गोकर्णेश्वर नगरपालिकाको मुटु भनेकै वडा नम्बर ४ हो

गोकर्णेश्वर नगरपालिकाको मुटु भनेकै वडा नम्बर ४ हो श्रीकुमार श्रेष्ठ ३ आश्विन २०७८, आईतवार ११:१९
गोकर्णेश्वर नगरपालिकाको मुटु भनेकै वडा नम्बर ४ हो

गोकर्णेश्वर नगरपालिकाको मुटु भनेकै वडा नम्बर ४ हो । मुलुकको नयाँ संविधानअनुसार गोकर्णेश्वर नगरपालिकाको संरचना गर्ने क्रममा तत्कालीन गोकर्ण गाविसलाई वडा नम्बर ४ कायम गरिएको छ । जनसंख्याको दृष्टिले तत्कालीन जोरपाटी गाविस गोकर्णेश्वर नगरपालिकाको मुटु हो, तर नगरपालिकाको नाम तथा ऐतिहासिक दृष्टिले तत्कालीन गोकर्णेश्वर गाविस मुटु हो । वडा नम्बर ४, राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय स्तरका सम्पदा भएको क्षेत्र हो । यहाँका हरेक इँटा मात्रै होइन, यहाँको माटो, बालुवा र पानी पुरातात्विक महत्वका छन् । जसको संक्षेपमा उल्लेख गर्न चाहन्छु ।

गोकर्णेश्वर महादेव ः गोकर्णेश्वर महादेव मन्दिर नेपालकै सबैभन्दा पुरानो सम्पदा हो भन्ने पौराणिक प्रमाणहरू छन् । स्वयं ब्रह्माद्धारा स्थापित मृगको सिङ भएको गोकर्णेश्वर शिवजीलाई महालिंग भनिन्छ । भक्तजनहरूलाई इच्छित वरदान प्रदान गर्नुहुन्छ भन्ने कुरा हिमवत्खण्ड नेपाल महात्म्यमा उल्लेख गरिएको छ । चन्द्र भागा चन्द्रमति नदी र वागमती नदीको संगम परमपुण्य तीर्थलाई पितामह तीर्थ पनि भनिन्छ ।

उत्तरगया धाममा कुशे औंशी अर्थात् भाद्रकृष्ण औंशी, पौषे गया औंशीमा आफ्ना पितृहरूको श्राद्ध तथा तपर्णका लागि ठूलो मेला लाग्छ । यसैगरी, शिवरात्री श्रावण महिनाको सोमबार र तीजमा पनि यो मन्दिरमा ठूलो मेला लाग्छ । यस स्थानमा चन्द्रमति सूर्यमति र बागमतीको संगम त्रिवेणी पनि परेको छ ।

श्रीकान्ति भैरव मन्दिर: गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ मा अर्को महत्वपूर्ण श्रीकान्ति भैरव मन्दिर छ । उक्त स्थानमा वागमती नदी दक्षिणबाट उत्तरतिर बग्ने भएकाले उत्तरबाहिनीको नामले चिनिन्छ । यस स्थानमा स्थानीय जात्राको पहिलो दिन अर्थात् आमाको मुख हेर्ने औशीको दिन विशेष मेला लाग्ने गर्दछ । उक्त जात्रामा देशेगाउँबाट बाजागाजासहित बिहान ४ बजे नै रथ ल्याउने प्रचलन छ ।

जागेश्वरी भगवती मन्दिर: गुप्ती गणेश, सप्तऋषि घाट पिंगलादेवी (पिंगलस्थान) पञ्चमुखे हनुमानलगायतका देवीदेवताहरूले बास गरेको स्थान गोकर्णेश्वर–४ मा पर्ने मुलुकका पौराणिक सम्पदा हुन् ।

जीवित संग्रहालय: गोकर्णेश्वर मन्दिरभन्दा पूर्वतर्फ रहेका देशेगाउँ लिच्छविकालीन राजधानी हो । मानदेवको मानगृह यसै ठाउँमा रहेको भनाइ छ, केही प्रमाणहरू फेला परेका पनि छन् । उत्खनन् बाँकी छ ।

देशेगाउँ नेपालको जीवित संग्रहालय हो । वैशाख महिनाको आमा खुवाउने औंशीे अघिल्लो दिन अर्थात् वैशाख कृष्ण चतुर्दशीका दिनबाट सुरु भई अक्षय तृतीयाको दिनसम्म पाँच दिन जात्रा हुन्छ । अर्को जात्रा सिठीनखको दिन गणेशजात्रा हुन्छ । गाईजात्रा पनि यसै स्थानमा गई मनाइने गरिन्छ । यस स्थानमा तलेजुभवानी, महांकाल स्थान, चिवा, स्तुप, कृष्ण मन्दिर, भैरव मन्दिर नाशद्य (बाजा सिकाउँदा पुज्ने देवता), भीमसेन मन्दिर, सरस्वति मन्दिर चन्देश्वरी मन्दिर रहेका छन् ।

३४ वर्षदेखि बन्द रहेको देवी नाच २०७४ सालबाट पुनः सुरु भएर अहिले निरन्तर चलिरहेको छ । श्रीकृष्ण जन्माष्टमीको दिन पहिले पहिले कृष्णजन्मसम्बन्धी नाटक, भजन, कीर्तन गरी भोलिपल्ट रथयात्रा गर्ने चलन रहेको थियो । हाल अष्टमीको दिन मट्का फोड्ने कार्य सुरु भएको छ ।
गोकर्णेश्वर नगरपालिका–४ मा रहेको ऐतिहासिक राजा मानदेवले बसाएको विश्वास गरिने ‘गोकर्ण देशः’ नामक बस्तीमा नेवाः खुला संग्रहालय निर्माण सुरु भएको छ । ऐतिहासिक बस्तीलाई पुरानै स्वरूपमा संरक्षण गरी पर्यटक भित्र्याउने उद्देश्यले पुराना चिजबीजको संरक्षण गरी संग्रहालय निर्माण गर्न लागिएको हो । ऐतिहासिक बस्ती छिर्ने मूलसडकमा मूल ढोका निर्माण गरिनेछ । ‘गोकर्ण देशे’ छिर्ने बाटोमा रहेको भीमसेन र सरस्वतीको मूर्तिसमेत संरक्षण गरिने छ ।

यस क्षेत्रमा रहेको पुरातात्विक महत्वको फल्चा, कुवा, ढुंगेधारा मासिन थालेकाले यसको समेत संरक्षणमा स्थानीय सरकार जुटेको छ । विगतमा फलैचामा बिछ्याएको ढुंगामा बसेर बुढापाकाले हुक्का तान्ने गरेकामा अहिले यो दृश्यसमेत यहाँ देख्न पाइँदैन । यहाँका ऐतिहासिक चीजबीच संरक्षणका लागि प्रदेश सरकारले समेत चासो दिएको छ । बस्तीसँगै रहेको ऐतिहासिक दरबार पनि २०७२ को भूकम्पले क्षतिग्रस्त छ । यसको पुनर्निर्माणमा संघीय सरकार नै अघि सर्नुपर्ने थियो । विगतमा राजनिकुञ्जको पर्खालभित्र पारिएको दरबार हाल नेपाल ट्रस्टको कार्यालय मातहत छ । भूकम्पको पाँच वर्ष बितिसक्दासमेत दरबार पुनर्निर्माणमा कुनै निकायले ध्यान नदिनु दुर्भाग्य हो ।

उपत्यकाको गौरव: मञ्जुश्रीले चोभारमा गल्छी निर्माण गरी पानी फालेपछि मात्रै उपत्यकामा बसोबास सुरु भएको भनाइ छ । तर मञ्जश्रीले चोभारको गल्छी काट्नुभन्दा अघि नै गोकर्णमा बस्ती भएका पौराणिक प्रमाणहरू छन् । भौगोलिक रूपमा पनि यो अनुमान लगाउन सकिन्छ । किनकि देशेगाउँ १३ सय ३६ मिटरको उचाइमा छ । तर चोभारको गल्छीको सबैभन्दा माथिल्लो उचाइ ११ सय ७५ मिटर छ । त्यसैले चोभारमा गल्छी नकाट्दा पनि गोकर्णमा व्यवस्थित सहर थियो भन्ने अनुमान लगाउन सकिन्छ । तर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र काठमाडौँ पूर्वउत्तर दिशामा रहेको देशेगाउँ उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । रत्नपार्कबाट करिब १० किलोमिटर दूरीको पर्यटकीय क्षेत्र सरोकारवाला निकायको बेवास्ताकै कारण राजधानीभित्रै भएर पनि बत्तीमुनिको अध्यारो झँै बनेको हो ।

लिच्छविकालमा समृद्ध राजधानीको रूपमा रहेको ‘गोकर्णे देशः’ नामले कहलिएको पुरानो गाउँ गोकर्ण आसपासका गाउँले समृद्धि हासिल गरिरहँदा पनि यो क्षेत्र विकट नै रहेको छ । राजा मानदेवले शासन गरेको यो गाउँ त्यतिखेर निकै समृद्ध रहेको बालुवा क्षेत्रको पुरातात्विक उत्खनन्ले पुष्टि गरेको छ । वि.सं ५२१ मै यो ठाउँमा व्यवस्थित सहर रहेको प्रमाण फेला परिसकेको छ । राजा मानदेवले गोकर्ण र भक्तपुरको चाँगुनारायण दुवै राज्यमा शासन गर्दथे गोकर्णमै बसेर । पुरातात्विक महत्वका मठमन्दिर र देवालय एवं नेवारी संस्कृतिको मौलिकता भएको यो क्षेत्रमा धार्मिक, सांस्कृतिक मात्र हैन, महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास हुने प्रशस्त आधार र सम्भावना छन् ।

जागेश्वरी भगवती, गुप्ती गणेश, सप्तऋषेश्वर घाट, पिंगलादेवी, तलेजुभवानी मन्दिर, पञ्चमुखे हनुमान र यमुना देवीको मन्दिर पनि ऐतिहासिक नै रहेका छन् । उत्तरबाहिनीमा ध्यान केन्द्र र गुफा पनि छ, जहाँ १००८ गलेश्वर बाबा, १००८ वासुकी बाबा, १००८ षडानन्द ब्रह्माचारीलगायतका योगीहरूले साधना गरेका थिए भन्ने कुरा नयाँ पुस्तालाई जानकारी दिन पनि संरक्षण प्रवद्र्धन गर्न आवश्यक छ ।

उत्तरगया गोकर्णेश्वर माहादेवको दर्शन तथा अवलोकन र पितृकार्य गर्न हजारौँ मानिस गोकर्ण पुग्छन्, सोही संख्यामा नजिकैको उत्तरवाहिनीस्थित श्रीकान्ति भैरव मन्दिर जान्छन्, तर नेवारी संस्कृति र परम्पराको सम्पदास्थल गोकर्णेश्वर देशेगाउँ पुग्दैनन् । किनकि उनीहरूलाई यो ऐतिहासिक गाउँका बारेमा जानकारी नै छैन । पर्यटकीय सम्भावना बोकेको गोकर्णेश्वर देशेगाउँलाई होमस्टे (घरवास)को रूपमा प्रवद्र्धन गरी आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउने प्रयास भर्खर सुरु भएको छ ।

जम्मा १७७ घरधुरी रहेको मौलिक नेवारी यो गाउँमा परम्परागत संस्कृति बोकेका विभिन्न मठमन्दिर छन् । गाउँको प्रवेशद्वारमै लिच्छविकालीन कलात्मक भीमसेन मन्दिर छ । त्यहाँ रहेको चण्डेश्वरी मन्दिरमा बच्चा जन्मेपछि न्वारान गरेजस्तै गाईभैँसी ब्याएपछि १२ दिनभित्रमा पूजा गर्नुपर्ने प्रथा छ । गाउँको बीचमा श्री पकनावती गणेश मन्दिर, नाटेश्वर महादेव र तलेजु भवानीको मन्दिर छ । चिवा बुद्ध, पञ्चमुखी बुद्धको मूर्ति पनि छ । यहाँ बर्सेनि वैशाख कृष्ण चतुर्दशीदेखि अक्षय तृतीयाको दिनसम्म धूमधामसँग कान्ति भैरवनाथको जात्रा मनाउने गरिन्छ ।
(गोकर्णेश्वर नगरपालिका–४ का श्रीकुमार श्रेष्ठ वडाध्यक्ष हुन्, उनको यो लेख नगरपालिकाद्वारा प्रकाशित गोकर्णेश्वरबाट लिइएको हो ।)