आज संविधान दिवस मनाइदै, सबैभन्दा ठूलो विभूषण किसुनजीलाई

आज संविधान दिवस मनाइदै, सबैभन्दा ठूलो विभूषण किसुनजीलाई तरुण खबर ३ आश्विन २०७८, आईतवार ११:२८
आज संविधान दिवस मनाइदै, सबैभन्दा ठूलो विभूषण किसुनजीलाई

काठमाडौं । २०७८ असोज ३ गते आइतबार आज संविधान दिवस । नेपालको अन्तरिम संविधान–२०६३ लाई प्रतिश्थापन गर्न बनेको नेपालको संविधान–२०७२ नेपालको विद्यमान संविधान हो । संविधान नेपालको तत्कालीन संविधान सभाले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौँ संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान दुई–तिहाई भन्दा बढी मतले पारित गरेको थियो । साथै, नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो ।

संविधान दिवसका दिन ९ सयभन्दा बढीलाई सरकारले विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने भएको छ । सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई दिने निर्णय सरकारले गरेको छ । दोस्रो ठूलो राष्ट्र गौरव विभूषण मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्णशमसेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय सरकारले गरेको छ ।

तेस्रो ठूलो महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण भने प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरा, मोहनचन्द्र अधिकारी, तुलसीलाल अमात्य, मंगलादेवी सिंह, दुर्गानन्द झा र नारायण गोपाललाई दिने निर्णय भएको छ । सुप्रसिद्ध प्रबल जनसेवा श्री विभूषण प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंहलाई तथा उज्जवल कीर्तिमय राष्ट्रद्वीप न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई दिने निर्णय सरकारले गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गर्ने कार्यक्रम छ ।

नेपालको तराई क्षेत्रका जिल्लाहरूमा यस विरुद्ध आवाज उठाइएता पनि गणक पूरक संख्या पुराएर यो संविधान दुइतिहाई (नब्बे प्रतिशतभन्दा बढीको) बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो । यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्षबाट प्रमाणित गरिएको थियो । तराई–मधेसका जिल्लाहरुमा कालोदिन भनि विरोध भएतापनि संविधान २०७२ असोज ३ गते नेपालका तत्कालिन राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको थियो । यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन् । संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राष्ट्र घोषित गरेको छ, यो विषय अहिले पनि विवादमा परेको छ ।