रुसको विश्वविद्यालयमा हतियारधारीद्वारा विद्यार्थीमाथि आक्रमण

रुसको विश्वविद्यालयमा हतियारधारीद्वारा विद्यार्थीमाथि आक्रमण तरुण खबर ५ आश्विन २०७८, मंगलवार ०९:१८
रुसको विश्वविद्यालयमा हतियारधारीद्वारा विद्यार्थीमाथि आक्रमण

काठमाडौं । रुसका अनुसन्धानकर्ताहरूले उरलस्थित एउटा विश्वविद्यालयमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको छ । घटनामा कैयौँ घाइते भएको विवरणमा आएको छ । कतिपय शिक्षक र विद्यार्थीले विश्वविद्यालय भवनभित्र लुकेर ज्यान जोगाएका थिए भने केही झ्यालबाट हाम फालेको दृष्य देखिएको थियो । राज्य सञ्चार माध्यमहरूले दिएको रिपोर्टअनुसार सोमबारको आक्रमणको दौडान कालो छद्मभेषी कालो पहिरन र हेलमेट लगाएका व्यक्तिहरू हतियार बोकेर परिसर हुँदै हिंडिरहेको देखाइएको छ ।

रूसमा यस्तै घातक आक्रमण सन् २०२१ को मे महिनामा भएको थियो । उक्त आक्रमणमा रुसको मध्य सहर काजानस्थित एक विद्यालयमा १९ वर्षीय पूर्व विद्यार्थीले गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो । अनुसन्धानकर्ताहरूले उक्त आक्रमणमा सम्लग्न ती व्यक्तिको मानसिक अवस्था विग्रिएको बताएका थिए ।

रुसी प्रहरीले बन्दुकधारीलाई पक्राउ गरिएको जनाएको छ । कतिपय विवरणमा आक्रमणकारीहरुले सामाजिक सञ्जालमा आफूले एक्लै हमला गरेको र आफ्नो कुनै राजनीतिक वा धार्मिक उद्देश्य नरहेको धारणा राखेको उल्लेख गरिएको छ । यो घटना राजधानी मस्कोबाट झन्डै १३ सय किलोमिटर पूर्वमा रहेको पर्म स्टेट विश्वविद्यालयमा भएको हो । सोमवार बिहान क्याम्पसमा प्रवेश गरेर हमलाकारीले आक्रमण गरेको थियो । रुसी टेलिभिजनको फूटेजमा विद्यार्थीहरू झ्यालबाट हाम फालिरहेको देखिन्छ । (सञ्चार एजेन्सिहरुको सहयोगमा)