सुन्दरीजल जेल नै वीपी संग्राहलय, पहिलो राजनीतिक संग्रालय

सुन्दरीजल जेल नै वीपी संग्राहलय, पहिलो राजनीतिक संग्रालय तरुण खबर ५ आश्विन २०७८, मंगलवार ०९:१६
सुन्दरीजल जेल नै वीपी संग्राहलय, पहिलो राजनीतिक संग्रालय

काठमाडौं । दूरदर्शी राजनेता बीपी कोइरालालाई करिब १० वर्ष बन्दी बनाएर राखिएको सुन्दरीजल जेललाई सरकारले बीपी संग्रहालय बनाएको छ । २०६१ भदौ २४ गते संग्रहालयको उद्घाटन नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले गरेका थिए । नेपाली सेनाले प्रयोग गर्दै आएको स्थानलाई बन्दीगृह बनाउन स्थानीय समाजसेवी परशुराम पोखरेलले अथक मिहेनत गरेका थिए । सेनाको अधिनस्थ भवन तथा जग्गाको स्वामित्व संग्रहालयको नाममा ल्याउन त्यस समयमा कठिन काम थियो ।

सेनाबाट जीर्ण अवस्थामा प्राप्त गरेको भौतिक संरचनालाई बीपी संग्रहालय समितिले मर्मतपछि सञ्चालनमा ल्याएको हो । नेपालका लागि राजनीतिक व्यक्तित्वका नाममा बीपी संग्रहालय पहिलो र एक मात्रै हो । बीपी संग्रहालयलाई राजनीतिक पुस्तकालयका रूपमा पनि विस्तार गरिएको छ । संग्रहालयका लागि मोरङ, सुनसरी र बनारसदेखि सामग्रीहरू जुटाइएको छ । बीपीले प्रयोग गरेका धेरै सामग्री संग्रहालयमा छन् । २४ रोपनीमा फैलिएको बीपी संग्रहालयको भौतिक संरचना २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको थियो । पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ संग्रालयका अध्यक्ष पोखरेलले जानकारी दिए ।

पुरातत्व विभागको तर्फबाट तीन तले नयाँ भवन निर्माण सम्पन्न भैसकेको छ, जहाँ कार्यक्रम स्थल र प्रशासन रहने बताइएको छ । नेपाली कांगे्रसले २०३० जेठ २९ मा विराटनगरबाट अपहरण गरी भारत पुऔयाएको जहाज संग्रहालय परिसरमा राखिएको छ । जहाजको पार्टपुर्जा जोडेर अवलोकन गर्नका लागि चार करोड ७९ लाख रुपैयाँ लागेको बताइएको छ । संग्रहालयमा २००७ मा नेपाली कांग्रेसले गरेको क्रान्तिमा प्रयोग भएका तोप र ट्यांक पनि राखिएको छ ।

राजा महेन्द्रले ०७१ पुस १ को कदमपछि कांग्रेस नेताहरूलाई बन्दी बनाएका थिए । सुन्दरीजल बन्दीगृहमा बीपीसँगै नेपाली कांग्रेसका तत्कालीन नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङ र प्रेमराज आङ्दम्बेले जेल जीवन बिताएका थिए । राजाको ‘कू’ पछि बीपीले करिब दस वर्ष सुन्दरीजलको बन्दीगृहमा बिताएका थिए । बीपीले बन्दी जीवनमा साहित्यिक यात्रालाई निरन्तरता दिएका थिए । बन्दी अवस्थामै बीपीले साहित्यिक कृतिहरू, ‘सुम्निमा’ ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘मोदी आइन’, ‘बाबु, आमा र छोरा’ एवं ‘हिटलर र यहुदी’ लेखेका थिए । कथाको संग्रहहरू ‘जेल जर्नल’ ‘श्वेतभैरवी’, ‘फेरि सुन्दरीजल’ र ‘आफ्नो कथा’ लगायतका कृतिहरू पनि जेल बस्दा नै लेखेका थिए ।

र, २२ जेठ २०४७ मा बीपी संग्रालय पूर्वाधार समिति बनाइएकोमा २०५४ सालमा संस्कृति तथा खेलकुद मन्त्रालयले ५ सदस्यीय बीपी संग्रालय अध्ययन कार्यदल गठन गरेको थियो । २०५४ साल माघ २६ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको मन्त्रिपरिषद्ले संग्रालय स्थापना गर्ने निर्णय गरेको थियो ।