गोकर्णेश्वरको चामुण्डादेवीको मन्दिर र जगडोलको सहिद पार्क

गोकर्णेश्वरको चामुण्डादेवीको मन्दिर र जगडोलको सहिद पार्क तरुण खबर ५ आश्विन २०७८, मंगलवार ०९:०६
गोकर्णेश्वरको चामुण्डादेवीको मन्दिर र जगडोलको सहिद पार्क

काठमाडौं । श्रीस्वस्थानी कथामा सतिदेवीको अंगपतन भएको भनिएको प्रसिद्ध चामुण्डा मन्दिर पाँच रोपनी क्षेत्रफलमा बनेको छ । मन्दिर २०३८ सालमा पुनर्निर्माण भएको हो । सत्ययुगमा दक्ष प्रजापतिकी पुत्री सतिदेवीको मृत शरीर माहादेवले बोकेर हिँड्दा, जहाँ जहाँ अंगपतन भयो, त्यहाँत्यहाँ एउटा एउटा शक्तिपीठ उत्पन्न भएको कथा श्रीस्वस्थानी पढ्न पाइन्छ । त्यही अंगपतन हुने क्रममा नेपालको जोरपाटीमा सतिदेवीको नङ पतन भएकाले त्यस स्थानको नाउ चामुण्डा रहन गएको भनिन्छ । चामुण्डा दवी पनि शक्तिपीठहरूमध्येको एउटा पीठ हो । हेर्दा हातको नङ जस्तो देखिने भगवतीको शिलामा देवी स्वरूप बनाएर नित्यपूजा गर्ने गरिन्छ । वर्षको दुईपटक बडादशै र चैतेदशैमा विशेष भीड लाग्ने उक्त मन्दिरमा टाढाटाढादेखिका भक्तजनहरू आउँछन् । नवरात्रीभरि बिहानैदेखि निकै टाढादेखि भक्तजनहरू दर्शन पूजा गर्न आए पनि बत्तीमुनि अँध्यारो भनेजस्तै राजधानीमै भएका चामुण्डको मन्दिर छायाँमा परेको छ ।

जोरपाटी चोकबाट झन्डै दुई सय मिटरको दुरीमा रहेको यस चामुण्डा मन्दिरसँगै गणेशको मन्दिर पनि छ । यसको विशेषता झनै अच्चमलाग्दो छ । सुनिएअनुसार पहिला कुनै समयमा एकजना घिमिरे ज्योतिष थिए, उनको नाउँ जगनाथ घिमिरे हो । उनै घिमिरे जोतिषले गणेश सिद्धि गरेका थिए भनेर स्व. कालु गुरु अर्थात् चिरञ्जीबी अर्याल गुरुले भन्ने गर्नुहुन्थ्यो । मन्दिरभन्दा सात फिट तल खन्दा पनि त्यसको छेउ भेटाउन सकिएन । जति तल गयो त्यति नै फराकिलो भएपछि त्यसलाइ खन्न छाडियो रे अनि राति सपनामा गणेशले दर्शन दिए रे । पहिला सेतो ढुंगा मात्र थियो पछि त्यही ढुंगामा गणेशको आकृति देखिदै गयो भन्ने भनाइ अहिले पनि सुन्न पाइन्छ ।

स्कन्दपुराणमा उल्लेख भएअनुसार गोकर्णेश्वर मन्दिरमा भगवान ब्रह्माजीले पुजारीका रूपमा आफ्ना नाति पुलस्यलाई तैनाथ गरेका थिए । उनै पुलस्य ऋषिका नाति रावणले शक्ति तथा सामथ्र्य आर्जनका लागि मन्दिरको पश्चिमतिरको मैदानमा ठूलो यज्ञ लगाए ।

२०४१ सालदेखि प्रत्येक वर्ष चैत्र अष्टमीका दिन चामुण्डा, गणेश र भैरवको रथ घुमाउने गरिन्छ । हजारांैको सख्यामा भक्तजनहरूको उपस्थित हुन्छन् । त्यसदिन पञ्चबलि पनि दिइन्छ भने रथलाई जोरपाटीका विभिन्न भागमा परिक्रमा गराई अन्त्यमा मन्दिरमा ल्याएर राखिन्छ र त्यहाँ दिएको पञ्चबलिको प्रसाद सबै भक्तजनलाई बाँडिन्छ ।

जगडोल अर्थात् सहिद पार्क


राजधानी काठमाडौंको चाबहिलबाट करिब पाँच किलोमिटर उत्तरमा विशाल उद्यान पार्क छ । करिब ६५० रोपनी क्षेत्रफलमा फैलिएको यो राष्ट्रिय सहिद तथा शान्तिपार्क स्मारक पार्क सम्भवतः राजधानी काठमाडौं उपत्यकामा अहिलेसम्म निर्मित आधुनिक पार्कमध्येको कान्छो हो । तर यो पार्क रहेको ठाउँको ऐतिहासिकता भने सम्भवतः सबैभन्दा पुरानो हो । स्कन्दपुराणमा उल्लेख भएअनुसार गोकर्णेश्वर मन्दिरमा भगवान ब्रह्माजीले पुजारीका रूपमा आफ्ना नाति पुलस्यलाई तैनाथ गरेका थिए । उनै पुलस्य ऋषिका नाति रावणले शक्ति तथा सामथ्र्य आर्जनका लागि मन्दिरको पश्चिमतिरको मैदानमा ठूलो यज्ञ लगाए । यज्ञको खरानी जम्मा भएर सानो पहाडै बन्यो । जसलाई यज्ञडोल भनिन थालियो । यज्ञडोलको अपभ्र्रंश भएर जगडोल भन्न थालिएको नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल भन्नुहुन्छ । पार्कको भौतिक संरचना निर्माणका क्रममा जग खन्दा एक फिट लम्बाइ, एक फिट चौडाइ र एक फिट उचाइको इँटा फेला परेका कारण पनि जगडोलको ऐतिहासिकता त्रेतायुगसँग जोडिएको अनुमानलाई पुष्टि गरेको छ ।

रावणसँग जोडिएका कारणले हो या अज्ञानताका कारणले हो, जगडोलको महत्व मानिसहरूले बिर्सँदै गएका छन् । कालान्तरमा जंगल मात्रै भयो । तर आसपासमा घना बस्ती बढ्न थालेपछि जंगल मासिएर खुरीखण्ड डाँडो मात्रै बाँकी रह्यो । सरकारले सार्वजनिक जग्गामा सामुदायिक वन लगाउन सकिने अवधारणा ल्याएपछि स्थानीय सुदर्शन सिग्देलको सक्रियतामा वृक्षरोपण गरियो । सामुदायिक वनका रूपमा दर्ता गरियो । तर जगडोल सामुदायिक वनको संरक्षण तथा ऐतिहासिक महत्वको प्रचारका लागि केही न केही गर्नुपर्ने अभियानमा स्थानीयवासी थिए ।

अध्यक्ष सिग्देलले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, त्यस क्षेत्रकी सांसद विद्यादेवी भण्डारी, माधवकुमार नेपालसमक्ष यो कुरा राखे । संसद् पुनस्र्थापनापछि २०६३ जेठ ४ गते बसेको संसद्को पहिलो बैठकमा सहिदहरूको स्मृतिमा पार्क निर्माण गर्ने घोषणा गरिसकेको अवस्था थियो । त्यहीबेला सिग्देल सहिद पार्कका लागि उपयुक्त जग्गा हामी निःशुल्क उपलब्ध गराउँछौं भन्दै नेताहरूकहाँ पुगे । त्यस क्षेत्रकी सांसद विद्यादेवी भण्डारी अध्यक्ष र सिग्देल सदस्य सचिव रहेको समिति बन्यो । त्यही समितिले गृहकार्य अघि बढाउँदै लैजाँदा यतिबेला ठूलो पार्क निर्माण भएको छ । २००७ सालयताका सबै सहिदहरूको अभिलेख राखिने योजना बनेको छ ।

सत्ययुगमा दक्ष प्रजापतिकी पुत्री सतिदेवीको मृत शरीर माहादेवले बोकेर हिँड्दा, जहाँ जहाँ अंगपतन भयो, त्यहाँत्यहाँ एउटा एउटा शक्तिपीठ उत्पन्न भएको कथा श्रीस्वस्थानी पढ्न पाइन्छ । त्यही अंगपतन हुने क्रममा नेपालको जोरपाटीमा सतिदेवीको नङ पतन भएकाले त्यस स्थानको नाउ चामुण्डा रहन गएको हो भनिन्छ ।

समितिका अध्यक्ष सिग्देलका अनुसार अहिलेसम्म पार्क निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको छ । ४६ करोड ७१ लाख रुपैयाँ बजेटको परियोजना हो यो । यसको वित्तीय प्रगति ५८ प्रतिशत छ । यतिबेला पार्कले वार्षिक २५ लाख रुपैयाँ आम्दानी गर्न थालेको छ । हरेक वर्ष उल्लेखनीय रूपमा आम्दानी बढिरहेको छ । ३१ वटा टोलीलाई वनभोज गर्न मिल्ने गरी स्टल निर्माण गरिएको छ । प्रायःजसो स्टलहरू एक महिनाअघिदेखि नै बुक भएका हुन्छन् । स्टल बाहिर पनि वनभोज गर्ने सुविधा छ । वनभोजका लागि प्रतिस्टल १५ सयदेखि तीन हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । फिल्म छायाँकनका लागि पनि दैनिक चार पाँच टोलीहरू पुग्ने गर्छन् । ठूलो पर्दाको फिल्म छायांकनका लागि एक हजार र सानो पर्दाको फिल्म छायांकनका लागि दैनिक पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

दैनिक पाँच सयजना पार्क अवलोकनका लागि जान्छन् । अवलोकन गर्न जानेहरूका लागि प्रतिव्यक्ति १० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । मर्निङ वाकका लागि निःशुल्क गरिएको छ । सरदर दैनिक पाँच सयजना मर्निङ वाकमा जान्छन् । पार्कभित्रै निःशुल्क योगाको व्यवस्था पनि गरिएको छ । साइकिलिङको राष्ट्रिय गेम यसै पार्कमा सम्पन्न भइसकेको छ । अब निकट भविष्यमै सार्कस्तरीय खेलकुद पनि हुँदैछ । पार्कभित्रै नर्सरीको व्यवस्था पनि गरिएको छ । नेपाल स्काउटले विपद् व्यवस्थापन तालिम पनि यही पार्कमा सञ्चालन गर्न थालेको छ । प्रहरी र सेनाले पनि विपद् व्यवस्थापनका कुनै कुनै तालिमहरू यसै पार्कमा गर्ने गर्दछ ।

(समाचारमा प्रयोग भएको तस्बिर गुगलको सहयोगमा लिइएको हो ।)