गोकर्णेश्र देशे र गोकर्णेश्वरको नामाकरण

गोकर्णेश्र देशे र गोकर्णेश्वरको नामाकरण तरुण खबर ६ आश्विन २०७८, बुधबार ०८:४४
गोकर्णेश्र देशे र गोकर्णेश्वरको नामाकरण

काठमाडौं । गणतन्त्र स्थापना हुनुअघि नेपालमा शाहवंशीय राजाहरूले राज्य गर्थे । शाहवंशीय राजाहरूभन्दा अघि मल्ल वंशीय राजाहरूले राज्य गर्थे । मल्लवंशीय राजाहरूभन्दाअघि लिच्छवीवंशीय राजाहरूले राज्य गर्थे । तर लिच्छविकालको विस्तृत इतिहास फेला पर्न नसकेका कारण नेपालको इतिहास अन्योल देखिएको छ । भक्तपुरको चाँगुनारायण मन्दिरमा राजा मानदेवले राखेको शिलालेखका आधारमा लिच्छविकालमा नेपाल निकै समुन्नत भएको विश्वास गरिन्छ । त्यसबेला नेपालको राजधानी काठमाडौं उपत्यकाको कुन ठाउँमा थियो भन्ने प्रमाण अझै एकीन हुनसकेको छैन । भक्तपुरको चाँगुनारायण, काठमाडौंको गोकर्ण र बालुवामध्ये एक ठाउँमा राजधानी थियो भन्ने निष्कर्षमा भने पुरातत्वविद् देखापरेका छन् ।

चाँगुनारायणको अभिलेखमा ‘गोकर्णश्र देशे’ भन्ने कुरा उल्लेख गरिनु र गोकर्णको उच्चसमस्थलीमा देशे नाम गरेको धेरै पुरानो गाउँ हुनु संयोग मात्रै होइन । लिच्छविकालमा नेपालको राजधानी गोकर्णमै थियो भन्ने अनुमानलाई यो अभिलेखले पुष्टि गरेको छ । राजधानी काठमाडौंको रत्नपार्कबाट करिब १० किलोमिटरको दूरीमा देशेगाउँ पर्छ । करिब एक सय ७७ घरधुरी छन् । गोकर्णमा सिकार आरक्ष निर्माण गर्ने क्रममा देशेगाउँको आधा घरधुरीलाई पञ्चायतकालमै स्थानान्तरण गरिएको थियो । लिच्छविकालीन मठमन्दिर, देवालयहरू देशेगाउँमा एक दर्जनभन्दा बढी अहिले पनि छन् । राजा मानदेवसँग जोडिएका केही सम्पदाहरू पनि यस गाउँमा छन् ।

स्थानीय ७७ वर्षीय राम श्रेष्ठका अनुसार राजा मानदेवले गोकर्ण र भक्तपुरको चाँगुनारायण दुवै राज्यमा शासन गर्दथे । मौलिक नेवारी संस्कृतिको गाउँ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा पर्छ, । गाउँको प्रवेशद्वारमै लिच्छविकालीन कलात्मक भीमसेन मन्दिर छ । त्यहाँ रहेको चण्डेश्वर मन्दिरमा बच्चा जन्मेपछि न्वारान गरेजस्तै गाईभैँसी ब्याएपछि १२ दिनभित्रमा पूजा गर्नुपर्ने प्रथा छ । गाउँको बीचमा श्री पकनावती गणेश मन्दिर, नाटेश्वर महादेव र तलेजु भवानीको मन्दिर छ । चिवा बुद्ध, पञ्चमुखी बुद्धको मूर्ति पनि छ ।

यहाँ वर्षेनी वैशाख ४ देखि ८ गतेसम्म धूमधामसँग कान्ति भैरवनाथको जात्रा मनाउने गरिन्छ । प्रख्यात गोकर्णेश्वर मन्दिरको पूजाआजा तथा मन्दिरसँग जोडिएका जत्रा तथा पर्वहरू पनि देशेगाउँले धान्दै आएको छ । धार्मिक महत्व बोकेको गोकर्णेश्वरको मन्दिरमा भदौ कुसेऔँशी र पुसमा पौखगया औँशीमा लाग्ने पितृकार्य मेलाको व्यवस्थापकीय काम पनि देशेगाउँले नै गर्दै आएको छ । पितृपुण्य कार्य गर्न र गोकर्णेश्वर मन्दिरको दर्शन तथा अवलोकन गर्न हजारौँ मानिस गोकर्ण पुग्छन्, सोही नजिकैको उत्तरगयामा पनि उत्तिकै भक्तजन जान्छन् । नजिकै रहेको नवनिर्मित सहिद पार्कले पनि उत्तिकै पर्यटक तान्न थालेको छ । तर लिच्छविकालीन सभ्यताको धरोहर, नेवारी संस्कृति र परम्पराको सम्पदास्थल गोकर्णेश्वर देशेगाउँले पर्यटक भने तान्न सकेको छैन ।

कान्तिभैरव, तलेजु भवानी, नाट्येश्वर महादेव, पकनावती गणेश जस्ता मन्दिर छन । नवरात्रिको तेस्रो दिन सहरबासीहरू गोकर्ण नुहाउन आउँदा नुहाउने ऐतिहासिक पोखरी पनि यहाँ छ । स्थानीयका अनुसार यहाँको तलेजु भवानीलाई दुधे पाडो बलि चढाउने चलन छ । बलि चढाएपछिको रगतलाई प्रसादको रूपमा गाउँभरिका सबैलाई बाँड्ने र त्यसले रोगव्याधि हरण गर्ने स्थानीयको विश्वास छ । काठमाडौं उपत्यका (तत्कालीन नेपाल) मा ईस्वीको चौथोदेखि नवौं शताब्दीसम्म लिच्छवि वंशले शासन गरेको थियो । चाँगुमा प्राप्त ऐतिहासिक प्रमाणको आधारमा वि.सं. ५२१ तिर गोकर्णमा पनि बस्ती बसिसकेको मान्न सकिन्छ ।

नगरपालिकाको घुम्नै पर्ने ठाउँहरू
चामुण्डा मन्दिर, महांकाल मन्दिर, सहिद पार्क, उत्तरबाहिनी, सुन्दरीजल, बीपी संग्रहालय, विद्युतगृह, मेलम्चीको सुन्दरीजलमा बनेको पानी ट्यांकी, मेलम्ची नदीको पानी ल्याउँने सुरुङ, मूलखर्क, सुन्दरीमाई, तारेभीर, बागद्वार, चिसापानी, देशेगाउँ आदि ।

गोकर्णको नामाकरण
पृथक्–पृथक् नाम भएका पाँचवटा गाविसलाई मिलाएर पौराणिक तीर्थस्थल गोकर्णेश्वर मन्दिरका नामबाट गोकर्णेश्वर नगरपालिका नामाकरण गरिएको हो । बागमती प्रश्रवण क्षेत्रका तीर्थस्थलमध्ये गोकर्णेश्वर महादेवको मन्दिर सबैभन्दा प्राचीन रहेको जनविश्वास छ । सबैभन्दा प्राचीन ग्रन्थ वेदमा समेत गोकर्णेश्वर महादेवको उल्लेख रहेकाले यसको पौराणिकता अनुमान गर्न नसकिने प्रा.डा. ऋषिराम पोखरेल बताउनुहुन्छ ।
यो ठाउँ महादेवको बासस्थान भएको विषयमा पौराणिक ग्रन्थमा धेरै सामग्रीहरू छन् । तर यस ठाउँलाई गोकर्ण किन भनियो ? भन्ने विषयमा प्रमाणित सामग्री खासै छैनन् । विगत तीन दशकदेखि यसै मन्दिर परिसरमा तपस्या गरेर बसेका ‘राम बाबा’ भन्नुहुन्छ– ‘शिवपुरीबाट हेर्दा यो ठाउँ गाईको कान जस्तै देखिन्छ, त्यसकारण पनि गोकर्ण भनिएको किंवदन्ती छ । ऋषि गोकर्णले यही ठाउँमा जन्मेर यही ठाउँबाटै पितृ उद्धारको आरम्भ गरेका कारण यो ठाउँको नाम गोकर्ण भएको हो । भागवत पुराणमा गोकर्ण ऋषि जस्तो ठाउँमा जन्मेका थिए भनेर उल्लेख गरिएको छ, त्यो ठाउँ र यो ठाउँ मिल्दोजुल्दो छ ।’

भागवत पुराणमा गोकर्णको कथा
पितृ उद्धारका लागि गरिने सप्ताह भागवत पुराणमा उल्लेख छ । शिवपुरीको काखमा रहेको सुन्दर गाउँमा आत्मदेव नाम गरेका ब्राह्मण र धुन्धुली नाम गरेकी ब्राह्मणी बस्थे । उनीहरूका सन्तान भएनन् । सन्तानका लागि ठूलो आराधना गरेपछि गंगामा तपस्या गरेका एक साधुले आत्मदेवलाई एउटा फल दिँदै भने, ‘यो फल श्रीमतीलाई खुवाउनु, भगवानको अंश भएको पुत्र जन्मने छ ।’ आत्मदेवले उक्त फल श्रीमतीलाई दिए । तर श्रीमतीले गाईलाई खान दिइन् र आफू गर्भवती भएको नाटक गरिन् । १० महिनापछि बहिनीको भर्खर जन्मेको छोरा ल्याएर आफूले छोरा पाएको भन्दै श्रीमान्को आँखा छलिन् । धुन्धुलीको कोखबाट जन्मिएको ठानिँदै उनको नाम धुन्धुकारी राखियो । यसैगरी, उक्त फल खाएको गाईले पनि त्यही बेला बालकको जन्म दियो । गाईको जस्तो कान भएको र गाईबाटै जन्मेकाले उनको नाम गोकर्ण राखियो ।

गोकर्ण निकै ज्ञानी भए, धुन्धुकारी मूर्ख भए । धुन्धुकारीले धेरै अपराध गर्न थाले । अपराध गर्दागर्दै श्रीमतीका रूपमा आफ्नै घरमा जम्मा पारिएका वेश्याद्वारा उनी मारिए । उनको शरीरलाई घरभित्र गाडेर वेश्याहरू लाखापाखा लागे । वर्षौंपछि धेरै ज्ञान आर्जन गरेर ठूला ऋषिका रूपमा गोकर्ण आफ्नो घरमा आए, तर घरमा कोही पनि थिएनन् । रित्तो घरमा राति सुतिरहेका बेला धुन्धुकारीको आत्माले चीत्कार गर्न थाल्यो । आफू यसरी मारिएको र प्रेतका रूपमा दुःख पाइरहेको धुन्धुकारीले बताए ।

यता, गोकर्णले शान्ति पाउन नसकेका आत्माहरूको उद्धारका बारेका भगवान शिवजीकै मुखबाट शुकदेव ऋषिले ज्ञान आर्जन गरेको थाहा पाएका थिए । गोकर्णले शुकदेव ऋषिलाई बोलाएर सप्ताह ज्ञान महायज्ञ लगाई धुन्धुकारीको आत्मालाई उद्धार गरे । त्यसपछि गोकर्णले दिवंगत पितृहरूको उद्धारका लागि उत्तरगयामा बसेर अभियान नै चलाए । बागमती नदी जुन ठाउँमा दक्षिणबाट उत्तरतिर बग्छ, त्यही ठाउँलाई उत्तरगया भनिन्छ । गोकर्णले पितृहरूको उद्धार आरम्भ गरेको ठाउँ भएकाले उत्तरगयालाई गोकर्ण भन्न थालिएको हो । यसैगरी स्वयम्भू पुराणका अनुसार पाञ्चाल देशका राजकुमार गोकर्णको उद्धार भएकाले गोकर्णेश्वर नाम प्रारम्भ भएको हो ।