद्वार बन्न सक्ने सम्भावना बोकेको छ । गोकर्णबाट सुन्दरीजल, तारेभीर, शिवपुरी निकुञ्ज, चिसापानी हुँदै लाङटाङ निकुञ्जको यात्रा, गोसाइँकुण्ड, जुगल हिमालसहित ग्रेट हिमालयन ट्रेलसमेत जोड्ने गरी पर्यावरणिय पदयात्राको सम्भावना गोकणेश्वरसँग छ ।