वागद्वार अर्थात वागमतीको मुहान र शिवपुरी राष्ट्रिय निकुञ्ज, अनुपम नमुना

वागद्वार अर्थात वागमतीको मुहान र शिवपुरी राष्ट्रिय निकुञ्ज, अनुपम नमुना तरुण खबर ४ आश्विन २०७८, सोमबार १०:२२
वागद्वार अर्थात वागमतीको मुहान र शिवपुरी राष्ट्रिय निकुञ्ज, अनुपम नमुना

काठमाडौं । शिवपुरी निकुञ्जअन्तर्गत हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूका महत्वपूर्ण धार्मिक स्थलहरू रहेका छन् । बाघद्वार, जामाचो, विष्णुद्वार, तारेभीर, नागी गुम्बा आदि प्रमुख तीर्थस्थल हुन् । नव वर्षको प्रारम्भमा उपत्यका तथा वरपरका श्रद्धालुहरू बागमती तथा विष्णुमतीको उद्गमस्थल बागद्वार र विष्णुपादुकामा आई स्नान तथा पूजाआजा गर्दछन् । शिवपुरीको उत्तरी भेगबाट उच्च हिमालको भव्य दृश्य तथा दक्षिण ढलानबाट काठमाडौं उपत्यका देख्न सकिन्छ । धेरै पर्यटकको रोजाइमा परेको हेलम्बु जाने प्रमुख गोरेटो बाटो यस निकुञ्ज क्षेत्रभित्र पर्दथ्यो, तर अहिले त मोटरबाटो बनिसकेको छ । यो सडकबाट काठमाडौंको जोरपाटी, गोकर्णेश्वर, सुन्दरीजल र धाप ड्याम हुँदै सिन्धुपाल्चोकको चिसापानी पुग्न सकिन्छ ।

बागद्वार बागमती नदीको उद्गमस्थल हो । बागद्वारबाट अर्थात् शिवका वाणी प्रकट हुने मुखरूपी द्वारबाट प्रकट भएकाले नै बागमती नदीको नाम रहन गएको हो । सृष्टिको समयमा यहाँ पानीको समस्या थियो । पानीको समस्या सुल्झाउन ब्रह्माले भगवान शिवको आराधना गरे । मृगेन्द्र शिखर (शिवपुरीको डाँडामा प्रकट भएर) शिवले ब्रह्मालाई वरदान दिने बेलामा शिवको थुकबाट ब्रह्म विन्दु (छिटा) निस्कियो । त्यसबाट बागमती नदीको उद्भव भएको भन्ने कुरा हिमवत्खण्ड अध्याय ८६ लगायतमा पाइन्छ । यसैगरी स्वयम्भू पुराणका अनुसार क्रकुच्छन्द तथागत बुद्धले आफ्ना भिक्षुहरूलाई स्नान गराउन पानीको अभाव देखेपछि वाक्य उच्चारण (मन्त्र) मार्फत पर्वतबाट पानी उत्पन्न गराएको उल्लेख छ । वाक्यद्वारा पानी उत्पत्ति भएकाले यसको नाम वाक्यमती भनी प्रख्यात भयो । यही वाक्यमतीलाई पछि बागमती भन्न थालिएको हो । यो बागद्वार सुन्दरीमाई मन्दिरबाट करिब साढे दुई कोशमाथि शिवपुरीको शिर भागमा छ । समुद्री सतहबाट २,६५० मिटर उचाइमा (२०३१ सालमा सूचना विभागद्वारा प्रकाशित मेची–महाकाली) उत्पत्ति भएको बागमती नदीको लम्बाइ समुद्री सतहबाट १,१४० मिटर उचाइमा रहेको कटुवाल दहसम्म मात्र हिसाब गर्दा ४४ किलोमिटर लामो छ । यो बीचको बागमती नदीको कुल जलाधार क्षेत्र लगभग १५७ वर्गकिलोमिटर छ । (नापी विभाग सन् १९९८) ।

शिवपुरी राष्ट्रिय निकुञ्ज
काठमाडौं सहरबाट नजिक रहेको यो निकुञ्ज पूर्वमा चिसापानीदेखि पश्चिममा ककनीसम्म फैलिएको छ । शिवपुरी जलाधार क्षेत्रको रूपमा सन् १९८९ मा स्थापित यसको क्षेत्रफल १४४ वर्गकिमि थियो । सन् २००२ मा यसलाई शिवपुरी राष्ट्रिय निकुञ्ज नाम दिइयो भने वि.सं. २०६५ सालमा नागार्जुन क्षेत्रको १५ वर्गकिलोमिटर क्षेत्रफल समेटेर १५९ वर्ग किलोमिटर क्षेत्रफलको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज बनाइएको छ । निकुञ्जका अनुसार उत्तर दक्षिण चौडाइ सरदर ९ किलोमिटर र पूर्व–पश्चिम लम्बाइ सरदर २० किलोमिटर रहेको छ । शिवपुरी शिखरको उचाइ २,७३२ मिटर छ ।

निकुञ्जबाट प्रतिदिन १० लाख घनलिटर पानी
शिवपुरी जंगल क्षेत्रबाट प्रतिदिन करिब १० लाख घनलिटर पानी उपलब्ध हुन्छ । सुन्दरीजलमा संकलित पानीबाट जलविद्युत् पनि उत्पादन गरिएको छ । यो नेपालको दोस्रो विद्युतगृह हो । शिवपुरीको उत्तरी ढलानमा ठूला नदीनाला नभए पनि स–साना खाले खोल्साखोल्सी थुप्रै छन् । शिवपुरी क्षेत्रबाट बग्ने नदीनालाको पानी वरपरका गाउँलेहरूले सुक्खा मौसममा खेतीपाती गर्न पनि प्रयोग गर्दछन् ।

शिवपुरी राष्ट्रिय निकुञ्जमा चराको किसिम र पुतली
निकुञ्जको वनजंगल पूर्णरूपमा संरक्षण गरिएकाले यहाँ ३१८ किसिमका चरा, १०२ किसिमका पुतली र १२९ किसिमका च्याउ पाइन्छन् । साथै, यो निकुञ्ज दुर्लभ ध्वाँसे चितुवा, भालु, चितुवा, रतुवा, बँदेल, जंगली बिरालो, लंगुरलगायत विभिन्न जंगली जनावरहरूको आश्रयस्थल हो भने १,८०० मिटरभन्दा तलका दक्षिण मोहडा भएका डाँडाहरूमा खोटे सल्ला तथा चिलाउने कटुसको वन पाइन्छ । तल खोलाका किनार र खोंचमा मुख्य रूपमा उत्तिस प्रजाति पाइन्छ । माथिल्लो भेगमा खस्रु, बाँझ र गुराँसका मिश्रित वन रहेका छन् ।

शिवपुरी जंगलमा पाइने रुख बिरुवा
गोकर्णेश्वर नगरपालिकाको शिवपुरी जंगलमा पाइने रुख तथा झार एवं घाँसहरूको आधारमा यहाँको वनस्पतिलाई दुई भागमा वर्गीकरण गरिएको छ । कोणधारी सदावहार र मिस्रित तथा पतझड मनसुनी वन । २,१३४ मिटरभन्दामाथिको जंगलमा शीतप्रधान हावापानीको प्रभावमा परी वर्षा र कहिलेकाहीँ हिउँदमा अलि–अलि हिउँ पर्ने हुँदा सधैं हरियो हुने बाक्लो कोणधारी वनहरू छन् । विशेष गरी घाम कम लाग्ने पहाडी ढालहरूमा बाक्लो जंगल देखिन्छ भने घाम लाग्ने पारिलो ढालहरूमा अलि पातलो जंगल देखिन्छ । कोणधारी सदावहार वनमा गोब्रेसल्लो, उत्तिस, खस्रु, बाँझ, गुराँस, अगेरी, चुत्रो, निगालो, चिलाउने, काफल, कटुस, कागतपाते लोक्ता, कालीकाठ पाइन्छ । शिवपुरी डाँडाको जंगलमा गाढा रातो, फिका गुलाफी र सेतो तीनथरीको गुराँस पाइन्छ । विभिन्न प्रजातिको रुखका हाँगा–बिंगामा जीवन्ती (अर्किड), सुनगाभा, चाँदीगाभालगायत उन्युहरू पनि पाइन्छ । यस क्षेत्रको झारबुटाहरूमा यसबाहेक सुन्दरीजल क्षेत्रको जंगलमा खान हुने च्याउ, निगुरो, बाँसको मुना अर्थात् तामा पाइन्छ । गोकर्णेश्वर नगरपालिकाको अधिकांश भाग २,१३४ मिटरभन्दा होचो भएकाले समशितोष्ण तथा अर्धउष्ण जलवायुको प्रभाव छ । यसप्रकारको हावापानीमा सधैं हरियो हुने र सुख्खायाममा पात झर्ने वनहरू पनि छन् । विदेशी मूलका तार्पित, काँगियो, मसला, लालपाते, कपुर आदि सहरी क्षेत्रमा देखिने यी बिरुवा मेक्सिको, अस्ट्रेलिया आदि स्थानबाट सौखिनहरूले मगाएर लगाएका हुन् भनिन्छ ।