गोकर्णेश्वर नगरपालिका–१ मा बागमती धाप परियोजना

गोकर्णेश्वर नगरपालिका–१ मा बागमती धाप परियोजना तरुण खबर ३ आश्विन २०७८, आईतवार ११:२३
गोकर्णेश्वर नगरपालिका–१ मा बागमती धाप परियोजना

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने बागमती धाप परियोजना काठमाडौं उपत्यकाकै (ललितपुर र भक्तपुर) आकर्षक परियोजना हो । किनभने समुन्द्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाइमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो हो । र, सीएफआरडी ड्याम नेपालमा पहिलो त हुँदै हो ।

उपत्यकाको उत्तरपश्चिम चुचुरो मूलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात् १५८ रोपनीमा फैलिएको छ । २०१५ देखि काम सुरु गरिएको र २०२१ फ्रेबुअरीमा सम्झौताबमोजिम सिंचाइ विभागलाई हस्तान्तरण गरिने साइट इन्जिनियर रूपेशकुमार साहले जानकारी दिए । ९५ प्रतिशत भौतिक काम सकिएको कृत्रिम यो तालमा २४ मिटर अग्लो बाँध हुनेछ । यो बाँधमा वर्षामा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरिनेछ । यो क्षेत्र आफैँमा धाप क्षेत्र हो । परापूर्वकालदेखि पोखरी रहेकोमा यतिखेर विस्तार गरी निर्माणको काम भइरहेको छ । किंवदन्तिअनुसार एक रात महादेव धापमा बास बसेका थिए, बास बसेको स्थानमा बिहानीपख कुखुराको भाले बासेको सुनेपछि महादेव गोसाइँकुण्डमा गएर बसेको भनाइ छ । महादेव बसेकाले स्थानीय केही व्यक्तिले महादेवको मन्दिर पनि बनाएका थिए । तर धापमा ताल निर्माण गर्दा मन्दिर भत्काउनु परेको साइट इन्जिनियरले जानकारी दिएका थिए ।

निर्माण हुँदै गरेको धाप बाँधले सुख्खायाममा प्रतिसकेन्ड ४० लिटरका दरले बागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ । ढलको व्यवस्थापन प्रभावकारी हुन सक्यो र सँगसँगै फोहोर व्यवस्थापन भयो भने त्यसले बागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ ।

मूलखर्कको सिरान आफैंमा काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको साँध हो । सिन्धुपाल्चोकको चिसापानीमा अहिले पनि आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्छन् । पदयात्राको नजिकको गन्तव्य मात्र होइन, गोसाइँकुण्ड, लाङटाङ राष्ट्रिय निकुञ्जका चराचुरुंगी, जंगली जनावर र अनेकथरीका पुतली हेर्नुका साथै यसै धाप ताल नजिकैबाट सिन्धुपाल्चोक हेलम्बु पनि जान सकिन्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका क्षेत्रमा बन्न थालेको यो बाँध पूरा हुँदा बागमतीमा थप पूर्वाधार पनि सम्पन्न हुनेछन् । यो तालले गोकर्णेश्वरको पर्यटकीय सम्भावनालाई नयाँ रूप दिने त निश्चित नै छ । पूर्वाधार निर्माणका निकुञ्जसँग नगरपालिकाले समन्वय गरिरहेको छ ।

नागमति बाँध परियोजना
धाप ड्यामभन्दा करिब दुई किलोमिटर तल शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन वातावरणीय अध्ययन भइरहेको छ । धाप ड्याममा जम्मा भएको पानी नागमतिको ड्याममा जम्म भएपछि क्रमशः पानी छोड्दै जाँदा बागमतीमा मिसिन्छ । यो पानीबाट विद्युत निकाल्ने उद्देश्य छ भने बागमती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ ।

प्रस्तावित नागमति बाँध ९० मिटर अग्लो हुनेछ र यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ । यो बाँधबाट चार मेगावाट विद्युत् उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनःभरण (रिचार्ज) गर्न ठूलो सहयोग गर्नेछ ।

विस्तृत सर्वेका काम इस्ट म्यानेजमेन्ट एन्ड इन्जिनियरिड सर्भिसेजले गरेको हो । सुन्दरीजलबाट नागमति ड्याम पुग्न पाँच किलोमिटर मात्र छ । यी दुई बाँधको आकर्षणले गोकर्णेश्वर नगपालिकाको पर्यटन व्यवसाय थेगिनसक्नु हुने सजिलै अनुमान गर्न सकिन्छ । यद्यपि पर्यटन पूर्वाधारका विकासका लागि सरकारसँग मिलेर योजना बनाउनुपर्छ, नगरपालिकाले त्यो गरिरहेकै छ । यो बाँधको पर्यावरणीय अध्ययन प्रतिवेदन हाल वन मन्त्रालयमा अलमलिरहेको छ ।

नौका विहार, बुद्ध र शिवमूर्ति योजना
नगरपालिकाले बागमतीका विभिन्न स्थानमा स–साना बाँध बनाएर नौका बिहारका लागि गृहकार्य गरिरहेको छ । नौका बिहार योजनाअन्तर्गत विभिन्न स्थानमा स–साना बाँध बनाएर पर्यटकीय सम्भावना बढाउन नगरपालिकाले अघिल्लो वर्ष नै यो कामका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ । यसैगरी, सुन्दरीजलको शिरमा भव्य बुद्ध र शिवमूर्ति बनाउन यो वर्ष पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ ।

विकास निर्माणका लागि ९७ करोड ६० लाख रुपैयाँ विनियोजन गरिए पनि नगरपालिकाले केही महत्वाकांक्षी योजना अघि सारेको छ । यी आयोजनाहरू बहुवर्षीय छन् । नगरपालिकाको वडा नम्बर ३ स्थित प्रसिद्ध पर्यटकीयस्थल तारेभीरमा महादेव र बुद्धको ठूलो मूर्ति स्थापना गरी पर्यटक आकर्षित गरिने भएको छ । नगरपालिकाका सबै वडामा खानेपानीको समस्या रहेकाले समाधानका लागि बृहत् खानेपानी योजना निर्माणका लागि पनि बजेट छुट्याइएको छ । बागद्वारबाट झर्ने बागमतीको पानी सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइने भाग नगरपालिकामै पर्ने भए पनि अधिकांश क्षेत्रमा खानेपानीको समस्या छ ।

नगरपालिका–५ स्थित नारायणटार पुलबाट वडा नम्बर ४ स्थित भगवती स्थानको बागमती नदीमा बाँध निर्माण गरी पर्यटक आकर्षित गर्न स्टिमर चलाउन दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित धार्मिकस्थलका रूपमा विकास गर्न खाली जग्गामा बगैँचा निर्माण गर्ने योजना पनि नगरपालिकाले अघि सारेको छ । मन्दिरमा सुनको जलपसहितको धातुको छाना छाउने कामलाई पनि निरन्तरता दिने बजेटमा उल्लेख गरिएकोमा काम सम्पन्न भइसकेको छ । साथै, ९० वर्षमाथिका वृद्धवृद्धालाई नगरपालिकाले विशेष भत्ता दिने गरेको छ । नगरपालिकाका मेयर सन्तोष चालिसेले प्रस्तुत गरेको बजेट नगरसभामा छलफलपछि पारित भएको थियो ।