जोरपाटीको पहिचान स्थापित गर्न लागि परेका छौं

जोरपाटीको पहिचान स्थापित गर्न लागि परेका छौं नारायणबहादुर सुवेदी ४ आश्विन २०७८, सोमबार १०:१४
जोरपाटीको पहिचान स्थापित गर्न लागि परेका छौं

जोरपाटी चोकमा परापूर्वकालदेखि चारवटा पाटी थिए । त्यसकारण यो ठाउँको नाम जोरपाटी रहन गएको हो । हामीले यही वर्ष जोरपाटी चोकैमा कलात्मक दुईवटा पाटी बनाउँदै छौ । नयाँ पुस्ताका लागि जोरपाटी कसरी रहन गयो भन्ने प्रश्नको जवाफ हामीले दिनै पर्दैन, ती दुई पाटी नै जवाफ हुने छन् । यो जोरपाटीको पहिचान हो । मल्लकाल र राणकालमा काठमाडौं उपत्यकाको तिब्बतसँगको व्यापारिक प्रमुख मार्ग भएकाले आउनेजानेहरू कति पाटीमा बास बस्थे भने कतिपयको थकाइ मार्ने साथी यही पाटी नै हुने गरेको थियो । यस क्षेत्रको मुख्य बजार साँखु नै थियो ।

वराहपुराणमा यस क्षेत्रलाई पशुपति क्षेत्र भनिएको छ । इतिहासकार धनबज्र बज्राचार्यले लिच्छविकालको इतिहासमा किरातकालको प्रभाव, पूर्णिमामा लिच्छवि राजा जयदेव द्वितीयको पशुपतिनाथको प्रसिद्ध शिलालेखमा पनि यस स्थानलाई पशुपति क्षेत्र भनी वर्णन गरेका छन् । अर्को कुरा, सामान्यतः शहरीकरण हुनु भनेको विकासको गतिले फड्को मार्नु हो भन्ने बुझिन्छ । विकासोन्मुख मुलुक भएकाले हाम्रा शहरहरू अव्यवस्थित छन् । खानेपानी, ढल र फोहोर व्यवस्थापन गर्न ठूलै समस्या देखिने गरेको छ । गोकर्णेश्वर नगरपालिकको वडा नम्बर ५ नगरको मुख्य जनघनत्व भएको क्षेत्र हो ।

आजभन्दा ५० वर्षअघि अर्थात् २०२८ सालको जनगणनाअनुसार जोरपाटीको जनसंख्या २५ सय ८० थियो । अहिले वडा नम्बर ५ को मात्रै जनसंख्या (२०६८) २२ हजार ३०९ छ । साविक जोरपाटी गाविसलाई ५, ६, ७, ८ र ९ मा विभाजन गर्दा वडा नम्बर ५ मा मात्र २२ हजार ३०९ जनसंख्या देखिएको हो । आजभन्दा १० वर्षअघि नै भाडामा बस्ने सम्मानित नागरिकहरूको संख्या ११ हजार ९७९ थियो । १० वर्षको योबीचमा कति थपिए होलान्, अनुमान गर्न सकिन्छ । र, जोरपाटीको मुख्य बजार यही वडामा पर्ने भएकाले दैनिक अनेकौं समस्या आउँछन् ।

आजभन्दा ५० वर्षअघि अर्थात् २०२८ सालको जनगणनाअनुसार जोरपाटीको जनसंख्या २५ सय ८० थियो । अहिले वडा नम्बर ५ को मात्रै जनसंख्या (२०६८) २२ हजार ३०९ छ । साविक जोरपाटी गाविसलाई ५, ६, ७, ८ र ९ मा विभाजन गर्दा वडा नम्बर ५ मा मात्र २२ हजार ३०९ जनसंख्या देखिएको हो ।

जनसंख्याको वृद्धिसँगै आउने खानेपानी, ढल निकास, फोहोरमैलाजस्ता समस्या देखापर्छन्, जुन स्वाभाविक हो । जहाँ समस्या त्यहँ उपाए भन्ने उक्तिअनुसार काम गर्न हामी अभ्यस्त भएका छौं । किनभने पिताजी बद्रीबहादुर सुवेदी राजनीतिमा संलग्न भएकाले मलाई स्वाभाविक रूपमा चासो थियो, हाम्रो घर राजनीतिक वातावरणमय थियो । तर मलाई सामाजिक काममा रुचि भएकाले प्रत्यक्ष रूपमा राजनीतिमा संलग्न भएको थिइनँ । स्थानीय तहको राजनीति भनेकै समाजसेवा हो । २०७४ सालमा निर्वाचित भएर म आएपछि कुनै दिन विश्राम लिएको छैन, विकास निर्माणमै केन्द्रित भएको छु । गोकर्णेश्वर नगरपालिकाको संस्थागत सुधार, सेवा प्रवाह एवं सुशासन समितिको संयोजक भएकाले पनि म सिक्दै, सिकाउँदै गर्न अभ्यस्त भएको छु । पालिकाबाट प्रवाह हुने सेवामा ढिलासुस्ती हटाई छिटोछरितो र पारदर्शी काम गर्ने प्रयत्न भइरहेको पनि छ ।

गाउँलाई सहर बनाउनुपर्नेमा सबै पूर्वाधार बनिसकेको सहरमा बस्न हामी अभ्यस्त भएका छौं, त्यो नै मूल समस्या हो । त्यस विषयमा चर्चा गर्नुभन्दा पनि म आप्mनो वडाको विकास निर्माण, मठमन्दिर, संघ–संस्थालगायतका बारमा संक्षिप्तमा चर्चा गर्नेछु । वडा नम्बर ५ का मठमन्दिरहरूमा पञ्चकन्या मन्दिर, पञ्चमुखी हनुमान, अर्घौतेश्वर (इच्छा वीरूपेश्वर) महादेव, नारायण मन्दिर, सुवेदी कुलायन, श्री चामुण्डा मन्दिर, सिद्धेश्वर महादेव, विन्दावासिनी मन्दिर, जोरपाटी चोकैमा रहेको गणेश मन्दिर प्रमुख मन्दिरहरू हुन् ।

श्रीस्वस्थानी कथामा सतिदेवीको अंगपतन भएको भनिएको प्रसिद्ध चामुण्डा मन्दिर मेरै वडामा पर्छ । करिब चार रोपनी क्षेत्रफलमा बनेको मन्दिर २०३८ साल र २०५३ सालमा अर्जुनबहादुर सुवेदीको नेतृत्वमा पुनर्निर्माण भएको हो । सुनिएअनुसार सत्य युगमा दक्ष प्रजापतिकी पुत्री सतिदेवीको मृत शरीर महादेवले बोकेर हिँड्दा, जहाँ जहाँ अंगपतन भयो, त्यहाँ त्यहाँ एउटा एउटा शक्तिपीठ उत्पन्न भएको कथा हामीले पढेका छौं, सुनेका छांै ।

त्यही अंगपतन हुने क्रममा नेपालको जोरपाटीमा सतिदेवीको नङ पतन भएकाले त्यस स्थानको नाउ चामुण्डा रहन गएको भनिन्छ । मुण्डशैलीमा निर्माण भएको चामुण्डा देवीको मन्दिर पनि शक्तिपीठहरूमध्येको एउटा शक्तिपीठ हो । हेर्दा हातको नङ जस्तो देखिने भगवतीको शिलामा देवीस्वरूप बनाएर नित्यपूजा गर्ने गरिन्छ । उत्तर बाहिनीको श्रीकान्ति भैरव गुरुकुलमा पढेका चारजना गुरुहरूले बिहान, दिउँसो पूजा गर्ने गरेका छन् भने बेलुका आरति जगाउने गरिएको छ ।

हामीले यही वर्ष जोरपाटी चोकैमा कलात्मक दुईवटा पाटी बनाउँदै छौ । नगरपालिकाबाट प्रवाह हुने सेवामा ढिलासुस्ती हटाई छिटोछरितो र पारदर्शी काम गर्ने प्रयत्न भइरहेको छ ।

वर्षको दुईपटक बडादशंै र चैतेदशैंमा भक्तजनको विशेष भीड लाग्ने गर्छ भने अन्य दिन पनि मान्छेहरूको चहलपहल हुन्छ । चैत्र नवरात्रको अष्टमी तिथि पारेर रथयात्रा निकालिन्छ, यात्रामा हजारौं भक्तजनहरू सहभागी हुन्छन् । पहिले पहिले साविक जोरपाटी गाविसभरि रथयात्रा गराइन्थ्यो अहिले पनि गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ मा रथयात्रा गराइन्छ । मन्दिर परिसरमा दुई वटा सत्तल, पाटी, चारवटा शौचालय बनिसकेको छ । मन्दिरको आप्mनै आर्थिक स्रोत भएकाले पूजा चलाउन खासै समस्या छैन । शक्तिपीठ भएको ठाउँ महादेवको मन्दिर हुन्छ नै, यहाँ पनि महादेवको मन्दिर छ ।

बाहुनधारामा रहेको अर्घौंतेश्वर महादेवको मन्दिर पनि यस क्षेत्रमा प्रसिद्ध छ । दुई रोपनी क्षेत्रफलमा बनेको यो मन्दिर ऐतिहासिक पक्षमा बारेमा खोज अनुसन्धान गर्न बाँकी नै छ, तथापि प्राचीनकालको यो मन्दिर चारमुखे शिवलिंगसहितको प्यागोडा शैलीमा बनेको यो मन्दिर परिसरमा भक्तहरूका लागि विश्रामस्थल, पुजारी बस्ने भवन, चारवटा पानी आउने धारा पनि बनेको छ । जोरपाटी, बाहुनधारमा रहेको ढुंगेधारा संरक्षण गरिएको छ । घरघरमै पानी आउने धारा भएकाले अहिले कमै मात्र पानी लिन जान्छन् । तर त्यो ढुंगेधारामा पहिले पहिले पानी लिन जानेको संख्या निकै ठूलो थियो । त्यसैले भावी पुस्तालाई देखाउन पनि एक मात्र ढुंगेधाराको संरक्षण गर्न जरुरी छ, ढुंगेधाराको संरक्षण गरिएको छ । अर्को प्रसिद्ध ठाउँ भनेको जम्मुडाँडा हो । धार्मिक, ऐतिहासिक र सामाजिक हिसाबले पनि जम्मुडाँडाको महत्वपूर्ण स्थान छ । सुनिएअनुसार जम्मुडाँडामा किराती राजपरिवारको लास जलाउने चलन थियो ।

त्यस्तै, संघसंस्था र साहित्यिक क्षेत्रमा पनि जोरपाटी चर्चामै छ । नयाँबस्ती युवा क्लब, लायन्स क्लब अफ जोरपाटी, जोरपाटी युवा क्लब, चामुण्डा वाचनालय, भैरव अर्याल स्मृति भवन आदि संस्थाहरू नमुनायोग्य ढंगले सञ्चालनमा रहेका छन् । सरकारी जग्गामा बनेको नयाँबस्ती युवा क्लबको आप्mनै दुई तले भवन छ । जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक बनेको छ । प्रसिद्ध जम्बुडाँडा पनि यही वडामा पर्छ ।

लायन्स क्लब अफ जोरपाटीको भवनको कम्पाउन्ड आठ रोपनीको छ । लायन्स क्लबले विपन्न वर्गलाई निःशुल्क शिक्षा दिने उद्देश्यले ५ कक्षासम्म विद्यालय सञ्चालन गर्दै आएको छ । तर वडा नम्बर ५ मा कार्यालय भए पनि स्कुल भने वडा नम्बर ८ मा छ । त्यहाँ विपन्न वर्गका श्रमिकका छोराछोरी पढ्न आउँछन् । जोरपाटी युवा क्लब जोरपाटी चोकमै रहेको वडा कार्यलयको भवनमै छ ।

वडा नम्बर ५ मा करिब २५–३० किलोमिटर सडक छ । तीमध्ये अधिकांश सडक पक्की भइसकेको छ, कतै ढुंगा छापिएको छ, कतै ढलान गरिएको छ, कतै कालोपत्रे गरिएको छ । बाँकी १० प्रतिशत सडक पनि यो वर्ष पक्की हुँदैछ । अव्यवस्थित ढंगले बसोवास बसिसकेकाले सडक विस्तारको कम सम्भावना छ, त्यसैले बनिसकेका भवनहरूलाई सुविधा सम्पन्न बनाउँदै नयाँ आवासीय क्षेत्रको विकास गर्न नगरपालिकाले काम गरिरहेको छ अर्थात् ठाउँ पहिचान र सम्भावना क्षेत्रको खोजी गरिरहेको छ ।
(गोकर्णेश्वर नगरपालिका–५ का वडा अध्यक्ष नारायणबहादुर सुवेदीको यो लेख नगरपालिकाद्वार प्रकाशित गोकर्णेश्वरबाट लिइएको हो ।)