हामीले खानेपानीलाई प्राथमिकता दिएका छौं

हामीले खानेपानीलाई प्राथमिकता दिएका छौं रमेश अर्याल ५ आश्विन २०७८, मंगलवार ०९:००
हामीले खानेपानीलाई प्राथमिकता दिएका छौं

करिब दुई वर्षअघि गोकर्णेश्वर नगरपालिकाको तर्फबाट हामी तीनजनाले अमेरिका जाने अवसर पाएका थियौं । अमेरिकाको टेक्सस्, अर्विनसिटीमा रहँदा हामीले फोहोरमैला प्रशोधन, वारुणयन्त्रको व्यवस्थापन र ट्राफिकिङको व्यवस्थापनलगायत कुरा हेरेका थियौं । त्यहाँको विकास निर्माणको अवस्था हेर्दा हामी धेरै पछाडि रहेछौं, हामीले हेरेको शहरको १ प्रतिशत मात्र काम गरियो भने पनि अहिलेको भन्दा धेरै समृद्धि आउँछ भन्ने महशुस हामीले गरेका थियौं । हामीले खानेपानी, फोहोरमैलाको व्यवस्थापन र सडकको काम गर्न सक्यौं भने जनताको गुनासो कम हुन्छ भन्ने महसुस गरेका छौं । नगरपालिकाको साधनस्रोतले भ्याएसम्म समानुपातिक रूपमा वितरण गर्ने र कामको आधारमा बजेट विनियोजन गर्ने काम गर्दै आएका पनि छौं । यसपटक हामीले खानेपानीलाई प्राथमिकता दिएका छौं । वडा नम्बर ५ र ६ मिलेर घरघरमा खानेपानीको समस्या हल गर्दैछौं । जनप्रतिनिधिको हैसियतले जनताको काम गर्न सकेनौं कि भन्ने महशुस भैरहेको छ ।

काठमाडौं महानगरपालिकासँग जोडिएको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ६ मा बाहुनधारा, सर्वेश्वर मन्दिर, नयाँबस्ती, बागमती किनार, नारायणटार शंकरचोक, अर्यालगाउँ, माकलबारीलगायतका ठाउँहरू यही वडामा पर्छ । अव्यवस्थित सहरीकरण भएकाले साना साना गल्ली छन्, सडक विस्तार गर्ने सम्भावना नै छैन । घर भत्काएर सडक बनाउने हो भने जनतालाई जग्गा र घरको क्षतिपूर्ति दिन राज्यको अवस्था छैन, यो हामी सबैले बुझेकै कुरा हो । गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ६ साविक जोरपाटी गाविसका ३ र ४ वडा मिलाएर बनाइएको हो । नगपालिकाको सबैभन्दा बढी जनसंख्या र मतदाता भएको वडा पनि हो यो ।

वडा नम्बर ६ मा करिब २० किलोमिटर सडक होला । कुल सडकमध्ये ८० प्रतिशत सडक पक्की भइसकेका छन् । बाँकी २० प्रतिशत पनि आउने वर्ष हुन्छ । कतै कतै त तीनफिटे, पाँचफिटे बाटो जनताले घर बनाएका छन्, उतिबेला खाली जग्गा थियो । बाटो आवश्यकता महसुस गरेनन्, अहिले महसुस गरेका छन्, तर सडक विस्तार गर्दा बसेको घर नै जान्छ । त्यसैले हामी जनप्रतिनिधिलाई यसखाले अप्ठ्यारो परेको छ । हिजो–आज वडाले वार्षिक २ करोड ५० लाखसम्म राजश्व उठाउने गरेको छ ।

किमाल चौरमा रहेको सर्वेश्वर महादेवको मन्दिर सर्वाधिक व्यवस्थित मन्दिर हो । दैनिक पूजाआजा हुने यो मन्दिरको १ रोपनी ८ आना जग्गा छ । प्यागोडा शैलीमा बनाइएको यो मन्दिरले पशुपतिनाथ झझल्को दिन्छ । त्यस्तै शिव पाञ्चायन मन्दिर पनि दुई रोपनी क्षेत्रफलभित्रै मन्दिर बनेको छ । गुम्बोज शैलीमा बनाइएको यो मन्दिरमा बनाइएको मूर्ति २०५४ सालमा प्राणप्रतिष्ठा गरिएको हो । छ्योर्तेन टासी तामाङ गुम्बा पनि बौद्धमार्गीहरूको आस्थाको केन्द्र हो । गुम्बाको नाममा १ रोपनी ८ आना जग्गा छ । यसबाहेक पनि कुमारी भैरव, रामजानकी मन्दिर, सकलेश्वर महादेव, शिव पाञ्चायन, ऊँ नवदुर्गा, लक्ष्मीनारायणको मन्दिर, राधाकृष्ण मन्दिर, गणेश मन्दिरलगायत धार्मिक आस्थाका मठ मन्दिर छन् ।

गोकर्णेश्वर नगरपालिकामा रहेका १६ वटा सामुदायिक स्कुलमध्ये नारायणटारमा रहेको चामुण्डा उच्च माध्यमिक विद्यालय गुणस्तरीय मानिन्छ । यो स्कूलमा १५०० विद्यार्थी छन् । यो स्कूलमा भर्ना पाउनै मुस्किल हुने गरेको छ । नारायणटारमै रहेको खगेन्द्र नवजीवन माध्यमिक विद्यालय पनि राम्रो छ, तर यहाँ करिब ४५० जना मात्र विद्यार्थी छन् । ७५ रापनी क्षेत्रफलभित्र बनेको नेपाल अर्थोपेडिक अस्पताल नेपालकै राम्रो अस्पतालमध्येमा पर्छ, यो अस्पताल यही वडाको नेपालटारमा छ । जसले अपाङहरुलाई संरक्षण दिने र उपचार गर्ने काम गरिरहेको छ । नेपाल अपाङ संघ पनि नेपालटार रहेको अर्थोपेडिक अस्पताल क्षेत्रभित्रै रहेको छ, यसका सात शाखा कार्यलय छन् ।

(गोकणेश्वर नगरपालिका–६ का रमेश अर्याल वडा अध्यक्ष हुन् । उनको यो लेख नगरपालिकाद्वारा प्रकाशित गोकर्णेश्वरबाट लिइएको हो ।)